काठमाडौं- नेकपा माओवादी केन्द्रका उपमहासचिव वर्षमान पुन अर्थमन्त्री बन्ने भएका छन्। सत्तारुढ पार्टीहरूबीचको भागबन्डामा माओवादीले अर्थ पाएपछि त्यसमा पुन अर्थमन्त्रीका रुपमा जाने भएका हुन्।
यसअघि पनि अर्थमन्त्री भइसकेका पुन फेरि अर्थ मन्त्रालयमा आउन लागेका हुन्। कांग्रेससँगको गठबन्धनमा अर्थमन्त्री आफ्नो पार्टीको वा आफूप्रति बफादार नहुँदा काम गर्न नसकिएको प्रधामन्त्री पुष्पकमल दाहाल प्रचण्डले गुनासो गर्दै आएका थिए।
चालु आर्थिक वर्षको बजेटमा समाजवाद शब्द नपरेको भन्दै निवर्तमान अर्थमन्त्रीको आलोचना माओवादीले गरेको थियो।
२०६४ सालमा पहिलोपटक सांसद निर्वाचित भएका पुन २०६७ सालमै शान्ति तथा पुनर्निर्माणमन्त्री भएका थिए। त्यस्तै २०६८ सालमा अर्थमन्त्री भएका पुन २०७४ मा ऊर्जा तथा जलस्रोतमन्त्री बनेका थिए।
माओवादीभित्र सफ्टलाइनर मानिने पुन प्रधानमन्त्री तथा माओवादी अध्यक्ष प्रचण्डका विश्वासपात्र मानिन्छन्। समन्वय गर्ने तथा कर्मचारी प्रशासनलाई विश्वासमा लिएर काम गर्ने नेताका रुपमा पुनलाई लिने गर्छन्।
यसअघि माओवादी नेता नै अर्थमन्त्री हुँदा गभर्नर महाप्रसाद अधिकारीलाई निलम्बन गर्ने निर्णयकाविरुद्ध पुनले खुलारुपमा बोलेका थिए। अहिलेका गभर्नरसँग पनि राम्रो व्यक्तिगत सम्बन्ध भएका पुनले सबैतिर समन्वयन गर्ने अनुमान गरिएको छ।
यद्यपि साँघुरो स्रोत र जनमुखी बजेट ल्याउने आफ्नो पार्टीको लाइनका बीचमा अर्थमन्त्री भएका पुनमाथि ठूलो चाप भने देखिएको छ।
शिथिल बनेको अर्थतन्त्र, कमजोर राजस्व संकलन र राजनीतिक माग पूरा गर्न आवश्यक धेरै स्रोतका बीचमा अर्थमन्त्रीका रुपमा आएका पुनमाथि अघिल्लोपटकको तुलनामा धेरै दबाब रहेको छ।
पुनलाई अर्थमन्त्रीका रुपमा स्वागत गर्नका लागि अर्थ मन्त्रालयका प्रत्येक महाशाखा अहिले रिपोर्टकार्डको तयारीमा रहेका छन्। अर्थसचिव कृष्णहरि पुष्करले सबै महाशाखा प्रमुख र विभागहरूलाई अहिलेको अवस्थाका बारेमा रिपोर्ट बनाएर तयारी अवस्थामा रहन निर्देशन दिइसकेका छन्।
नयाँ मन्त्रीलाई ब्रिफिङका लागि सबै महाशाखा तयारी अवस्थामा बसेका छन्।