दैलेख- दैलेखको पेट्रोलियम पदार्थ अन्वेषणको लागि अहिले ड्रिलिङको काम भइरहेको छ।
जमिनमुनि ४ किलोमिटर ड्रिलिङ गरेर यहाँ कति मात्रामा पेट्रोलियम पदार्थ रहेको भन्ने अध्ययन गर्ने काम हुनेछ। अहिलेसम्म ५३ मिटर ड्रिलिङको काम सम्पन्न भइसकेको छ। करिब ६ महिनामा यहाँ कति मात्रामा पेट्रोलियम पदार्थ रहेको छ पत्ता लाग्ने जियोलोजिकल सर्भे कम्पनीले जनाएको छ।
दैलेखको भैरबी गाउँपालिका-१ मा रहेको जलजलेमा ४५ रोपनी जग्गा अधिग्रहण गरेर ड्रिलिङको काम भइरहेको छ। यहाँ चिनियाँ र नेपाली नागरिकहरुले काम गरिरहका छन्। जसमा ३४ जना स्थानीयहरुले काम गरिरहेका छन्।
यो क्षेत्रको २० हजार २० वर्गमिटरमा गरिएको सर्भेको आधारमा ड्रिलिङको काम सुरु गरिएको हो।
दैलेखको पेट्रोलियम पदार्थ अन्वेषणको लागि २०७५ चैतमा नेपाल र चिनबीच प्रधामन्त्रीस्तरीय द्वीपक्षीय समझदारी भएको थियो। २०७६ फागुनमा विभाग र चिनियाँ जियोलोजिकल सर्भे कम्पनीबीच अन्वेषण र उत्खनन् गर्न २ अर्ब ४० करोड रुपैयाँको आर्थिक तथा प्राविधिक सम्झौता भएको थियो।
गएको बैशाख २३ गते उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री दामोदर भण्डारी र चाइना जियोलोजिकल सर्भे प्रोजेक्ट इञ्चार्ज डा. याङ पिङले उत्खननस्थललमा नेपाल र चीनको राष्ट्रिय झण्डोत्तलन गरी ड्रिलिङ कार्य शुभारम्भ गरेका थिए।
पाँच वर्षअघि करिब ६ महिना अवधिमा दैलेखका ४ स्थानमा विभिन्न चरणमा गरिएका जियोलोजिकल सर्भेबाट पेट्रोलियम पदार्थ बढी भण्डारण पाइएको र उत्खननमा सहज हुने निष्कर्षसहित दैलेखको भैरबी गाउँपालिका-१ जलजलेमा ड्रिलिङ तय गरिएको हो।
यहाँ २४ सै घण्टा काम गरेर चार महिनाभित्र काम सम्पन्न गरी पेट्रोलियम पदार्थ र ग्यास दुवैको अवस्थाबारे अध्ययन गरिने आयोजना प्रमुख दिनेश नापितले बताए।
यदि पेट्रोलियम भेटियो भने यसको परिमाण कति छ र यसको गुणस्तर, भोलि गएर उत्पादन गर्न सकिने नसकिने अवस्थाबारे अध्ययन हुने उनले बताए। रासस
भिडियोमा हेर्नुहोस् -