शुक्रबार, वैशाख २१ गते २०८१    
images
images

पोखरा-मुग्लिन सडक निर्माण सुस्त गतिमा

images
images
images
पोखरा-मुग्लिन सडक निर्माण सुस्त गतिमा

आयोजनाको पूर्वी सडकखण्ड (मुग्लिन-जामुने)मा हालसम्म भौतिक प्रगति ५१ र पश्चिम खण्ड (जामुने-पोखरा) मा १७ प्रतिशत पुगेको छ।

images
images

गण्डकी- पर्यटकीय राजधानी पोखरा प्रवेश गर्ने पोखरा-मुग्लिन सडक विस्तार र स्तरोन्नतिको काममा ढिलाइ हुँदा पर्यटक र सर्वसाधारण दुई वर्षदेखि सास्ती भोग्न बाध्य छन्। घाम लाग्दा धुलो र पानी पर्दा हिलोको समस्याबाट यात्रु हैरान भएका छन्। 

images
images
images

विसं २०७८ बैशाखदेखि सुरु भएको सडक विस्तार तथा स्तरोन्नति कार्यले पछिल्लो समय थोरै गति लिन थालेको छ। स्थानीयले निर्माण सुस्त भएकाले अझै गति बढाउनुपर्ने बताउँदै आएका छन्।

images

आयोजनाको पूर्वी सडकखण्ड (मुग्लिन-जामुने)मा हालसम्म भौतिक प्रगति ५१ र पश्चिम खण्ड (जामुने-पोखरा) मा १७ प्रतिशत पुगेको छ। पूर्वी खण्डका इञ्जिनियर एवं सूचना अधिकारी विष्णुप्रसाद पाण्डेका अनुसार १४ किमी दुरीमा दुईतर्फी (चार लेन) र १२ किमिमा एकतर्फी (दुई लेन) सडक कालोपत्र भइसकेको छ।

images

उक्त खण्डमा पर्ने १७ साना-ठूला पक्की पुलमध्ये १४ वटा बनिसकेको र तीन वटा निर्माणाधीन अवस्थामा छन्। मादीमा बन्ने ‘सिग्नेचर’ पुल छुट्टै ठेक्कामार्फत निर्माण भइरहेको इन्जिनियर पाण्डेले बताए।

images
images

'कोभिड महामारीलगायतका कारण सुरुको चरणमा काम गर्न ढिलाइ भएको हो। अहिले कामले गति लिएको छ, निर्माण कम्पनीले उपकरण र मजदुर थपेर काम गरिरहेका छन्', उनले भने, 'कालोपत्रका लागि बेस हाल्नेदेखि, कल्भर्ट, नाली, पर्खाललगायत पूर्वाधार तयारीका काम धमाधम भइरहेका छन्।'

पूर्वी खण्डको ४१ दशमलव ४५ किमिको काम विसं २०७८ बैशाखदेखि चाइना कम्युनिकेसन कन्स्ट्रक्सनले सुरु गरेको थियो। 
उक्त खण्डको ठेक्काको म्याद आगामी बैशाखसम्म छ। 'छ महिना म्याद थपका लागि प्रक्रिया अगाडि बढेको छ, सोही अवधिभित्र कामसक्ने लक्ष्य आयोजनाको छ', इञ्जिनियर पाण्डेले भने। पूर्वी खण्डमा पर्ने तनहुँको दमौली र डुम्रे बजारमा छ लेन र बाँकी खण्डमा चार लेनको सडक बन्ने उनको भनाइ छ।

निर्माण कम्पनीले छ अर्ब २१ करोड ३१ लाख रूपैयाँमा उक्त खण्डको ठेक्का लिएको थियो।

आयोजनाको पश्चिम खण्ड (पोखरा-जामुने)का प्रमुख राजेशप्रसाद पौडेलले काम सकिन अझै दुई वर्ष लाग्ने बताए। 'हालसम्म पश्चिम खण्डको भौतिक प्रगति १७ प्रतिशत छ, कुनै अवरोध आएन भने दुई वर्षभित्र काम सकिन्छ', उनले भने, 'सडक निर्माणलाई तीव्रता दिन पश्चिम खण्डमा अहिले इञ्जिनियर र पाँच सय बढी मजदुर खटिएका छन्।'

सडक विस्तारसँगै पुल, कल्भर्ट, नालीलगायत पूर्वाधार निर्माणको काम तीव्र गतिमा भइरहेको उनले जानकारी दिए। 'कतिपय ठाउँमा सडक दायाँबायाँका भौतिक संरचना, विद्युत् खम्बा, खानेपानी र सिँचाइका पूर्वाधार व्यवस्थापनको काम बाँकी छ', प्रमुख पौडेलले भने, 'आयोजना प्रभावित क्षेत्रका बासिन्दालाई मुआब्जा वितरणको प्रक्रिया सँगै अगाडि बढाएका छौँ।' 

पश्चिम खण्डमा हालसम्म पाँच किमी सडक कालोपत्र भइसकेको छ। तनहुँको थर्पु, तुरतुरे, कास्कीको तल्लो गगनगौँडालगायत खण्डमा कालोपत्रको तयारी गरिएकामा वर्षाले अवरोध पुर्‍याएको आयोजना प्रमुख पौडेलले बताए। १९ प्रतिशत भौतिक प्रगति हुनुपर्नेमा वर्षाकै कारण १७ प्रतिशतमात्र पुगेको उनको भनाइ छ।

प्रमुख पौडेलले आगामी असारभित्र ३० प्रतिशत भौतिक प्रगति हासिल गर्ने लक्ष्यसहित आयोजनाको कामलाई गति दिइएको बताए। तनहुँको जामुनेदेखि पोखराको सेती पुलसम्म ३८ दशमलव ८८ किमी दुरी रहेको पश्चिम खण्डको आधा सडक छ लेन र आधा चार लेनको बन्ने पौडेलले जानकारी दिए। आयोजनासँग हाल २० किमी कालोपत्र गर्न आवश्यक सामग्री तयारी अवस्था छ। 

निर्माण सामग्रीको अभाव हुन नदिन आयोजनाले कास्की र तनहुँका स्थानीय तहसँग समन्वय गरिरहेको छ। आयोजनाको पश्चिम खण्ड निर्माण पूर्वी खण्डको भन्दा छ महिना पछि सुरु भएको थियो। सडकको अधिकार क्षेत्रभित्रका संरचना, विद्युत् खम्बा, खानेपानीका पूर्वाधार आदि हटाउन समय लागेकाले आयोजना निर्माणमा ढिलाइ भएको प्रमुख पौडेलले बताए।

पश्चिम खण्डमा विसं २०७८ भदौदेखि काम सुरु गरेकोमा ठेक्काको म्याद आगामी भदौसम्म रहेको आयोजना कार्यालयले जनाएको छ। सो अवधिमा निर्माण सम्पन्न नहुने भएपछि म्याद थपको प्रक्रिया अगाडि बढाइएको आयोजना प्रमुख पौडेलले जानकारी दिए।

पश्चिम खण्डअन्तर्गत दुलेगौँडा र मुख्य बजार क्षेत्रको सडकको चौडाइ ४६ मिटर हुनेछ। जामुनेदेखि कुम्लेखोलासम्म १८ मिटर र बाँकी खण्डमा २३ मिटर सडक कालोपत्र हुने जनाइएको छ। पश्चिम खण्डमा १२ वटा पक्की पुल र एक सयको हाराहारीमा कल्भर्ट बनिरहेको आयोजना कार्यालयले जनाएको छ।

पोखराको सेती नदीमा ‘सिग्नेचर’ पुल निर्माणाधीन अवस्थामा छ। ‘केबल-स्टेड’ प्रविधिको उक्त पुलको ठेक्का रसुवा कन्स्ट्रक्सनले लिएको छ। भ्याटबाहेक ९४ करोड रूपैयाँमा ठेक्का लागेको पुल आकर्षक हुने आयोजनाले जनाएको छ।

चिनियाँ निर्माण कम्पनी ‘यनहुई काइयुयान हाइवे’ एण्ड ब्रिज कन्सट्रक्सनलले सात अर्ब ४० करोड ४६ लाख रूपैयाँमा पश्चिम खण्डको निर्माण ठेक्का लिएको हो। कुल ८१ किमी दुरीको सो सडक एसियाली विकास बैंकको ऋण सहयोगमा विस्तार तथा स्तरोन्नतिको काम भइरहेको छ। सडक विस्तार भइरहेकाले प्रदेश राजधानी पोखरा प्रवेश गर्ने मुख्य सडकको यात्रामा सर्वसाधारणले सास्ती खेप्न बाध्य छन्।

घाम लाग्दा सडक धुलाम्मे र वर्षात्मा हिलाम्ये हुँदा यातायात सञ्चालनमा कठिनाइ भएको छ। पोखरा पर्यटन परिषद्का अध्यक्ष पोमनारायण श्रेष्ठले पहिलेको तुलनामा पछिल्लो समय सडक निर्माणले गति लिएकामा सन्तोष व्यक्त गरे।

'सडक निर्माण सुस्त भएपछि हामीले दबाबमूलक कार्यक्रम गर्नुपरेको थियो, अहिले सडकको प्रगति हेर्दा सन्तोषजनक देखिन्छ', उनले भने, 'पर्यटकीय राजधानी जोड्ने मुख्य सडकमार्ग भएकाले चाँडो निर्माण सम्पन्न गर्न सम्बन्धित पक्षको ध्यान जानु जरुरी छ। यो सडक पोखराको पर्यटनका लागि कोसेढुंगा हो।'

पोखरा-मुग्लिन सडकस्तरीय नहुँदा पोखरा र आसपासको पर्यटन क्षेत्र मारमा परेको छ। पर्यटकीय राजधानी प्रवेश गर्न घण्टौँको सास्तीपूर्ण यात्रा गर्नुपर्ने अवस्था अन्त्य हुनेमा विश्वस्त रहेको अध्यक्ष श्रेष्ठले बताए। रासस

images

प्रकाशित : आइतबार, चैत १८ २०८००३:३६

प्रतिक्रिया दिनुहोस