शनिबार, साउन १२ गते २०८१    
images
images
images

२० करोड लागतको भकुण्डे-माम्ती सडक निर्माण सुस्त, समयावधि चार महिनामात्र बाँकी रहँदा २२ प्रतिशतमात्रै प्रगति

images
शनिबार, चैत २४ २०८०
images
images
२० करोड लागतको भकुण्डे-माम्ती सडक निर्माण सुस्त, समयावधि चार महिनामात्र बाँकी रहँदा २२ प्रतिशतमात्रै प्रगति

सडक विस्तार तथा स्तरोन्नतिको काममा ढिलासुस्ती भएपछि पानी पर्दा हिलो र घाम लाग्दा धुलोका कारण सास्ती खेप्नु परेको भन्दै मेथिनकोटका स्थानीयले आक्रोश पोखेका छन्।

images

धुलिखेल- काभ्रेपलाञ्चोकको भकुण्डेबेँसी-मेच्छे-मुक्पाटार-तित्रेटार-माम्त सडक निर्माणमा ढिलासुस्ती हुँदा आवागमनमा समस्या हुँदै आएको छ।

images
images

सडक विस्तार तथा स्तरोन्नतिको काममा ढिलासुस्ती भएपछि पानी पर्दा हिलो र घाम लाग्दा धुलोका कारण सास्ती खेप्नु परेको भन्दै मेथिनकोटका स्थानीयले आक्रोश पोखेका छन्।

images

काभ्रेपलाञ्चोकको नमोबुद्ध नगरपालिक-४ मेथिनकोटका स्थानीय माधव कँडेलले सडक विस्तारसँगै स्तरोन्नति लागि खनिएकामा निर्माण व्यवसायीले कामलाई निरन्तरता नदिँदा वरिपरिका बस्ती र सडक प्रयोगकर्तालाई समस्या भइरहेको बताए। सडक ठेक्का सम्झौता भइ काम थालेर व्यवस्थित बनाउनेतर्फ ध्यान नदिँदा यहाँका नागरिकले सास्ती बेहोर्नुपरेको उनको भनाइ छ।

सोही ठाउँका प्रेमप्रसाद चिमोरियाले सडक विस्तारका लागि भनेर भत्काएपछि अहिले एम्बुलेन्स समेत सञ्चालन गर्न सक्ने अवस्था नभएको भन्दै कोही बिरामी पर्दा बोकेर लैजानुपर्ने अवस्था आएको बताए।

images

'खनेपछि सोहोरेर सफा गर्दै गाडी आवतजावत गर्ने ठाउँ बनाउनु पर्ने हो। त्यसै छोडिएको छ, कामलाई निरन्तरता दिएको भए राम्रो हुन्थ्यो', उनले भने, 'त्यसो गर्नुको सट्टा खनेर बिगारेपछि महिनौँसम्म सम्याउने काम समेत निर्माण व्यवसायीले नगर्दा आवागमनमा सास्ती भइरहेको छ।'

स्थानीय कमलनाथ चिमोरियाले बसाइ लेकमा र खेतीपाती बेँसीमा भएकाले दैनिक आउजाउ गर्न नै कठिनाइ भइरहेको बताए। भइरहेको सडकलाई खनेर बिगारेपछि समयमा काम गर्नुपर्ने भन्दै त्यसो नगर्दा आवातजावतमा कठिनाइ झेल्नुका साथै सडक आसपासका घरबस्तीमा धुलोले समस्या पुर्‍याइरहेको उनको भनाइ छ। 'भएको सडक खनेर बिगार्‍यो तर बनाउनेतर्फ ध्यान नै दिएनन्', चिमोरियाले भने।

स्थानीय बासिन्दा राजन पौडेलले १९ महिनाअगाडि निर्माण सुरु भए पनि भत्काएर लथालिंग पारेपछि आफूहरुले समस्या भोग्दै आएको बताए। आगामी बर्खाभरिमा बाटो सम्पन्न नगर्ने हो भने अझै सास्ती हुने भन्दै छिटो काम सम्पन्न गर्नका लागि सम्बन्धित निकायहरुले दबाब दिन उनले आग्रह गरे।

सडक डिभिजन भक्तपुरका इञ्जिनियर विन्दु अधिकारीले बिपी राजमार्गअन्तर्गत भकुण्डेबाट नमोबुद्ध-५ च्यानडाँडासम्म सात किलोमिटर र तेमाल गाउँपालिका-५ को याङवेलबाट चापाखोरीसम्मको छ किमी सडक विस्तार तथा स्तरोन्नतिका लागि विसं २०७९ साउन १६ गते केएस देवी रमन/तेज जेभीले २० करोड ८९ हजार रूपैयाँमा ठेक्का सम्झौता भएको जानकारी दिए। विसं २०८१ साउन १५ गतेसम्ममा सम्पन्न गर्ने गरी काम भइरहेको उनको भनाइ छ।

देवी रमण निर्माण सेवाले सम्झौता गरेर काम नगर्दा समस्या भएको भन्दै हाल अर्काे निर्माण कम्पनीले कामको जिम्मा लिएपछि केही प्रगति भएको इञ्जिनियर अधिकारीले बताए। उनका अनुसार सम्पन्न गर्नुपर्ने समय सकिन करिब चार महिनामात्रै बाँकी रहँदा जम्मा २२ प्रतिशत मात्रै प्रगति भएको छ। तोकिएको समयसीमाभित्रै काम सम्पन्न गर्नका लागि ताकेता गरिरहेको भन्दै कार्यप्रगतिबारे निरन्तर अनुगमन गरिरहेको उनले बताए।

निर्माण व्यवसायी सचिन बजगाईँले यसअघि सम्झौता गर्ने कम्पनीले काम छोडेपछि आफूले तीन महिनाअघि कामको जिम्मा लिएर निरन्तरता दिएको बताए। पहिला काममा ढिलाइ भएको स्वीकार गर्दै अब कामले निरन्तरता पाउने उनको भनाइ छ। जनशक्ति थप गरेर कामलाई तिव्रता दिने उनले बताए।

'यसअघि १९ महिनामा जम्मा दुई प्रतिशत मात्रै काम भएकामा अहिले २२ प्रतिशत प्रगति भएको छ', बजगाईँले भने, 'असारसम्ममा सुरुको खण्डमा कालोपत्र सम्पन्न गर्नेछौँ। बाँकी समयमा माथिल्लो छ किमीअन्तर्गतको काम गर्छौँ।'

सो क्रममा उनले काम गर्ने ठाउँमा परेको विद्युत्को खम्बा, खानेपानीको पाइप, केही ठाउँमा बुद्धचित्त मालाको बोट परेको परेकाले समस्या भएको पारेको भन्दै समाधानका लागि सहयोग गर्न पालिकासँग आग्रह गरे।

तेमाल गाउँपालिकाका उपाध्यक्ष दलमान थोकरले नमोबुद्ध नगरपालिकाभित्र काम भएसँगै पालिकाको सडकखण्डमा पनि काम थालनी गर्न आग्रह गर्दै बीचमा केही समस्या भएमा समन्वय गरेर सहजीकरण गर्न पालिका तयार भएको बताए।

नमोबुद्ध नगरपालिकाका प्रमुख कुन्साङ लामाले निर्माण व्यवसायीले बीचमा काम छोडेकाले समस्या भएको भन्दै अहिले त्यो समस्या समाधान भएको बताए। सडक खनेपछि व्यवस्थित नगर्ने र बीचमा काम छोड्ने गरेकाले आगलागी हुँदा वा अस्पताल पुर्‍याउन पनि सवारी सञ्चालन हुने अवस्था नभएको भन्दै अहिले काममा फर्किएको निर्माण कम्पनीलाई निरन्तर रुपमा काममा लाग्न दबाब दिने बताए।

काम रोकिएपछि दुई पटकसम्म सडक डिभिजन कार्यालयमा गएर कामलाई अगाडि बढाउन पहल गरिदिन आग्रह गरेको बताउँदै लामाले निर्माण व्यवसायीलाई पटकपटक ताकेता गरिएको बताए।

जिल्ला समन्वय समितिका प्रमुख दीपक गौतमले कामको अनुगमनपछि कार्यतालिका बनाएर तोकिएको समयसीमाभित्रमा काम सक्ने गरी निरन्तरता दिन र कामको कामको प्रगती विवरण पेस गर्न आग्रह गरे। 'नागरिकको माग समयभित्र काम सम्पन्न गर्नुपर्‍यो भन्ने छ', उनले भने, 'काम गर्दा बीचमा आइपरेको समस्या समाधान गर्न पालिकाहरु र जिल्ला समन्वय समिति तयार छ। हामी आवश्यक सहजीकरण गर्नेछौँ। नागरिकलाई दुःख दिने काम नगरौँ।'

सम्झौताअनुसार सडक छेउमा पर्खाल लगाउने नाली निर्माण गर्ने, सबबेस, बेस र कालोपत्र गर्नुपर्नेछ। रासस


प्रकाशित : शनिबार, चैत २४ २०८०१६:२६

प्रतिक्रिया दिनुहोस
कार्यकारी सम्पादक

केदार दाहाल

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर

२८३८/०७८-७९

© 2024 All right reserved to biznessnews.com  | Site By : SobizTrend