बिहीबार , माघ ३ गते २०८१    
बिहीबार , माघ ३ २०८१
images
images

सीपमूलक तालिम लिएर आयआर्जनमा जोडिँदै महिला

images
आइतबार, फागुन २० २०८०
images
images
सीपमूलक तालिम लिएर आयआर्जनमा जोडिँदै महिला

विभिन्न संघसंस्था तथा स्थानीय पालिका र वडामार्फत प्रदान गरिँदै आएको सीपमूलक तालिम लिएर महिला पशुपालन, तरकारीखेती लगायतमा जोडिएर आर्थिक आयआर्जन गर्न सुरु गरेका हुन्।

images
images
गोरखा- सहिद लखन गाउँपालिकाका महिला सीपमूलक तालिम लिएर आयआर्जनमा जोडिन थालेका छन्। विभिन्न संघसंस्था तथा स्थानीय पालिका र वडामार्फत प्रदान गरिँदै आएको सीपमूलक तालिम लिएर महिला पशुपालन, तरकारीखेती लगायतमा जोडिएर आर्थिक आयआर्जन गर्न सुरु गरेका हुन्।
 
सहिद लखन-७, मास्कीछापकी रिता थापामगरले अहिले घर छेउमा बंगुरपालन सुरु गरेर वार्षिक चार लाख रूपैयाँभन्दा बढी आम्दानी गर्दै आएकी छिन्। गाउँपालिकासँगको समन्वयमा ‘एड्वान’ नामक गैरसरकारी संस्थाले प्रदान गरेको तालिम लिएर व्यावसायिक बंगुरपालन सुरु गर्नुभएकी थापामगरले अहिले यही व्यवसायबाट नियमित घरखर्च टरेको छ।
 
'कृष्ण पशुपक्षी फार्म दर्ता गरेर बंगुरपालन सुरु गरेको छौँ', थापामगरले भनिन्, 'अहिले फार्ममा तीन माउ र ११ पाठापाठी छन्, पाठापाठी बेचेर पनि राम्रो आम्दानी हुने गरेको छ।' बंगुरका पाठापाठी ३५ दिन हुनेबित्तिकै एउटाको छ हजारदेखि छ हजार पाँचसय रूपैयाँसम्ममा सजिलै बिक्री हुने भएकाले आयआर्जन राम्रो हुने गरेको उनले बताइन्।
 
व्यावसायिक तालिम लिएपछि बंगुरमा लाग्ने रोग, दानापानी खुवाउने तरिकालगायत बारेमा जानकारी प्राप्त भएकाले पाठापाठी हुर्काउनसमेत समस्या नभएको थापामगरले बताइन्। एउटा बंगुरले वर्षमा दुई पटकसम्म बच्चा जन्माउँछ। एकपटकमा १२/१३ सम्म बच्चा पाउने भएकाले तीन बंगुरपालन गरे पनि वर्षमा चार लाख रूपैयाँभन्दा बढी आम्दानी हुने उनले बताइन्।
 
थापामगर मात्र होइन उक्त गाउँपालिका-९ नाम्जुङकी रुपा सिंखडा पनि तालिम लिएर अहिले व्यावसायिक बाख्रापालन सुरु गरेर आयआर्जनमा जोडिएकी छिन्। गाउँपालिकासँगको समन्वयमा नेपाल दलित महिला उत्थान संघ (एड्वान) ले प्रदान गरेको व्यावसायिक तालिम लिएर बाख्रापालन सुरु गरेकी सिंखडाले अहिले उन्नत जातका बाख्रापालन सुरु गरेकी हुन्।
 
'बाख्रा पहिलेदेखि नै पाल्दै आएको हो, तर बाख्रा मर्ने नहुर्कने समस्या भएपछि अब पाल्दिन भनेर पनि छाडे', उनले भनिन्, 'पछि वडामै बाख्रापालन तालिम आएपछि तालिम लिएर फेरि पाल्न सुरु गरेको हो, अहिले राम्रो भएको छ।' बच्चालाई पढाउनेलगायत सबै घर खर्च अहिले बाख्रापालन व्यवसायबाट नै चलाउँदै आएको सिंखडाले बताइन्।
 
'एड्वानले महिलाका लागि वडामै आएर तालिम दिएपछि मैले १५ दिनको तालिम लिएकी हुँ', उनले भनिन्, 'त्यहीँ तालिमले अहिले मलाई व्यावसायिकरुपमा बाख्रापालन गर्न सहयोग पुगेको छ।' व्यावसायिक तालिमले आफूहरुलाई आर्थिकरुपमा विस्तारै आत्मनिर्भर बनाउने गरेको सिंखडाको भनाइ छ।
 
सो गाउँपालिकाभित्रका सबै वडामा एड्वानले अतिसिमान्तकृत, एकल तथा विपन्न महिलालाई सीपमूलक तालिमसँगै क्षमता अभिवृद्धि र नेतृत्व विकासका तालिम दिएपछि महिला आर्थिक आयआर्जनका लागि कृषि पेसामा जोडिन थालेका हुन्। एड्वानले सहिद लखन गाउँपालिका र गण्डकी गाउँपालिकाभित्र २४ कृषक महिला समूह गठन गरी उनीहरुको आयआर्जन वृद्धिमा सहयोग पुर्‍याउन कार्यक्रम सञ्चालन गर्दै आएको फिल्ड संयोजक कमल बसेलले जानकारी दिए। रासस


प्रकाशित : आइतबार, फागुन २० २०८०१५:११

प्रतिक्रिया दिनुहोस
कार्यकारी सम्पादक

केदार दाहाल

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर

२८३८/०७८-७९

© 2025 All right reserved to biznessnews.com  | Site By : SobizTrend