बुधबार, वैशाख ३१ गते २०८२    
बुधबार, वैशाख ३१ २०८२
images
images

जग्गा प्राप्तिमा ढिलाइ हुँदा अघि बढ्न सकेन दोधारा चाँदनी सुक्खा बन्दरगाह निर्माण

images
सोमबार, वैशाख १० २०८१
images
जग्गा प्राप्तिमा ढिलाइ हुँदा अघि बढ्न सकेन दोधारा चाँदनी सुक्खा बन्दरगाह निर्माण

शुक्लाफाँटा राष्ट्रिय निकुञ्ज कार्यालयले सुक्खा बन्दरगाह निर्माणका लागि जग्गा उपलब्ध गराउने विषयमा फाइल अघि बढाए पनि केन्द्रबाट उक्त विषयले किनारा पाउन ढिलाइ भइरहेको जनाइएको छ।

images
images

महेन्द्रनगर- कञ्चनपुरको दोधारा चादँनीमा प्रस्तावित सुक्खा बन्दरगाहका लागि जग्गा प्राप्तिमा भइरहेको ढिलाइका कारण आयोजना अघि बढ्न सकेको छैन।

images
images
images

दोधारा चादँनी नगरपालिकाको मायापुरी र गौरीशंकर मध्यवर्ती वन क्षेत्रमा सुक्खा बन्दरगाह निर्माणका लागि प्रस्ताव भइ विस्तृत परियोजना प्रतिवेदनसमेत तयार भइसकेको छ। जसमा जग्गा प्राप्तिका लागि मन्त्रिपरिषद्‌बाट निर्णय गराउनुपर्ने हुन्छ।

images
images

यहाँको शुक्लाफाँटा राष्ट्रिय निकुञ्ज कार्यालयले सुक्खा बन्दरगाह निर्माणका लागि जग्गा उपलब्ध गराउने विषयमा फाइल अघि बढाए पनि केन्द्रबाट उक्त विषयले किनारा पाउन ढिलाइ भइरहेको जनाइएको छ।

images
images

नेपाल इन्टरमोडल यातायात विकास समितिका कार्यकारी निर्देशक आशीष गजुरेलले निकुञ्जले वन विभागमा जग्गा प्राप्तिको फाइल पठाइसकेको बताए। 'फाइल विभागबाट मन्त्रालय जानुपर्ने त्यहाँ अलि समय लागिरहेको छ', कार्यकारी निर्देशक गजुरेलले भने, 'वन मन्त्रालयबाट मन्त्रिपरिषद्‌मा पेस भएर काम भएपछि भारतलाई हामी तयार भयौँ भनेर भन्छौँ।'

भारतले निर्माण गर्ने सुक्खा बन्दरगाह अघि बढाउन भारतीय पक्षबाट चासोका साथ सक्रियता देखाएको उनको भनाइ छ। वातावरणीय प्रभाव मूल्यांकन प्रतिवेदनसमेत भइसकेको बताउँदै निर्देशक गजुरेलले जग्गा प्राप्तिको विषय चाँडो अघि बढाउनुपर्नेमा जोड दिए। 'भारत निकै चासो दिएर लागेको छ', उनले भने, 'हामीलाई पनि भारतीय पक्षले चाँडो प्रक्रिया सकेर ठेक्का लगाउँछौँ भनिरहेका छन्।'

गत जेठमा भारत भ्रमणका क्रममा सुक्खा बन्दरगाह निर्माणले उच्च प्राथमिकता दिँदै भारतले आगामी तीन वर्षमा बनाइदिने सहमतिपत्रमा हस्ताक्षर गरेको थियो। दोधारा चाँदनी नगरपालिकाको गौरीशंकर र मायापुरी सामुदायिक वन क्षेत्रको ६३ बिघा क्षेत्रफल प्राप्तिका लागि प्रक्रिया अघि बढाइएको छ।

'जग्गा प्राप्ति र सो क्षेत्रमा रहेका दुई हजार रुख कटानका लागि मन्त्रिपरिषद्‌बाट निर्णय गराउनुपर्ने हो', उनले भने, 'अहिले पनि विज्ञसहितको टोलीले प्रस्तावित स्थलको स्थलगत अनुगमन गरेको छ।'

करिब ६ अर्ब रूपैयाँ लागतमा चाँदनी दोधारामा एकीकृत भन्सार जाँच चौकी (आईसीपी) निर्माण हुनेछ। सोही सुक्खा बन्दरगाहको करिब एक किलोमिटर वर महाकाली नदीमा चार लेनको पक्की पुल र छ लेनको पहुँच मार्गसमेत निर्माण भइसकेको छ।

पहिलो चरणमा सडक पहुँच र दोस्रो चरणमा रेलवेको पहुँचका लागि पूर्वाधार निर्माण गरिने योजना छ।

शुक्लाफाँटा राष्ट्रिय निकुञ्जका प्रमुख संरक्षण अधिकृत प्रमोद भट्टराईले सुक्खा बन्दरगाह निर्माणका लागि जग्गा उपलब्ध गराउने विषयमा सबै प्रक्रिया पूरा गरेर फाइल विभागमा पेस गरिसकेको बताए। 'यहाँबाट हामीले एक महिनाअघि नै फाइल पेस गरिसकेका हौँ', उनले भने। रासस


प्रकाशित : सोमबार, वैशाख १० २०८११५:०१

प्रतिक्रिया दिनुहोस
कार्यकारी सम्पादक

केदार दाहाल

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर

२८३८/०७८-७९

© 2025 All right reserved to biznessnews.com  | Site By : SobizTrend