शनिबार, जेठ ३ गते २०८२    
शनिबार, जेठ ३ २०८२
images
images

दमौली-चितवन खण्डको बुद्धसिंह मार्गको स्तरोन्नति गरिँदै

images
शनिबार, जेठ ५ २०८१
images
दमौली-चितवन खण्डको बुद्धसिंह मार्गको स्तरोन्नति गरिँदै

उक्त सडक यसै आर्थिक वर्षमा सम्पन्न गर्ने लक्ष्य रहेको छ। संघीय सरकारबाट सडक निर्माणका लागि ३४ करोड २७ लाख ५४ हजार पाँच सय ६१ रूपैयाँ बजेट विनियोजन गरिएको छ।

images
images

तनहुँ- दमौलीबाट चितवनको घुमाउनेसम्म पुग्ने बुद्धसिंह मार्गलाई पृथ्वी राजमार्गको वैकल्पिक मार्गका रुपमा विकास गर्न लागिएको छ। पृथ्वी राजमार्गअन्तर्गत डुम्रे-आँबुखैरेनी हुँदै घुमाउने पुग्नभन्दा बुद्धसिंह मार्गबाट २५ किलोमिटर दुरी कम पर्ने भएकाले यस मार्गमा स्तरोन्नतिका काम भइरहेको छ।

images
images
images

व्यास-१ दमौली बसपार्कदेखि आँबुखैरेनी-५ घुमाउनेघाटसम्मको कूल ३४ किलोमिटर लम्बाइमध्ये यस वर्ष १० किलोमिटर पक्की सडक निर्माण गरिने पूर्वाधार विकास कार्यालयले जनाएको छ। यसै चालु आर्थिक वर्षमा सक्ने गरी २०७९ साल भदौ २७ गते निर्माण कम्पनी सफल मैनाचुली जेभीले काम सुरु गरेको हो।

images
images

दमौली बसपार्कदेखि १० किलोमिटर सुँडेको पुलसम्म सात मिटर चौडाको पक्की सडक निर्माण गरिने पूर्वाधार विकास कार्यालयका डिभिजनल कन्सल्टेन्ट इन्जिनियर अमरेन्द्र यादवले जानकारी दिए।

images
images

उक्त सडक यसै आर्थिक वर्षमा सम्पन्न गर्ने लक्ष्य रहेको छ। संघीय सरकारबाट सडक निर्माणका लागि ३४ करोड २७ लाख ५४ हजार पाँच सय ६१ रूपैयाँ बजेट विनियोजन गरिएको छ।

उक्त सडक खण्डमा हालसम्म ३० प्रतिशत कार्य प्रगति भइसकेको छ। अहिले पक्की नाला निर्माण, स्ट्रक्चर र सबग्रेडिङलगायत कार्य भइरहेको इन्जिनियर यादवले बताए। घुमाउनेमा मोटरेबल पुल नहुँदा यातायातका साधन तनहुँकै सिमानामा पुगेर फर्कन बाध्य छन्। मोटरसाइकल भने झोलुंगे पुलबाट डोर्‍याएर मुग्लिङ-नारायणगढ सडकखण्डसम्म लैजान सकिन्छ। 

पोखरा-नारायणगढ सडकको विकल्प मार्गका रुपमा यस बुद्धसिंह मार्गको स्तरोन्नति कार्य गरिएको हो। घुमाउनेमा पुल निर्माण सम्पन्न भएपछि यस क्षेत्रका नागरिकलाई चितवन र तराईका विभिन्न जिल्ला जान सहज तथा समय बचत हुने बुद्धसिंह मार्गका पूर्वअध्यक्ष विश्व बास्तोलाले बताए।

दुईपाङ्ग्रे सवारी साधन भने झोलुंगे पुल तरेर मुग्लिङ-नारायणगढ सडक भएर जाने गरेका छन्। बस तथा अन्य सवारी साधन भने पुलको अभावमा उतैबाट दमौलीतर्फ फर्किन बाध्य छन्। तनहुँ-चितवन जोड्ने गरी घुमाउनेमा गाडी गुड्ने पुल निर्माण भइरहेको छ। पुल बनेपछि पृथ्वी राजमार्गको वैकल्पिक मार्गका रुपमा रहेको यस मार्ग हुँदै छोटो दुरीमा यात्रा गर्न सकिन्छ।

पृथ्वी राजमार्गअन्तर्गत मुग्लिन-पोखरा सडक विस्तार कार्य चलिरहेको छ। राजमार्ग धुलाम्य भएपछि मोटरसाइकल यात्रु भने बुद्धसिंह मार्ग हुँदै आवतजावत गर्न थालेका छन्। रासस


प्रकाशित : शनिबार, जेठ ५ २०८११३:१७

प्रतिक्रिया दिनुहोस
कार्यकारी सम्पादक

केदार दाहाल

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर

२८३८/०७८-७९

© 2025 All right reserved to biznessnews.com  | Site By : SobizTrend