सोमबार, वैशाख २९ गते २०८२    
सोमबार, वैशाख २९ २०८२
images
images

स्थानीयमा जंगली जनावरको त्रास बढ्यो

images
मंगलबार, फागुन २२ २०८०
images
स्थानीयमा जंगली जनावरको त्रास बढ्यो

पर्सा राष्ट्रिय निकुञ्जका साथै राष्ट्रिय वन तथा जंगलबाट आउने बाघ, हात्ती लगायतका जंगली जनावर मानवबस्ती पसेर मानवीय तथा पशुचौपायालाई क्षति पुर्‍याउनुका साथै गहुँ, तरकारीबाली नाली नष्ट गर्न थालेपछि स्थानीय राति जाग्राम बस्न बाध्य भएका छन्।

images
images

वीरगञ्ज- पर्साको पटेर्वासुगौली-२ लक्ष्मीपुर निवासी २३ वर्षीय सरोज अधिकारीलाई गत बिहीबार बाघले आक्रमण गरी घाइते बनायो। बाघको आक्रमणमा परी टाउको, हात र शरीरको विभिन्न भागमा चोट लागेका अधिकारीको वीरगञ्जस्थित नारायणी अस्पतालमा उपचार भइरहेको छ।

images
images
images

पटेर्वासुगौली-२ थरकट्टी गाउँका ३२ वर्षीय मनोज महतो उराँवको गत पुस ८ गते साँझ बाघले आक्रमण गरी ज्यान लियो। साँझको समयमा शौच गर्न गएका उराँवको शव क्षत्विक्षत् अवस्थामा बिहान फेला परेको थियो। नेपाल प्रहरी र गाउँलेले जंगलदेखि करिब ५० मिटर टाढा बाघले मारेको अवस्थामा शरीरको केही भाग मात्र फेला पारेको थियो।

images
images

हिजो साँझ पर्साको जिराभवानी गाउँपालिका-४ मा बाघले पूर्ववडाध्यक्ष सुभाष राउतसहितका स्थानीयवासीको बाख्रालाई आक्रमण गरेको छ। सोही गाउँपालिका-ं५ हरैया पहाडीटोलस्थित राउतले पालेका चौपायालाई खोरभित्रै पसेर बाघ आक्रमण गरी मारेको बताए।

images
images

बाघले दुईवटा बाख्रालाई खोरमै मारेको र एउटा खसीलाई घिसारेर केही पर लगेको प्रहरी चौकी शंकरसरैयाले जनाएको छ।

यही फागुन १६ गते पर्सागढी नगरपालिका-७ निवासी ललन यादवको गोठमा राखेको सात वटा बाख्रा मारेको बाघले सोही राति पर्सागढी-१ कोलाभार निवासी मायादेवी मोक्तानको गोठमा रहेका चार बाख्रा खाएको थियो। 

गत कात्तिक ८ गते जंगली हात्तीले आक्रमण गर्दा पर्सागढी नगरपालिका-१ निवासी एकवाल हजराको मृत्यु भएको थियो। सोही राति ती हात्तीले सो गाउँका एक दर्जन स्थानीयवासीको घर भत्काएर अन्नबाली खाएको थियो।

विगत दुई महिनाको अवधिमा पटेर्वासुगौली, पर्सागढी र जिराभवानी गाउँपालिकामा बाघ र हात्तीको आक्रमणबाट दुई दर्जन भन्दाबढी व्यक्ति घाइते भएका र तीन दर्जन भन्दाबढी पशुचौपाया मारेको इलाका प्रहरी कार्यालय पटेर्वासुगौलीका प्रहरी निरीक्षक रामराजा केसरीले जानकारी दिए। योसँगै जिल्लाका विभिन्न गाउँबस्तीमा बाघ, हात्तीलगायत जंगली जनावरको आक्रमणबाट बर्सेनि सर्वसाधारणले ज्यान गुमाउँदै आएका उनको भनाइ छ।

जंगली जनावरको आक्रमणमा परी कतिपयको घटनास्थलमै मृत्यु हुने गरेको छ भने कतिपयको उपचार भए पनि घाउमा सङ्क्रमण भएर केही समयपछि मृत्यु हुने पाइएको प्रहरी निरीक्षक केसरीले बताए।

पर्सा राष्ट्रिय निकुञ्जका साथै राष्ट्रिय वन तथा जंगलबाट आउने बाघ, हात्ती लगायतका जंगली जनावर मानवबस्ती पसेर मानवीय तथा पशुचौपायालाई क्षति पुर्‍याउनुका साथै गहुँ, तरकारीबाली नाली नष्ट गर्न थालेपछि स्थानीय राति जाग्राम बस्न बाध्य भएका छन्। जिराभवानी, ठोरी, पटेर्वासुगौली, पर्सागढी र सखुवा प्रसौनी गाउँपालिकाका एकदर्जन गाउँका किसान जंगली जनावरबाट पीडित भएका छन्।

वन जंगलबाट आउने चित्तल, हात्ती, हरिण, निलगाई, बँदेल, बाँदर, भालु, मयूरलगायत जनावरले गहुँ, मकै, आलु, तोरीसहति पशुचौपायामाथि आक्रमण गर्न थालेपछि अन्नबाली र घरपालुवा पशुचौपाया जोगाउन जाग्राम बस्न बाध्य भएको ठोरी गाउँपालिकाका रञ्जित श्रेष्ठले बताए। राष्ट्रिय वनमा घेरवार नहुँदा दैनिकजसो आउने जंगली जनावरले बालीनली नष्ट पार्ने गरेको उनको भनाइ छ।

खासगरी रातिको समयमा आउने जंगली जनावरले गहुँबालीमा क्षति पुर्‍याउने गरेकाले क्षति न्यूनीकरणका लागि सो ठाउँमा मचान बनाएर निगरानी गरिरहेको जीराभवानी गाउँपालिकाका किसान शंकर महतोले बताए। रातिको समयमा आउने हात्तीलाई धपाउन किसानले पटका पड्काउने र अन्य जंगली जनावरलाई भगाउन टिन ठटाउने, हो-हल्ला गर्ने गरेको उनको भनाइ छ।

स्थापनाकालदेखि नै पर्सा राष्ट्रिय निकुञ्ज र राष्ट्रिय वनका जीवजन्तुले बर्सेनी उत्पात मच्चाँदै जनधनको क्षति पुर्‍याउँदै आएकले यसको नियन्त्रणमा ठोस् पहल गर्न सरकारसँग स्थानीयवासीले आग्रह गरेका छन्। 

जंगली जीवजन्तुको आक्रमणबाट आफूहरुको जीवन नै संकटमा परेको पटेर्वा सुगौलीका स्थानीय सुमन अधिकारीले बताए। 'कतिबेला जंगलबाट बाघ, भालु र हात्ती आउँछन् र आक्रमण गर्छन् भन्ने त्रासमा हामी बाँचिरहेका छौँ', उनले भने, 'जंगली जनावरका कारण नत स्वतन्त्र रुपमा हिँडडुल गर्न सकिन्छ, नत निर्धक्कपूर्वक घरमा सुत्न पाइरहेका छौँ।'

पटक-पटक जंगली जनावरको नियन्त्रणको लागि स्थानीयवासीबाट माग उठ्दै आए पनि सरकारीस्तरबाट कुनै पहल नभएको सुनाउँदै ठोरीका रामबहादुर श्रेष्ठले भने, 'हामीले जंगली जनावरको आतंक रोक्न धेरै पटक आवाज उठायौँ। अहिलेसम्म हाम्रो समस्या समाधान भएको छैन।'

जंगली जनावरले दिउँसै आक्रमण गर्न थालेपछि आजित भएका स्थानीयवासीले यसको दीर्घकालीन समाधानका लागि सरकारलाई दबाब दिन र आफू पनि सक्रिय रहन स्थानीय जनप्रतिनिधिसँग आग्रह गर्दै आएका छन्। 

जिल्लास्थित डिभिजन वन कार्यालयका प्रमुख हेमन्त साहले राष्ट्रिय वन जंगल आसपासको क्षेत्रमा जंगली जनावरले आतंक मच्चाउँदै आएको स्वीकार्दै समस्या समाधानका लागि पहल गरिरहेको बताए।

बजेट तथा आवश्यक कानुनको अभावले समग्र जंगल क्षेत्रमा घेरबार गर्न नसकिएपछि जंगली जनावरले बढी क्षति पुर्‍याउने क्षेत्रमा ठूलो खाल्डो खनेर तत्कालीन समस्या समाधान गर्न सकिने उनको भनाइ छ। 

कार्यालयमा बाघ व्यवस्थापनको उचित टोली नभएकाले समस्या निरन्तर बढेको साहले बताए। 'दीर्घकालीन समाधानका लागि सम्बन्धित निकायमा पत्राचार गरेका छौँ। बाघको उद्धार गर्ने दक्ष टोली (स्पेसल टिम) चितवन राष्ट्रिय निकुञ्जमा छन्', उनले भने, 'त्यहाँबाट टोली माग गरेका छौँ।'
 
टोली आइसकेपछि बाघको उचित व्यवस्थापन तथा उद्दारमा जुट्ने प्रमुख साहले जानकारी दिए। पर्सा राष्ट्रिय निकुञ्ज आधाभारका वाडेन रामचन्द्र खतिवडाले मानवबस्तीमा बाघ पसेर क्षति पुर्‍याउने गरेकाप्रति आफुहरु गम्भीर रहेको भन्दै तत्काल समस्याको समाधान खोज्ने प्रयास भइरहेको बताए। रासस


प्रकाशित : मंगलबार, फागुन २२ २०८०१३:१७

प्रतिक्रिया दिनुहोस
कार्यकारी सम्पादक

केदार दाहाल

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर

२८३८/०७८-७९

© 2025 All right reserved to biznessnews.com  | Site By : SobizTrend