काठमाडौं- नेपालगञ्जका विभिन्न ठाउँबाट स्रोत नखुलेको एक करोडभन्दा बढी रकमसहित पाँचजना पक्राउ परेका छन्।
नेपालगञ्ज उपमहानगरपालिका-४ गणेशपुरस्थित सन्तोषी दंगाली होटलबाट स्रोत नखुलेको नगद ५७ लाख २८ हजार ७ सय नेपाली रूपैयाँ र ११ लाख भारतीय रूपैयाँसहित ३ जनालाई सोमबार साँझ प्रहरीले पक्राउ गरेको छ।
पक्राउ पर्नेहरूमा सोही उपमहानगरपालिका-१६ बस्ने ३५ वर्षीय रोहित क्षेत्री, उक्त होटल सञ्चालक दाङ तुलसिपुर उपमहानगरपालिका-९ बस्ने ४३ वर्षीय कृष्ण बहादुर विक र भारत बहराइज बस्ने ४१ वर्षीय राहुल जैसवाल रहेका छन्।
जिल्ला प्रहरी कार्यालय बाँकेबाट खटिएको प्रहरीले होटल जाँच गर्ने क्रममा होटलको कोठामा झोलामा राखिएको उक्त नगदसहित फेला पारी उनीहरूलाई पक्राउ गरेको हो।
यसैगरी, नेपालगञ्ज उपमहानगरपालिका-२ पुष्पलाल चोकस्थित कालिका न्यू कर्णाली होटलबाट स्रोत नखुलेको नगद ३४ लाख नेपाली रूपैयाँ र ४ लाख ४० हजार भारतीय रूपैयाँसहित २ जनालाई सोमबार साँझ प्रहरीले पक्राउ गरेको छ।
पक्राउ पर्नेहरूमा सोही उपमहानगरपालिका-१६ बस्ने ५० वर्षीय सलिम जोलाह र उनकै छोरा २८ वर्षीय आसिप जोलाह रहेका छन्। जिल्ला प्रहरी कार्यालय बाँकेबाट खटिएको प्रहरीले उनीहरूलाई उक्त नगदसहित फेला पारी पक्राउ गरेको हो।
यस सम्बन्धमा थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।