काठमाडौं- उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री दामोदर भण्डारी र भारतको नयाँ दिल्लीस्थित नेपालका लागि रोमानियाका गैरआवासीय राजदूत ड्यानियला मरियाना सेजोनोभ तानेबीच आज शिष्टाचार भेटवार्ता भएको छ।
मन्त्रालयमा भएको भेटवार्तामा सरकारका तर्फबाट मन्त्री भण्डारीले नेपालको सामाजिक तथा आर्थिक विकासमा निरन्तरको सहयोगका लागि रोमानिया सरकारप्रति आभार व्यक्त गरे।
उनले भने, 'रोमानिया र नेपालबीच सन् १९६८ देखि कूटनीतिक सम्बन्ध रहेको छ, नेपाल सरकारले नेपाल र रोमानियाबीच विद्यमान यी सम्बन्धलाई मित्रता, सहयोग र जनताको सम्पर्कको बलियो बन्धन बनाउँछ।'
मन्त्री भण्डारीले नेपालले युरोपेली संघ र अन्य मञ्चहरूमार्फत रोमानियाली सरकारबाट प्राप्त महत्वपूर्ण सहयोगलाई उच्च रूपमा स्वीकार गर्ने राजदूत तानेसित बताए। भण्डारीले भने, 'नेपालले रोमानियालगायत हाम्रा द्विपक्षीय र बहुपक्षीय विकास साझेदारहरूको समर्थन र सद्भावनामा भरोसा गर्न जारी राखेको छ।'
उनले युरोपेली संघ र रोमानिया जस्ता विश्वसनीय विकास साझेदारहरूबाट ठूलो मात्रामा नेपालले स्रोत, प्रविधि समर्थन र साझेदारी चाहेको बताए। मन्त्री भण्डारीले भने, 'रोमानिया प्रमुख व्यापार साझेदार बनेको छ, नेपालले मुख्यतया ‘कोटेड फ्ल्याट रोल्ड’ फलाम, विभिन्न कपडा र मुख्यतः प्याकेज गरिएका औषधि, कम्प्युटर र अन्य अत्यावश्यक वस्तु आयात गर्छ, हामी पारस्परिक आर्थिक लाभका लागि हाम्रा मार्ग फराकिलो बनाउने लक्ष्य राख्दै हाम्रो व्यापार सम्बन्धलाई थप अन्वेषण र विस्तार गर्न इच्छुक छौँ।'
नेपाल-रोमानिया सम्बन्ध आगामी दिनमा थप सुदृढ हुँदै जानेमा विश्वास व्यक्त गर्दै उनले दिगो विकासका लक्ष्यहरु सन् २०३० सम्ममा प्राप्त गर्न नेपाल प्रयासरत रहेको बताए। साथै कोभिड-१९ पछिको आर्थिक पुनरुत्थान गर्न नेपालले व्यापार र लगानीलाई उच्च प्राथमिकता दिएको उनले जानकारी गराए।
हालै सम्पन्न लगानी सम्मेलनले लगानीका क्षेत्र पहिचान गरेको र लगानीमैत्री नीतिगत तथा कानुनी व्यवस्था गरेको मन्त्री भण्डारीले राजदूत तानेलाई जानकारी गराए। उनले भने, 'म महामहिममार्फत रोमानियाका लगानीकर्तालाई नेपालमा लगानी गर्न आह्वान गर्दछु, व्यवसायी-व्यवसायी बीचको आर्थिक सम्बन्धको सुदृढीकरण गरी द्विपक्षीय र निजी क्षेत्रको अगुवाइमा आर्थिक क्षेत्रको समृद्धि हासिल गर्न सरकार प्रयत्नरत छ, नेपालको व्यापार पूर्वाधार र अन्य प्राथमिकताका विकास क्षेत्रमा थप युरोपेली लगानी आउनेमा म आशावादी छु।'
मन्त्री भण्डारीले नेपालबाट रोमानयामा निर्यात हुने वस्तुको पहिचान र विकास गर्न द्विपक्षीय व्यापारको पर्याप्त सम्भावना रहेको जानकारी गराउँदै यसका लागि आगामी दिनमा थप सहकार्य गर्नुपर्ने देखिएको बताए।
सो क्रममा राजदूत तानेले मन्त्री भण्डारीलाई रोमानिया भ्रमणका लागि आग्रह गरे। उनले रोमानियाले नेपालमा कृषि, उर्जा, पर्यटन लगायतका क्षेत्रमा लगानी गर्न चाहेको बताए।
राजदूत तानेले मन्त्री भण्डारी रोमानियामा हस्तकलाका सामग्रीको बजार राम्रो रहेको जानकारी गराए। उनले नेपालबाट रामानियामा हस्तकलाका सामग्री निर्यातको वातावरण बनाउन मन्त्री भण्डारीलाई आग्रह गरे। रासस