शुक्रबार, वैशाख २८ गते २०८१    
images
images

सार्वजनिक यातायात अस्तव्यस्त हुनाले निजी सवारी विलासी होइन

images
images
images
सार्वजनिक यातायात अस्तव्यस्त हुनाले निजी सवारी विलासी होइन
images
images

निजी सवारी साधन वास्तवमा विलासिताकै साधन हो। तर सार्वजनिक सवारीसाधन पनि कम विलासिताको साधन भने होइन। संसारभर सार्वजनिक यातायातलाई विलासी साधनका रुपमा लिइन्छ। सार्वजनिक सवारीमा अरूले सेवा दिने, फराकिलो, पत्रिका पढ्न पाइने, मोबाइल प्रयोग गर्दै आरामदायी यात्रा गर्न पाइने भएकाले विदेशमा यो नै विलासी साधन मानिन्छ।

images
images
images

निजी सवारी प्रयोगकर्तालाई पार्किङको तनाव, साँघुरा बाटा, अधिक ट्राफिकका कारण हुने ध्वनी प्रदूषण आदिले गर्दा 'यसलाई के विलासी भन्ने र' जस्ता कुरा पनि उठिरहेको छ। यसको तुलनामा सार्वजनिक यातायात धेरै विलासी साधन हो।

images

निजी सवारीमा चालक राख्नु पर्ने अवस्था छ, त्यसका लागि खर्चदेखि धेरै कुरा व्यवस्थापन गर्नुपर्छ। त्यति भयो भने विलासी हो नत्र के विलासी हुनु? विश्वमा सार्वजनिक सवारी नै विलासी साधनको रुपमा उदाएको छ। तर अलिपछि आइपुग्दा उच्च ओहोदाका व्यक्तिहरूलाई छुट्टै सवारीको व्यवस्था हुन थाल्यो। यसले व्यक्ति आफैले आफ्ना लागि सवारी किन्न थाले। योसँगै निजी सवारी प्रयोग बढ्दै गयो र अहिले निजी सवारी विलासी साधनको रुपमा उदाएको हो।

images

यो कुरा नेपालमा पनि आयो। आजभन्दा २० वर्ष अघिसम्म कार चढ्नेलाई सबैले चिन्थे वा भनौँ त्यस्ता मानिस सीमित थिए। तर अहिले अवस्था धेरै बदलिएको छ। अहिले मानिसहरूको काम गर्ने क्षेत्र/दायरा फराकिलो भएको छ। त्यसैले जागिर, व्यापार गर्ने व्यक्तिका लागि काममा सहयोग होस् भनेर निजी सवारी अत्यावश्यक भइसकेको छ।

images
images

यो किन भयो भन्दा हाम्रो सार्वजनिक यातायात क्षेत्र विश्वसनीय नुहँदा हो। राम्रो र विश्वसनीय सार्वजनिक यातायात हुथ्यो भने मानिसले निजी सवारी किन्ने थिएनन्। सार्वजनिक यातायातमा फराकिलो स्पेसमा बसेर मोबाइल चलाउँदै, आफ्नो काम गर्दै यात्रा गर्थे। तर हाम्रो देशको सार्वजनिक यातायात त्यो अवस्थाको छैन।

यहाँ के भयो भन्दा सार्वजनिक यातायात पैसा नहुने, न्यून आय भएका वर्गका लागि चलाइएको जस्तो भयो। हाम्रो देशमा सार्वजनिक यातायात भनेको अहिलेसम्म बसमात्र हुन्। त्यो पनि निजी क्षेत्रले नै सञ्चालन गरिरहेको छ। निजी क्षेत्रले चलाएपछि उनीहरूले कम लगानीमा धेरै नाफा खोज्ने भए।

सार्वजनिक यातायात सुविधायुक्त, सस्तो र विश्वसनीय हुनुपर्ने थियो तर भएको छ उल्टो। विदेशमा सार्वजनिक यातायातमा सरकारले पनि लगानी गरेको हुन्छ, त्यसको संरक्षणमा सबै लाग्छन्। तर हाम्रो देशमा सरकारले यो क्षेत्रलाई वेवास्ता नै गरेको छ भन्दा फरक पर्दैन। हाम्रो सार्वजनिक यातायात सफा पनि छैन, विश्वसनीय छैन, महँगो छ, समयको कुनै टुंगो छैन। सार्वजनिक यातायातमा सरकारको नियमन/नियन्त्रण केही नै छैन। यो किन हुन सकेन भने सरकारले सार्वजनिक यातायातमा लगानी नै गरेन।

यसले मानिसलाई निरुत्साहित बनायो। सार्वजनिक यातायात प्रयोग गर्नेहरूले यसबाट पार लाग्ने रहेनछ भनेर विकल्पका रुपमा निजी सवारी किन्न थाले। अर्थतन्त्रको आकार ठूलो भयो, मानिसहरूको आय/खर्च गर्ने क्षमता बढ्यो। एउटा मात्र होइन दुई, तीनवटासम्म काम गर्न थाले। यसका लागि त हाम्रो जस्तो सार्वजनिक यातायात चढेर त्यो पूरा हुँदैन। सार्वजनिक यातायातबाट मानिसहरू वाक्कदिक्क नै भए।

पछिल्लो दुई वर्षको परिवेश हेर्ने हो भने त कोरोनाले निजी सवारी नै प्रयोग गर्नुपर्ने रहेछ भन्ने बनायो। सार्वजनिक सवारीमा संक्रमणको जोखिम धेरै हुने पुष्टी भयो। त्यसैले पनि मानिसहरूले आवश्यकता र सहजताका लागि निजी सवारी नै प्रयोग गर्न थालेका हुन्। गत वर्ष करिब साढे ४ लाख सवारीसाधन आयात भएको सुनिएका छ। यसले निजी सवारी प्रयोग बढेको बताउँछ।

देशभर ४० लाखभन्दा बढी सवारी दर्ता भएका छन् भने १३/१४ लाख त काठमाडौं उपत्यकामै छन्। कोभिडपछि सवारीको आपूर्ति कम भएर होला निजी सवारी किन्न चाहनेले केही महिना कुर्नुपर्ने अवस्थासमेत आएको छ।

यो सबै हामी धेरै नै धनी भएर भएको पनि होइन, सार्वजनिक यातायातप्रति विश्वास नभएर हो। निजी सवारीको प्रयोग बढ्नुको मुख्य कारण छोटकरीमा भन्दा अविश्वसनीय सार्वजनिक यातायात, पछिल्लो पटक महामारीको रुपमा फैलिएको कोरोना र विलासिता पनि हो। मानिसहरूसँग पैसा छ, त्यो कहाँ उपयोग गर्ने त भन्दा विलासी तथा महँगा सवारीसाधन खरिद गर्ने हो।

हाम्रो देशमा सार्वजनिक यातायातलाई गरिबले चढ्ने र निजी सवारी विलासी सवारी भन्ने जुन परिभाषा प्रचलित छ यसलाई परिवर्तन गर्नुपर्ने आवश्यकता छ। विदेशमा उच्च पदस्थहरूले पनि सार्वजनिक यातायात तथा साइकलसम्म प्रयोग गर्छन् तर नेपालमा उच्च ओहोदामा रहेका व्यक्तिहरूले सार्वजनिक यातायातलाई विश्वसनीय बनाउन कहिल्यै पनि लागेनन्।

निजी सवारी विलासी त हो नै जसले ‘कम्फर्ट’ दिन्छ। सार्वजनिक सवारी पनि त्योभन्दा कम विलासी हुने थिएनन्, यदि स्तरीय रुपमा त्यसको विस्तार र संरक्षण गर्न सकेका थियौँ भने यी सबै कुरालाई ध्यानमा राख्दै सार्वजनिक यातायात सुधारलाई हामीले विशेष जोड दिनुपर्छ। यसका लागि हामी आफैले ‘रिसर्च एन्ड डेभलपमेन्ट’ मा कुनै लगानी गर्नुपर्दैन। विश्वमा विभिन्न देशले गरेका अनेकन प्रयोगमध्ये उपयुक्तलाई हामीले अनुशरण गर्न सक्छौँ।

धेरै देशहरूले सार्वजनिक यातायातमा लगानी गर्छन् र निजी क्षेत्रलाई व्यवस्थापन गरेर राज्यले निगरानी गर्छ। अब हामीले पनि सार्वजनिक सुधार गर्ने हो र विलासी भनिएको निजी सवारीको प्रयोगमा समेत कमी आउने छ। सार्वजनिक यातायातलाई व्यवस्थित गर्न इन्टिग्रेटेड सिस्टममा चलाउनु पर्छ। एउटा गन्तव्यबाट अर्कोमा जानका लागि सडकमा बस कुर्‍यौँ भने कति बेला आउँछ भन्ने नै छैन। यो सबैलाई व्यवस्थित गर्न अनलाइबाट टिकट काट्नेदेखि सुलभ भाडादर, सुरक्षा, गुणस्तर र विश्वसनीयतामा ध्यान दिनु पर्छ।

सरकारले एकीकृत कम्पनी बनाएर ५१ प्रतिशत सेयर लिने र बाँकी ४९ प्रतिशत सेयर अहिले बस सञ्चालन गरिरहेका यातायात व्यवसायीहरूलाई उनीहरू बसको संख्याका आधारमा मूल्यांकन गरेर दिन सकिन्छ। त्यसको सञ्चालनको जिम्मा निजी क्षेत्रलाई दिने र सरकारले त्यसको निगरानी गर्ने हो भने हाम्रो देशको सार्वजनिक यातायात सुधार हुन सक्छ। यसरी कम्पनीमा बस उपलब्ध गराउने व्यवसायीलाई सरकारले रिटर्नको ग्यारेन्टी पनि गर्नुपर्छ। सार्वजनिक यातायात सञ्चालनका क्रममा हुने घाटाका लागि सरकारले आवश्यकता अनुसार सहुलियत दिँदै जानु पर्छ।

निजी सवारी विलासी हो पनि होइन पनि। सार्वजनिक सवारीले उसको आवश्यकता पूरा गर्न नसकेपछि निजी सवारी रोज्नेको संख्या बढेको हो। अहिलेको अवस्थामा निजी सवारी प्रयोगकर्ताहरूले ठूलो कठिनाइ भोग्नु परेको छ। अव्यवस्थित ट्राफिक व्यवस्थापनको सिकार हुनु, जाममा बस्नु पर्ने, कर तिर्न जानुपर्ने, महँगो करले निजी कार वा मोटरसाइकल किन्न कष्टपूर्ण काम हो।

अझ दुईपांग्रे सवारी मोटरसाइकल तथा स्कुटर प्रयोगकर्ताको अवस्था त झनै विकराल छ। तथापी लाखौँ मानिसहरू मोटरसाइकल तथा स्कुटर चढिरहेका छन्। सहज र व्यवस्थित सार्वजनिक यातायात थियो भने निजी सवारी प्रयोग निक्कै कम हुने थियो।

सहरी यातायात व्यवस्थापनका विषयमा ट्राफिक इन्जिनियरिङको सिद्धान्तमा ३० लाखभन्दा बढी मानिस बस्ने सहरमा मेट्रो रेल सञ्चालन गर्नुपर्छ भनिन्छ। यो दीर्घकालीन व्यवस्थापनको विषय हो, अर्को विकल्प हामीसँग छैन। मेट्रो रेल सञ्चालन गर्नका लागि सरासर काम हुँदा पनि हामीलाई १० वर्षभन्दा बढी समय लाग्छ। त्योबीचको समयमा सरकारले यातायातको सहज व्यवस्थापनका लागि हामीले माथि भने झैँ कम्पनी मोडलमा गएर सञ्चालन गर्नु अपरिहार्य छ।

सार्वजनिक यातायातको सहज र विश्वसनीय व्यवस्थापन नहुँदासम्म निजी सवारीको विकल्प वा यसलाई नियन्त्रण गर्न सकिँदैन र त्यो सम्भव पनि छैन। विदेशमा निजी सवारी नियन्त्रणका विभिन्न उपायहरू कोटा प्रणाली, गोलाप्रथा लगायतका उपाय अवलम्बन गरिँदै आएको छ। तर हाम्रो जस्तो सिस्टम नै नभएको ठाउँमा यस्तो विकल्पमा जान सकिँदैन।

निजी सवारी महँगो छ, करको दर संसारकै महँगो मध्यमा छ। तै पनि निजी कार र मोटरसाइकल किन्नैपर्ने बाध्यता आम मानिसमा छ। भारतमा कतिमा कार पाइन्छ, चीनमा कतिमा, अमेरिकामा कतिमा पाइन्छ भन्ने हाम्रा लागि चासोको विषय होइन। ३० लाख मूल्य तोकिएको कारमा ५० हजार छुट पाइयो भने पनि सस्तोमा पाइयो भन्नु पर्ने अवस्था छ। त्यसैले सार्वजनिक सवारी सहज नहुँदासम्म निजी सवारी विलासी नभइ अत्यावश्यक नै हो।

(लेखक यातायात विज्ञ हुन्।)

images

प्रकाशित : आइतबार, मंसिर २६ २०७८०६:५५

प्रतिक्रिया दिनुहोस
कार्यकारी सम्पादक

केदार दाहाल

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर

२८३८/०७८-७९

© 2024 All right reserved to biznessnews.com  | Site By : SobizTrend