आइतबार, वैशाख २८ गते २०८२    
आइतबार, वैशाख २८ २०८२
images
images

भुक्तानी नपाएपछि निर्माण कम्पनीले छाड्यो काम, स्रोत सुनिश्चित नहुँदा नगर अस्पताल अलपत्र

images
बिहीबार , चैत २२ २०८०
images
भुक्तानी नपाएपछि निर्माण कम्पनीले छाड्यो काम, स्रोत सुनिश्चित नहुँदा नगर अस्पताल अलपत्र

आधा काम गरिसक्दा पनि भुक्तानी नपाएपछि अहिले अस्पतालको काम ठप्प भएको हो। गत माघसम्म ठूलो संख्यामा कामदार लगाएर काम गरिरहेको निर्माण कम्पनीले अहिले काम छाडेको छ।

images
images

बागलुङ- ढोरपाटन सिकार आरक्ष क्षेत्रमा निर्माणाधीन नगर अस्पताल अलपत्र परेको छ। ढोरपाटन नगरपालिका-९ पाखाथरमा १९ महिना अगाडि निर्माण सुरु भएको नगर अस्पतालमा अर्थ मन्त्रालयबाट स्रोत सुनिश्चितता नहुँदा अलपत्र परेको हो। 

images
images
images

निर्माण कम्पनीले ५० प्रतिशत काम सम्पन्न गरिसकेको छ। आधा काम गरिसक्दा पनि भुक्तानी नपाएपछि अहिले अस्पतालको काम ठप्प भएको हो। गत माघसम्म ठूलो संख्यामा कामदार लगाएर काम गरिरहेको निर्माण कम्पनीले अहिले काम छाडेको छ। 

images
images

ढोरपाटन क्षेत्रका नागरिकलाई लक्षित गरी निर्माण सुरु गरिएको १५ शय्याको नगर अस्पतालको काम रोकिएपछि सरकारले बजेट व्यवस्थापन गरेर अस्पताललाई पूर्णता दिनुपर्ने स्थानीयको माग छ। विसं २०८२ असार २३ सम्ममा सक्नेगरी सम्झौता गरिएको थियो।

images
images

काम सुरु गर्दा नगरपालिकाले पेश्कीस्वरुप दुई करोड ४६ लाख रूपैयाँ उपलब्ध गराए पनि त्यसयता काम गरेको भुक्तानी नपाएको एसी कन्ट्रक्सन प्रालिका प्रमुख दीपक अदैले बताए। उनले भदौ महिनासम्म छ करोड ६१ लाख रूपैयाँको काम सम्पन्न गरी नगरपालिकामा बिल बुझाए पनि अहिलेसम्म रकम नपाएको गुनासो गरे।

हालसम्म अस्पतालको आधाभन्दा बढी काम सकेको भन्दै साढे आठ करोड रूपैयाँ भुक्तानी हुन बाँकी रहेको अदैले बताए। करोडौँ रकम भुक्तानी नहुँदा काम गर्न निकै गाह्रो भएको उनको भनाइ छ। अस्पातलको भवन निर्माणका लागि १७ करोड ५० लाख रूपैयाँमा सम्झौता भए पनि सरकारले स्रोत सुनिश्चितता नगर्दा भुक्तानी पाउन नसकेको हो।

ढोरपाटनमा निर्माण सामग्री ढुवानी गर्न र कामदार लगाउन निकै खर्चिलो भएको तथा आफूले जसोतसो व्यवस्थापन गर्दै आए पनि अहिले निकै गाह्रो भएको उनको भनाइ छ।

'हामीहरूले इमान्दार भएर काम गर्‍यौँ, तर अहिले भुक्तानी पाएनौँ, भुक्तानी पाउन नसक्दा, काम छाड्न बाध्य भयौँ, सबै व्ययभार मिलाउन गाह्रो भएको छ, भदौसम्मको छ करोडभन्दा बढी बिल पेस गरेको महिनौँ भयो, अहिलेसम्म एक रुपैयाँ पनि पाएका छैनौँ, त्यसपछि पनि माघसम्म पैसा आउने आशमा काम गरियो आएन र काम गर्न सकिएन', अदैले भने, 'अहिलेसम्म आठ करोड रूपैयाँभन्दा बढी रकम पाउन छ, स्रोत सुनिश्चित नहुँदै ठेक्का लगाइएको रहेछ, यसमा हाम्रो के दोष?, अहिले हामीहरू निकै समस्यामा परेका छौँ, काम गरेको करोडौँ रुकम नपाउँदा व्ययभारले तनाव बनाएको छ।'

उपत्यका क्षेत्रमा ढोरपाटनका वडा नं ६, ७, ८ र ९ का करिब पाँच हजार बढी स्थानीय यहाँ बसोबास गर्दै आएका छन्। हिउँदको समयमा त्यहाँका बासिन्दा अधिकारीचौर, बोबाङलगायतका ठाउँमा झर्ने र बर्खाको समयमा ढोरपाटन बस्ने गर्दछन्।

अस्पताल निर्माणपछि ढोरपाटनसँगै निसेलढोर र पूर्वीरुकुमको तकसेरा, हुकाम मैकोट, म्याग्दीको जलजलाका नागरिकलाई उपचारमा सहज हुने अपेक्षा लिइएको छ।

ढोरपाटनमा अहिलेसम्म अस्पताल बन्न सकेको थिएन। नगरपालिकाले सहरी सामुदायिक स्वास्थ्य एकाइ सञ्चालनमा ल्याएर सेवा प्रवाह भइरहेको छ। बुर्तिबाङ बजारबाट ३२ किलोमिटरको दुरीमा रहेको ढोरपाटनमा बाहिरबाट आउने पर्यटकसमेत बिरामी हुँदा उपाचारमा समस्या हुने गरेको छ। 

उच्च स्थानमा हुँदा पर्यटकलाई लेक लाग्ने समस्या बढी हुने गरेको पाइन्छ। निर्माणाधीन अस्पतालका लागि स्रोत सुनिश्चित नहुँदा अर्थ मन्त्रालयले भुक्तानी गर्न नसक्ने जनाएको बताइएको छ।

नगरपालिकाका प्रमुख प्रशाकीय अधिकृत विष्णुप्रसाद ज्ञवालीले निर्माण कम्पनीले माघ महिनासम्म तीव्रगतिमा काम गरेको जनाउँदै संघीय सरकारले रकम नपठाउँमा भुक्तानी गर्न नसकिएको बताए। सात महिना अगाडि नै निर्माण कम्पनीले नगरपालिकामा बिल पेस गरेको जनाउँदै केन्द्रमा पटक-पटक माग गर्दा पनि रकम नपठाएको उनको भनाइ छ। नगरपालिकाको स्रोत नहुँदा पालिकाबाट भुक्तानी गर्न सक्ने स्थिति नरहेको ज्ञवाली बताउँछन्।

उनले भने, 'ठूलो रकम निर्माण कम्पनीलाई भुक्तानी गर्न बाँकी छ, स्वास्थ्य मन्त्रालयमा दुई पटकसम्म रकम पठाउनका लागि पत्र पठायौँ, तर अहिलेसम्म आएन, उहाँहरूले धेरै काम गर्नुभएको छ, भुक्तानी नगरपालिकाले पनि गर्न सक्दैन, नगरपालिकाको आम्दानी हुन्थ्यो भने जोखिम लिएर भुक्तानी दिन सकिन्थ्यो, हाम्रो केही स्रोत छैन, अब माथिबाट नआएसम्म अरु विकल्प छैन, संघीय कार्यक्रम भएको हुँदा अप्ठ्यारो भयो, यसले निर्माण कम्पनी निकै मर्कामा परेको छ।' रासस


प्रकाशित : बिहीबार , चैत २२ २०८०१७:३०

प्रतिक्रिया दिनुहोस
कार्यकारी सम्पादक

केदार दाहाल

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर

२८३८/०७८-७९

© 2025 All right reserved to biznessnews.com  | Site By : SobizTrend