बिहीबार , माघ ३ गते २०८१    
बिहीबार , माघ ३ २०८१
images
images

सीप सिकेर आयआर्जनमा जोडिए पूर्वकमलरी, जीविकोपार्जनमा सहज

images
बुधबार, फागुन २३ २०८०
images
images
सीप सिकेर आयआर्जनमा जोडिए पूर्वकमलरी, जीविकोपार्जनमा सहज
images
images

दाङ- घोराही उपमहानगरपालिका-२ निमुरियाकी दामी चौधरी पूर्वकमलरी हुन्। कमलरी बस्दा उनले धेरै दुःख भोगिन्। गुरधौली महिला कृषि समूहमा आबद्ध उनले समूहमा बसेर धेरै सीप सिकेकी छिन्।

images
images
images

समूहबाट सिकेका सीपलाई व्यवहारमा लागु गर्नुपर्छ भनेर बंगुरपालन, तरकारी खेती र घरमै नास्ता पसल सञ्चालन गरेको दामीले बताइन्। काम गर्न थालेपछि जीविकोपार्जनमा सहज भएको उनको भनाइ छ।

images

'म पूर्व कमलरी हुँ, अर्काको घरमा काम गर्न बस्दाको दुःख भनी साध्य छैन। यो संस्थाले हामीलाई मुक्ति दियो र बाँच्न सिकाएको छ', दामीले भनिन्, 'अहिले व्यावसायिक रुपमा काम गर्न थालेपछि आर्थिक रुपमा सबल बन्दै गएको छु।' समूहमा आबद्ध भएर ज्ञान सीप आर्जन गरी व्यवहारमा लागु गर्दै आएकी दामीले कमलरी जीवनबाट मुक्ति पाएपछि खुसी मिलेको बताइन्।।

images
images
images

घोराही-२ सुर्केडाँगीकी सन्तोषी चौधरीले अहिले व्यावसायिक रुपमा तरकारी खेती गर्दै आएकी छिन्। केही वर्षअघिसम्म उनले निर्वाहमुखी खेती गर्दै आएकी थिइन्। मुक्त कमलरी, विपन्न, असहाय महिलाको उत्थानका लागि पैरवी गर्दै आएको मुक्त कमलरी विकास मञ्चले उनको गाउँ टोलमा स्थापना गरेको जलजला महिला कृषि समूहमा सन्तोषी आवद्ध भएपछि व्यावसायिक तरकारी खेती थालेको बताइन्।

'पहिले निर्वाहमुखी खेती गर्दै आएको थिएँ। सीपसँगै व्यवहारिक पक्षका बारेमा जानकारी पाएपछि व्यावसायिक रुपमा खेती गर्न थालेको छु। कमाइ पनि राम्रो भएको छ। यसैबाट घरव्यवहार चलेको छ', सन्तोषीले भनिन्।

उनीजस्तै ३० जना महिला समूहमा आबद्ध भएर सीप सिक्ने, आत्मविश्वास जगाउने र वित्तिय साक्षरताका बारेमा सीपसँगै आवश्यक ज्ञान हासिल गरेर कृषि पेसामा जोडिएका छन्। संस्थामा जोडिएर व्यावसायिक तरकारी खेती गर्न थालेपछि सन्तोषी बाह्रै महिना खेतबारीमा व्यस्त हुन थालेकी छिन्।

घोराही-८ बेलुवाको सगरमाथा महिला समूहकी अध्यक्ष तिला चौधरीले मुक्त कमलरी विकास मञ्चले आफूहरुलाई काम गरेर आत्मनिर्भर हुन सिकाएको बताइन्। चौधरीले हिजोआज आफ्नो दैनिकी फेरिएको बताइन्।

उनले कमलरी जीवनमा भोगेका दुःख सम्झिन चाहँदिनन्। अहिले व्यावसायिक बाख्रा, कुखुरापालन र तरकारी खेतीमा जोडिएकी तिलालाई घरमा सबैको साथ मिलेको छ। उनले बनाएको खोरमा अहिले कुखुरा हुर्किरहेका छन्। तरकारी बिक्री गरेर आम्दानी हुन थालिसकेको छ।

मञ्च कमलरी जीवनबाट मुक्ति पाएका, गरिब तथा महिलाको उत्थानका लागि पैरवी गर्न स्थापित संस्थाले खेल्दै आएको भूमिकाका कारण समस्या समाधानसँगै आगामी योजनाका बारेमा अघि बढ्न सहज भएको तिलाको भनाइ छ।

पूर्वमुक्त कमलरीको अगुवाइमा विसं २०६७ मा सामाजिक संस्थाका रुपमा स्थापित मुक्त कमलरी विकास मञ्च एक दशकयता संगठित रुपमा दाङ, बाँके, बर्दिया, कैलाली, कञ्चनपुर जिल्लामा लक्षित वर्गको शिक्षा, सशक्तीकरण, जीविकोपार्जन तथा पुनःस्थापनालगायत हक अधिकारको सवालमा पैरवी गर्दै आएको छ।

मुक्त कमलरी सम्बन्धी गरिएका सम्झौता कार्यान्वयनका लागि सरकारसमक्ष निरन्तर रुपमा ध्यानाकर्षण गराउने काम गर्दै आएको मञ्चकी केन्द्रीय अध्यक्ष हिरामोती चौधरीले बताइन्। उनका अनुसार मुक्त कमलरी आर्थिक सामाजिक रुपमा सशक्त हुनुपर्छ भन्ने मान्यताका साथ पाँच जिल्लामा ४२ सहकारी र एक समूहमार्फत आयआर्जनका विभिन्न काम भइरहेका छन्।

सहकारीमा १४ हजार सात सय २१ जना सदस्य रहेका अध्यक्ष हिरामोतीले जानकारी दिइन्। सदस्यले सहकारीबाट घुम्ती कोष अनुदान सहयोग लिएर तरकारी खेती, कुखुरापालन, बंगुरपालन, किराना पसल र नास्ता पसल सञ्चालन गरेर आयआर्जन गर्दै आएका उनको भनाइ छ।

घोराही-२, ४ र ८ मा ‘आइएम स्वीडिस डेभलपमेन्ट पार्टनर’को साझेदारीमा मुक्त कमलरी तथा सामाजिक बहिष्कारमा परेका महिलाको सशक्तीकरणमा परियोजनामार्फत सीप सिकाउने काम भइरहेको छ। सोका लागि तीन वटा वडामा १३ महिला समूह गठन गरिएको छ। यसमा करिब चार सय बढी महिला दिदीबहिनी आवद्धता रहेका जनाइएको छ।

बालबालिकामा सचेतना बढाउन र भोलिको सुन्दर भविष्य निर्माणका लागि तीनै वडामा वडास्तरीय युवा क्लब पनि गठन गरिएको मञ्चकी केन्द्रीय अध्यक्ष हिरामोतीले जानकारी दिइन्। उनका अनुसार उक्त क्लबमार्फत बालविवाह अन्त्य, लैंगिक हिंसा निवारणका बारेमा सचेतना फैलाउने काम हुँदै आएको छ।

दुःखद् जीवन बिताउन बाध्य पारिएका कमलरीको जीवनमा परिवर्तन ल्याई सामाजिक रुपान्तरणमा मञ्चले महत्वपूर्ण भूमिका खेलेको घोराही-२ का वडाध्यक्ष चित्रबहादुर चौधरीले बताए। मञ्चले सिकाएका ज्ञान र सीपका कारण आज उनीहरु समाजका विभिन्न क्षेत्रमा स्थापित हुँदै गएका उनको भनाइ छ। रासस


प्रकाशित : बुधबार, फागुन २३ २०८०१५:२०

प्रतिक्रिया दिनुहोस
कार्यकारी सम्पादक

केदार दाहाल

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर

२८३८/०७८-७९

© 2025 All right reserved to biznessnews.com  | Site By : SobizTrend