भोजपुर- भोजपुरको टेम्केमैयुङ गाउँपालिका- ९ ले खर्कका एक सय २५ विपन्न परिवारलाई जस्तापाता वितरण गरिएको छ। गरिबीका कारण छानो फेर्न नसक्दा वर्षौँदेखि चुहिने फुसको छानोमा बस्दै आएका स्थानीयले छानो पाएका हुन्।
यहाँका गरिबीका कारण चुहिने छानोमुनि बस्दै आएका परिवारको पहिचान गरेर छानो फेरिदिएको वडा कार्यालयले जनाएको छ। वडाको पहलमा सरकारको सघन सहरी कार्यालयमार्फत यहाँका ती परिवारको फुसको छानो हटाइएको वडाध्यक्ष नभराज माङपाहाङले जानकारी दिए।
एक परिवारले ७५ हजार रूपैयाँ लगानीमा जस्तापाताको छानो पाएको वडाध्यक्ष माङपाहाङको भनाइ छ। बर्सातका समयमा फुसको चुहिने घरमा बस्दै आएका गरिब तथा विपन्न परिवारलाई राहत मिलेको वडाध्यक्ष माङपाहाङले बताए।
'हाम्रो वडाका एक सय २५ परिवारले जस्तापाताको छानो पाएका छन्', उनले भने, 'घरको छानो फेर्न नसक्दा वषौँबाट कष्टकर जीवन बिताउँदै आएको अवस्था थियो। हामीले आर्थिक अवस्था कमजोर भएका कारण समस्यामा रहेको स्थानीयलाई छानोको लागि सिफारिस गरेको हौँ।'
हालसम्म ९० परिवारले छानो फेरिसकेका छन्। बाँकीको पनि काम धमाधम भइरहेको छ। स्थानीयलाई आगाजनीलगायत विपद्बाट बचाउनको लागि वडालाई फुसको छानोमुक्त बनाउने लक्ष्यका साथ काम भइरहेको उनको भनाइ छ।
गरिबीका कारण वर्षौँबाट खरको चुहिने घरमा बस्दै आएको अवस्थामा जस्तापाताको छानो पाउँदा सहजता भएको स्थानीयवासी भीमकुमारी विश्वकर्माले बताइन्। 'आर्थिक अवस्था कमजोर भएको कारण लामो समयदेखि फुसको चुहिने छानोमा बस्दै आएका थियौँ', उनले भनिन्, 'वडाको पहलमा राज्यको तर्फबाट टिनको छानो फेर्न पाउँदा खुसी लागेको छ। यसले भावी दिनमा दैनिकी कटाउन सहजता भएको छ।'
लेकका ठाउँमा चुँहिने घरमा कष्टकर जीवन बिताउँदै आएको अवस्थामा सरकारले छानो दिएपछि दैनिकीमा परिवर्तन आएको स्थानीयवासी हर्कराज विश्वकर्माले बताए। घरमा जस्तापाताको छानो लगाएकाले बर्सेनि छानो फेर्नुपर्ने अवस्थाको अन्त्य भएको उनको भनाइ छ।
'राज्यले हाम्रो गरिबीलाई देखेको छ', उनले भने, 'लेकको ठाउँमा चुहिने घरमा बस्दा बर्सातको समयमा जनजीवन निकै कष्टकर थियो। अहिले छानो पाएका छौँ। यसले हामीलाई निकै ठूलो राहत मिलेको छ।'
घर चुहिने हुँदा चिसोका कारण दैनिकजसो बालबच्चासँगै वृद्धवृद्धालाई बिरामी हुने गरेको अवस्थामा जस्तापाताको छानो पाउँदा सहजता भएको स्थानीयवासी आशबहादुर राईले बताए।
'चुहिने घरका कारण वर्षातको समयमा बालबच्चा तथा वृद्धवृद्धालाई चिसोबाट जोगाउन नै गाह्रो हुन्थ्यो', उनले भने, 'ढिलै भए पनि राज्यले हाम्रो दुःख देख्यो। म जस्ता विपन्न परिवारले निःशुल्क छानो पाएका छौँ। मलाई खुसी लागेको छ।' रासस