बुधबार, असार २५ गते २०८२    
बुधबार, असार २५ २०८२
images
images

तीन करोड ५५ लाख लागतको पुलको दुई किनारामा पिलरमात्र उठाएर ठेकेदार सम्पर्कविहीन

images
बिहीबार , जेठ ३ २०८१
images
images
तीन करोड ५५ लाख लागतको पुलको दुई किनारामा पिलरमात्र उठाएर ठेकेदार सम्पर्कविहीन

आधाभन्दा बढी रकम ठेकेदारलाई भुक्तान भइसकेको छ तर पुल निर्माणको काम पूरा भएको छैन। बर्खामा यहाँ आवतजावत नै ठप्प हुन्छ।

images
images

मनाङ- मनाङ नासोँ गाउँपालिका-५, ६ र ७ जोड्ने दूधखोलामाथि निर्माणाधीन पुल ठेकेदारको लापरबाहीका कारण अलपत्र बनेको छ। नौ वर्षदेखि निर्माण भइरहेको छ उक्त पूर्ण हुने सम्भावना न्यून छ।

images
images

विकट क्षेत्रको विकास हुनै मुस्किल हुन्छ। यी क्षेत्रमा मौसमको पनि चुनौती पनि उस्तै रहन्छ। विकट जिल्ला मनाङको विकास अहिले यस्तै अवस्थामा छ। पटक-पटक म्याद थपिँदा पनि विकासले पूर्णता पाउन सकेको छैन।

images
images

विसं २०७३ असारमा पुल निर्माण सम्पन्न गर्न तत्कालीन जिल्ला विकास समितिले निर्माण कम्पनीलाई ठेक्कामा दिएको थियो। विसं २०७४ मा सम्पन्न गर्नेगरी द क्याराभान कम्पनीलाई ठेक्का दिइएकामा नौ वर्ष हुनै लाग्दासमेत कामले गति लिन सकेको छैन। 

images
images
images

तीन करोड ५५ लाख रूपैयाँको लागतमा निर्माण हुन लागेको दूधखोलामाथिको पुलको दुई किनारामा पिलर मात्र उठाएर ठेकेदार सम्पर्कविहीन भएको छ। ठेक्काको आधाभन्दा बढी रकम ठेकेदारलाई भुक्तान भइसकेको पूर्वाधार विकास कार्यालयले जनाएको छ। पुल धारापानीबाट तिल्चे हुँदै तिब्बत जोड्ने सडकमा पर्दछ।

उक्त पुल नबन्दा मनास्लु पदमार्गमा आउने पर्यटकलाई हिँड्न समस्या भइरहेको छ। साथै स्थानीयले बिरामी पर्दासमेत समस्या भोग्नुपरेको बताउँछन्। स्थानीयले ढुवानी तिरेर सामग्री ओसारपोसार गर्न बाध्य छन्। ठेकेदार कम्पनीले ठेक्का मात्र ओगटेर काम नगरेपछि स्थानीय रुष्ट छन्।

नासोँ गाउँपालिकाका अध्यक्ष धनबहादुर गुरुङले पटकपटक ठेकेदारसँग काम गर्ने सहमति गरे पनि कार्यान्वयन नभएको बताए। 'दैनिक रूपमा ठेकेदारलाई फोन गर्छु, फोन उठ्दैन, मन्त्रालय र सडक विभागमा पनि जानकारी गराएका छौँ', उनले भने, 'कसैले वास्ता गरेनन्। दुःख भोगिरहेका छौँ।'

अघिल्लो वर्ष अध्यक्ष गुरुङकै सक्रियतामा निर्माण कम्पनीका प्रमुख चन्द्र थकालीसँग मन्त्रालयका प्रतिनिधिसमेतको उपस्थितिमा काम गर्ने लिखित सहमति भएको थियो। 'अघिल्लो असारसम्म काम गर्छु भनेर प्रतिबद्धता जनाएका थिए, सहमति गरेपछि ठेकेदार सम्पर्कविहीन छन्', उनले भने, 'कि कामले तीव्रता पाउनुपर्यो कि त ठेक्का नै तोड्ने प्रक्रियामा अगाडि बढ्नुपर्यो।'

चालु आर्थिक वर्षभित्र काम नभए कानूनी प्रक्रियाबाट अघि बढ्ने अध्यक्ष गुरुङले बताए। 'कारबाही गर्नुपर्ने कम्पनीलाई पटक-पटक म्याद थप्दै नयाँ ठेक्का दिइएको छ। नदीमा पुल नबनेपछि स्थानीयले काठेपुल बनाएर मोटर वारपार र सामग्री ढुवानी गर्छन्', उनले भने।

प्रमुख जिल्ला अधिकारी सुवासकुमार लामिछानेले काम पूरा गर्न पटक-पटक आग्रह गरिएको बताए। उनले काम गर्छु भनेर नगरेपछि कारबाहीका लागि सम्बन्धित कार्यालयलाई पत्र पठाइसकेको जानकारी दिए।

'पटक-पटक सम्पर्कपछि गरिएको प्रतिबद्धताअनुसार काम नगर्ने ठेकेदार कम्पनीलाई कारबाही प्रक्रिया अगाडि बढाउन सम्बन्धित निकायलाई पत्राचार गरिसकेका छौँ', प्रजिअ लामिछानेले भने, 'कालोसूचीमा राखेर अर्को ठेक्का सम्झौताको प्रक्रियामा जान आग्रह गरिसकेका छौँ।'

पुल नबन्दा भएको सकस स्थानीयले भोग्न नपरोस् यहीअनुसार काम अगाडि बढ्नुपर्नेमा उनको जोड छ।

सडक सञ्जाल ढिलो पुगेको मनाङका अधिकांश खोलामा अहिले पनि काठकै पुलमार्फत सवारीसाधान तथा आमनागरिक आउजाउ गर्छन्। एउटै पुल बनाउन बर्सेनि पाँच लाख रूपैयाँभन्दा बढी खर्च हुन्छ। काठको पुलबाट यात्रा गर्दा जोखिम उस्तै हुने गरेको छ।

वर्षा लागेपछि निकाल्ने र हिउँद लागेपछि राख्न बाध्य छन् स्थानीय। यसरी कति वर्षसम्म चल्न सक्ला?

डुम्रे-बेसीँसहर-चामे सडकखण्डमा २१ वटा पक्की पुल निर्माणका लागि प्रस्ताव गरिएको छ। केही खोलामा पुल निर्माणाधीन छन् भने केही काठकै भरमा छन्। पर्यटक तथा स्थानीय दुधखोला तरेर तिल्चे, गोवा, भीमथाङ हुँदै गोरखा र उत्तरी छिमेकी देश चीनसम्म यात्रा गर्छन्। वर्षा लागेपछि यस क्षेत्रमा आवतजावत नै ठप्प हुन्छ।

सवारीसाधन आवतजावत नभए पनि आमनागरिक र पर्यटकलाई सहज भएका झोलुंगे पुल भत्किएका छन्।

विसं २०७८ मा बाढीले ठाउँ-ठाउँमा बनेका झोलुंगे पुल बगाएपछि अझ यस नदी, खोलानालाबाट आवतजावतमा समस्या भएको छ। सदरमुकामसँगको सम्पर्कविच्छेदकै अवस्थामा रहन स्थानीय बाध्य छन्। गण्डकीको भौतिक पूर्वाधार विकास मन्त्रालयले पुल निर्माणका लागि ठेकेदारलाई ताकेता गरिरहेको जनाउँदै आए पनि कामले भने गति लिन सकेको छैन। रासस


प्रकाशित : बिहीबार , जेठ ३ २०८११६:२०

प्रतिक्रिया दिनुहोस
कार्यकारी सम्पादक

केदार दाहाल

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर

२८३८/०७८-७९

© 2025 All right reserved to biznessnews.com  | Site By : SobizTrend