शनिबार, जेठ ३ गते २०८२    
शनिबार, जेठ ३ २०८२
images
images

ढाका बुनेर आत्मनिर्भर बन्दै तनहुँका उद्यमी

images
शनिबार, जेठ ५ २०८१
images
ढाका बुनेर आत्मनिर्भर बन्दै तनहुँका उद्यमी

यहाँ घुम्न आउने आन्तरिक तथा बाह्य पर्यटकहरुले पनि ढाकाको कपडा किन्ने गरेका छन्।

images
images

तनहुँ- आँबुखैरेनी गाउँपालिका-३ की रितु थापामगर  घरधन्दा सकेर ढाका बुन्छिन्। चार वर्ष अगाडि ढाका बुनाइसम्बन्धी तीनमहिने तालिम लिएर उनी व्यवसायमा लागेकी हुन्। 

images
images
images

'तालिम लिएपछि घरमै पाँच महिना कपडा बुनेँ। फेरि दुई महिना दमौली आएर थप तालिम लिएँ', उनले भनिन्, 'त्यसपछि निरन्तर यही पेसामा छु।' फुर्सदको समय सदुपयोग गर्दा कामसँगै दाम कमाउन सकिने उनको भनाइ छ।

images
images

व्यवसाय थालेपछि अरुसँग पैसा माग्नुपर्ने बाध्यता हटेको उनको भनाइ छ। उनले भनिन्, 'पैसा चाहिँदा अरुसँग माग्नुभन्दा आफैले कमाउन थालेपछि धेरै सहज भयो। घरायसी कामसँगै ढाका बुन्न सकिने भएकाले अरुलाई पनि उद्यम गर्न आग्रह गर्छु।'

images
images

ढाका उत्पादनका लागि आवश्यक कच्चापदार्थ काठमाडौंबाट ल्याउने गरेको उनले बताइन्। धागो ल्याएर मागअनुसार ढाका बुन्ने गरेकी उनले अहिले सारीको माग धेरै भएको जानकारी दिइन्। उनका अनुसार ढाकाबाट पछ्यौरा, चोली, कोट, मफलर र कुर्तासुरुवाल बनाउन सकिन्छ।

थापाका अनुसार एउटा सारीका लागि ढाका तयार गर्न तान, धागोलगायत सबै गरी तीन हजार रूपैयाँसम्म खर्च हुने गरेको छ। आठ हजारदेखि १२ हजार रूपैयाँसम्ममा सारी बिक्री हुन्छ। एउटा सारी बनाउन कम्तीमा १२ दिन लाग्ने गर्छ।

आँबुखैरेनी गाउँपालिकाका अध्यक्ष शुक्र चुमानले व्यवसायी बन्न चाहनेलाई गाउँपालिकाले सहयोग गर्ने बताए। हरेक व्यक्ति उद्यमी बन्न सकेमात्रै समृद्धि हासिल हुने भएकाले त्यस्ता व्यक्तिले उद्यम गर्न चाहे गाउँपालिकाको सहयोग गर्ने उनको भनाइ छ।

यता दमौलीमा ढाका उद्योग सञ्चालन गर्दै आएका विष्णु चौधरीले बाबुबाजेको पेसा अपनाएर उद्यमी बनेका छन्। व्यास नगरपालिका-२ मा विसं २०६६ माघमा स्थापना भएको निखिल ढाका कपडा उद्योगमार्फत उनी सफल उद्यमी बनेका हुन्।

ढाकाबाट पहिले टोपी र चोलीमात्र बन्ने गरेपनि अहिले अन्य कपडा बन्न थालेपछि ढाका व्यवसाय फस्टाएको उनको भनाइ छ। ग्राहकको मागसँगै ब्लाउज, टोपी, पछ्यौरा, चौबन्दी, दौरासुरुवाल, पाल्पाली ढाका टोपी, तेह्रथुमे साडीको राम्रो व्यापार हुने गरेको चौधरीले बताए।

उनको उद्योगबाट उत्पादित ढाकाका सामग्री यहाँमात्र सीमित छैनन्। जिल्लाकै ग्रामीण भेग, लमजुङ, गोरखा, तेह्रथुम, नारायणगढ, नवलपरासी, काठमाडौंलगायतका ठाउँबाट माग हुने गरेको छ। 

यहाँ घुम्न आउने आन्तरिक तथा बाह्य पर्यटकहरुले पनि ढाकाको कपडा किन्ने गरेका छन्। ढाका कोसेली लैजाने संस्कारको विकास गराउन सके व्यापार अझै बढ्ने उनले बताए।

जिल्लामा ढाका बुनाइतर्फ आकर्षण बढेसँगै पर्यटन तथा उद्योग कार्यालय तनहुँले दुईमहिने निःशुल्क ‘एड्भान्स’  ढाका बुनाइ तथा डिजाइन तालिम सुरु गरेको छ। युवायुवतीलाई उद्यमसँग जोड्ने उद्देश्यले वार्षिक कार्यक्रमबमोजिम तालिम सञ्चालन गरिएको निमित्त प्रमुख सुवास पौडेलले जानकारी दिए। रासस


प्रकाशित : शनिबार, जेठ ५ २०८११५:३६

प्रतिक्रिया दिनुहोस
कार्यकारी सम्पादक

केदार दाहाल

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर

२८३८/०७८-७९

© 2025 All right reserved to biznessnews.com  | Site By : SobizTrend