इलाम- संविधानसभा सदस्य विष्णुकुमारी राई आजभोलि कृषि कर्ममा व्यस्त छिन्। उनी बिहान-बेलुका भान्छाको कामबाहेक सबै समय सुपारीखेती स्याहारसुसारमा व्यस्त देखिन्छिन्। राजनीतिमा लाग्ने जोकोहीले केही समय छुट्याएर स्वरोजगारमूलक कृषि कर्म गर्नुपर्छ भन्ने मान्यता राख्दै आएकी उनले अहिले पूरै समय कृषिमा लगाएकी छिन्।
इलामको देउमाई नगरपालिका जन्मिएकी उनी पुरानो राज्यसत्ता परिवर्तन गर्ने भन्दै तत्कालीन नेकपा (माओवादी केन्द्र)ले सुरु गरेको सशस्त्र युद्धमा विसं २०५७ देखि होमिइन्। शान्ति प्रक्रियापछि माई नगरपालिका-९ बोरुङमा पार्टीकै नेता श्रीमान् राई ‘पवन किराती’ सँग जनवादी विवाह गरेपछि उनको कर्मभूमि फेरियो।
विसं २०६४ मा तत्कालीन नेकपाबाट समानुपातिकतर्फबाट संविधानसभा सदस्यमा निर्वाचित भएकी विष्णुकुमारीको पाँचवर्षे कार्यकाल त्यति उपलब्धिमूलक बन्न सकेन। संविधान बनाउन संविधानसभा गएकी उनी संविधान नै नबनी संविधानसभा विघटन भएपछि आफ्नो कर्मगाउँ बोरुङ फर्केर सुपारीखेतीमा लागेकी हुन्।
इलामको राजनीतिमा माओवादीको छुट्टै पहिचान बनाउन संघर्ष गरेकी उनी अहिले राजनीतिबाट अलग जस्तै बनेर सुपारीका बोट स्याहार्दै आएकी छिन्। उनले बोरुङमा व्यावसायिक सुपारीखेती थालेकी हुन्। पार्टीले लिएको नीतिअनुसार आर्थिक क्रान्तिका लागि कृषि कर्मतिर लागेको उनी बताउँछिन्।
कृषि प्रधान देश नेपालमा कृषिबाट देश विकास सम्भव रहेकाले आफू कृषि कर्मलाई प्राथमिकतामा राखेर अगाडि बढेको उनी बताउँछिन्। 'शान्ति प्रक्रिया सुरु भएदेखि नै कृषि कर्म गर्ने इच्छा थियो, संविधानसभा सदस्य भएपछि काठमाडौं नै बसाइ भयो, कृषिमा लाग्न पाइएन', उनले भनिन्, 'जब पहिलो संविधानसभा विघटन भयो, त्यसपछि कृषिबाट देश विकास सम्भव देखेकाले कर्मभूमिमा फर्केर कृषिको काम थालेको हुँ।'
उनले करिब ५० रोपनी क्षेत्रमा सुपारीखेती लगाएकी छिन्। उनको सुपारी बगानमा अहिले सुपारी फल्ने र हुर्कँदै गरेकासहित करिब आठ हजार सुपारीका बोट छन्। सुपारीखेती विस्तारमा अगुवाइ गरेकी विष्णुकुमारीले बोरुङलाई सुपारी गाउँका रुपमा चिनाउने गरी काम गर्ने सोच बनाएको बताइन्।
'अहिले केही सुपारीले उत्पादनसमेत दिन थालेको छ, केही उत्पादन दिने तयारीमा छ', उनले भनिन्, 'नयाँ बोट थप गरी अझ सुपारीखेती विस्तार गर्ने योजनामा छु, यस गाउँलाई सुपारी गाउँका रुपमा चिनाउने लक्ष्य छ।' विष्णुकुमारीले सुपारी उत्पादनबाट वार्षिक पाँच लाख रूपैयाँभन्दा बढी आम्दानी गर्दै आएकी उनले सुनाइन्।
व्यापारी बगानमा नै आएर खरिद गर्ने भएकाले उनलाई बजारको चिन्ता छैन। काँचो सुपारी बगानबाटै प्रतिकिलो ५० रूपैयाँका दरले बिक्री हुने गरेको उनले बताइन्। 'बहुवर्षे नगदे बाली सुपारीको एकै बोटबाट ५० किलोसम्म उत्पादन गर्न सकिन्छ, सुपारीले तरकारी र अन्य बालीलाई क्षति नपुर्याउने र छहारीको काम गर्ने भएकाले दोहोरो फाइदा लिन सकिन्छ', उनले भनिन्, 'यहाँका घरआँगनका डिलदेखि खेतबारी र पाखामा समेत सुपारी रोपेर आयआर्जन गर्न सकिन्छ।'
कम लगानी र मेहनत पनि थोरै लाग्ने भएकाले अन्य खेतीभन्दा सुपारीखेती गर्न सजिलो हुने उनको अनुभव छ। उनले सुपारीका साथै केराखेती, अम्रिसोखेती तथा गाई र भैँसीपालन गर्दै आएकी छिन्। उनको कृषिकर्ममा पति पवनको पनि राम्रै साथ छ। एक छोरासहित तीन जनाको घरपरिवार सञ्चालन गर्न सुपारीखेती नै पर्याप्त रहेको उनी बताउँछिन्।
'शान्ति प्रक्रियापछि हाम्रा धेरै सहयोद्धा पैसा कमाउन भन्दै विदेश जानुभयो, 'म त्यसलाई रोक्ने अभियानका साथ गाउँघरमा नै कृषि कर्ममा लागेकी हुँ', उनी भन्छिन्, 'नेपाल कृषिप्रधान देश हो, निरन्तरता दिएर लाग्ने हो भने कृषिबाटै मज्जाले कमाइ गर्न सकिँदो रहेछ।'
उनले सशस्त्र युद्धको बलमा नेपालको व्यवस्थामा परिवर्तन भए पनि उत्पीडित जनताको अवस्था परिवर्तन नभएकोप्रति भने चिन्ता व्यक्त गरिन्। नेपालको वर्गीय, जातीय, लैंगिक र भाषिक उत्पीडनका विरुद्ध आफूहरुले हतियार बोकेको स्मरण गर्दै उनले नेतृत्व कुनै न कुनै ठाउँमा चुकेको स्वीकार गरिन्। उनी अहिले नेकपा (माओवादी केन्द्र) को कोशी प्रदेश परिषद् सदस्य छिन्।
उनको कृषिकर्म देखेर त्यहाँका अधिकांश किसानलेसमेत सुपारीखेती सुरु गरेका छन्। बोरुङ, घलेटार, निरफुकलगायतका किसानले व्यावसायिक सुपारीखेती गर्दै आएका छन्। प्रमुख नगदे बालीका रुपमा किसानले सुपारीखेती गर्दै आएका छन्। व्यावसायिकरुपमा सुपारीखेती गर्न थालेपछि किसानको आयआर्जनको स्रोतसमेत बढेको उनको भनाइ छ। रासस