काठमाडौं- सत्ता गठबन्धनका दलहरूबीचमा मन्त्रालयको भागबन्डामा सहमति जुटेको छ।
सत्तारुढ दलको बैठकमा सहभागी नेताहरूका अनुसार माओवादीले अर्थ र परराष्ट्र मन्त्रालयसहित ६, भौतिक पूर्वाधार तथा यातायातसहित ८ एमाले र गृहसहित ४ मन्त्रालय राष्ट्रिय स्वतन्त्र पार्टीले पाउने सहमति भएको हो।
अर्थमन्त्रीका रुपमा नेकपा माओवादी केन्द्रका उपमहासचिव वर्षमान पुन आउने भएका छन्। कांग्रेससँगको गठबन्धनमा कांग्रेस नेता प्रकाशशरण महत अर्थमन्त्री हुँदा आफूले काम गर्न नपाएको आफैले अर्थ लिने दाबी प्रधानमन्त्री पुष्पकमल दाहालले गर्दै आएका थिए।
आफ्नै पार्टीबाट बफादार नेतालाई अर्थमन्त्री बनाएपछि आफ्नो योजना अनुसारको बजेट ल्याउने तथा कार्यान्वयन गर्न सहज हुने उनको बुझाइ रहेको छ।
त्यस्तै माओवादीले परराष्ट्र र सञ्चार मन्त्रालय पनि लिने सहमति भएको छ।
राष्ट्रिय स्वतन्त्र पार्टीले गृह मन्त्रालयमा आफ्ना सभापति रवि लामिछानेलाई पठाउने तय भइसकेको छ। उसले गृहसहित श्रम, रोजगार तथा समाजिक सुरक्षा मन्त्रालय, शिक्षा र युवा तथा खेलकुद मन्त्रालय पाउने छ।
एमालेले भने भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयसहितका मन्त्रालय पाउने सहमति भएको छ।
मन्त्रालयको भागबन्डा नमिल्दा अझैसम्म मन्त्रिपरिषद्ले पूर्णता पाउन सकेको छैन। यसअघि नै तीनजना मन्त्रीले सपथ लिएपनि उनीहरुले अझै जिम्मेवारी पाएका छैनन्।