मंगलबार, मंसिर १८ गते २०८१    
images
images

अस्तव्यस्त भेरी करिडोर : ६२ किमीमा अझै भएन बोलपत्र, दर्जन पुलका काम अलपत्र

images
बुधबार, फागुन ३० २०८०
images
images
अस्तव्यस्त भेरी करिडोर : ६२ किमीमा अझै भएन बोलपत्र, दर्जन पुलका काम अलपत्र
फाइल तस्बिर

तल्लुबाट दुनैसम्म अस्थायी ट्र्याक निर्माण भएसँगै यातायातका साधन सञ्चालन भएपनि सडक कालोपत्र नहुँदा समस्या भएको स्थानीय बताउँछन्।

images
images

जाजरकोट- भेरी करिडोरको एक सय १८ किलोमिटर खण्डमा निर्माण हुने पुल तथा सडक अस्तव्यस्त भएका छन्। करिब ५६ किमी खण्डमा कालोपत्रको काम भइरहेको छ भने बाँकी ६२ किमीको हालसम्म बोलपत्र आह्वान भएको छैन।

images
images
images

नेपाली सेनाले अस्थायी ट्र्याक खोलेर सरकारलाई हस्तान्तरण गरिसकेको सडकको स्तरोन्नति नहुँदा दैनिक यस क्षेत्र भएर यात्रा गर्ने सर्वसाधारणलाई समस्या हुँदै आएको छ।

images

जाजरकोटको पासागाडबाट नलगाड नगरपालिकाको तल्लुसम्मको कच्ची सडकमा कालोपत्रको काम यति बिल्डर्सले गरिरहेको छ। यही सडकमा क्याराभान कन्स्ट्रक्सनले पाँच पुल निर्माण गर्नुपर्ने भए पनि हालसम्म काम नगरी अलपत्र परेका छन्।

images

बाँकी ६२ किमी अर्थात् तल्लुबाट डोल्पाको दुनैसम्मका लागि बोलपत्र आह्वान नभएको भेरी करिडोर सडक आयोजना कार्यालयले जनाएको छ। तल्लुबाट दुनैसम्म अस्थायी ट्र्याक निर्माण भएसँगै यातायातका साधन सञ्चालन भए पनि सडक कालोपत्र नहुँदा समस्या हुन थालेको स्थानीय बताउँछन्।

दुनै ल्यासिक्या सडक खण्डमा विसं २०७८ चैत १७ गते निर्माणको ठेक्का लगाइए पनि हालसम्म १० प्रतिशत मात्रै काम हुँदा दुनैबाट उपल्लो डोल्पा जान निकै सास्ती हुँदै आएको छ।

डोल्पाको काइके गाउँपालिकाले सडक आयोजना निर्माण गर्नका लागि भेरी करिडोरलाई पटकपटक अनुरोध गरेपनि निर्माण व्यवसायी र करिडोरले बेवास्ता गरेको गाउँपालिकाका अध्यक्ष अङगद रानाले बताए। गाउँपालिकाबाट भेरी करिडोर र निर्माण व्यवसायीलाई आधादर्जन पत्र पठाउँदा पनि हालसम्म सुनुवाइ नभएको उनको भनाइ छ। उनका अनुसार करिडोरलाई पत्राचार गरिएका पत्र सामाजिक सञ्जालमा सार्वजानिक गर्दै भेरी तत्काल निर्माण व्यवसायीलाई काममा फर्काउन आग्रह गरिएको छ।

सोही खण्डअन्तर्गत पाँच वटा पुल अलपत्र पारेको क्याराभानले पनि कामलाई निरन्तरता दिन सकेको छैन। सडक डिभिजन चौरजहारीबाट भेरी करिडोर अलग बनाएर कामको सुरुवात गरेपछि यो आयोजना झनै लथालिंग बनेको भएको छ। यहाँ एक वर्षको अवधिमा दुईजना कार्यालय प्रमुख फेरिसकेको अवस्था छ।

आयोजना प्रमुख परिवर्तन भइरहने तर काम नगर्दा डोल्पा, जाजरकोट र रुकुम पश्चिमका सर्वसाधारणलाई करिडोर भएर आवतजावत गर्न हुँदै आएको छ। काइके गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत सम्झाना पराजुलीले करिडोरलाई पत्राचार गरे पनि कुनै जवाफ नआएको बताए। काम छिटो सम्पन्न भए दुनैबाट माथिल्लो जान र आउन सजिलो हुनुका साथै दैनिक उपभोग्य सामग्री ढुवानीमा सहजता आउने उनको भनाइ छ।

तल्लुबाट दुनैसम्म निर्माण हुने सात पुल अझै निर्माण सुरु गरिएको छैन। डोल्पाको ठूलीभेरीस्थित रुपगाडको पुलसमेत लथालिंग भएको छ। आयोजनाको निगरानी नहुँदा निर्माण व्यवसायीको मनपरीका कारण अलपत्र परेको छ।

भेरी कोरिडोर (जाजरकोट-दुनै-मरिम-तिन्जे धो) सडक योजनाका प्रमुख सुनिल रञ्जीतकारले लथालिंग भएको आयोजनालाई ट्र्याकमा ल्याउने काम सुरु गरिएको बताए। अहिले आयोजनाको म्याद थपका लागि पहल भइरहेको उनले जानकारी दिए।

त्रिदेशीय सडकका रुपमा स्थापित हुन थालेको भेरी कोरिडोर (सुर्खेत, जाजरकोट-दुनै-मरिम-तिन्जे धो) सडक भारत नेपाल र चीनलाई जोड्नुका साथै कर्णाली करिडोर र पुष्पलाल मध्यपहाडी लोकमार्गसँग जोडिएको छ। रासस


प्रकाशित : बुधबार, फागुन ३० २०८०१३:०८

प्रतिक्रिया दिनुहोस
कार्यकारी सम्पादक

केदार दाहाल

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर

२८३८/०७८-७९

© 2024 All right reserved to biznessnews.com  | Site By : SobizTrend