काठमाडौं- चितवनको भरतपुरमा बजेट अभावले निर्माण हुन नसकेको गौतम बुद्ध अन्तर्राष्ट्रिय क्रिकेट रंगशाला भरतपुर महानगरपालिकाले बनाउने भएको छ। महानगरले बिहीबार रंगशालाको थप पूर्वाधार निर्माणका लागि टेन्डर आह्वान भएको हो।
महानगरपालिकाले ३० दिनको म्याद राखेर १ अर्ब १० करोड रुपैयाँको ठेक्का आह्वान गरेको हो। सुरुमा यो रंगशाला निर्माण कलाकार सिताराम कट्टेल र कुञ्जना घिमिरेको धुर्मस सुन्तली फाण्डेशनले सुरु गरेको हो। बजेट अभावका कारण निर्माण प्रक्रियालाई निरन्तरता दिन नसकेपछि अब महानगरले बनाउन लागेको छ।
हालसम्म ५ हजार दर्शक बस्ने प्याराफिट तयार भइसकेको छ। त्यस्तै मैदानसहित ५ वटा पिच, मैदानमा ड्रेनऐजसहित पछिल्लो प्रविधि अपनाएर मैदान निर्माण, २ वटा ३ /३ तलाको टावर बनाइने छ।
एउटामा भीआईपी र खेलाडी रहनेछन् भने अर्कोमा मिडिया, अम्पायर र कर्पोरेट बक्सहरु हुनेछन्। यस्तै गेट, कम्पाउण्डवाल लगायतका थप पूर्वाधार पनि यही भित्र बन्ने छ।
यसअघि रंगशालासम्बन्धी नै कामकाज गरेको ५८ करोडभन्दा बढी टर्नओभर गरेको अनुभवी ठेकेदार कम्पनीले आवेदन दिन सक्ने टेन्डर मापदण्डमा राखिएको छ।
भरतपुर महानगरपालिका र बागमती प्रदेश सरकारबीच यसअघि रंगशाला निर्माण गर्ने सम्झौता भएको थियो। अलपत्र अवस्थामा रहेको रंगशालाको काम लागत साझेदारीमा गर्ने विषयमा बागमती प्रदेशको मुख्यमन्त्रीसँग महानगरले सहमति गरेको थियो।
बागमती प्रदेशका मुख्यमन्त्री शालिग्राम जमकट्टेलको संयोजकत्वको बैठकले प्रदेश सरकारले ७० प्रतिशत र भरतपुर महानगरपालिकाले ३० प्रतिशत लागत साझेदारीमा रंगशालाको काम अघि बढाउने निर्णय गरेको थियो। बैठकले भरतपुर महानगरपालिकाले पहिलो चरणमा गर्नुपर्ने कामका लागि तयार गरेको लागत अनुमान ७५ करोड रूपैयाँ बराबरको काम लागत साझेदारीमा महानगरपालिकाले अघि बढाउने गरी निर्णय गरिएको हो।
भरतपुर महानगरपालिका-१५ मा गौतमबुद्ध अन्तर्राष्ट्रिय क्रिकेट रंगशालाको काम रोकिएको दुई वर्षभन्दा बढी भएको छ। धर्मुस (सीताराम कट्टेल) सुन्तली (कुञ्जना घिमिरे) फाउन्डेसनले २० बिघा ६ कठ्ठा जग्गामा निर्माण थालेको क्रिकेट रंगशालाको काम रकम अभावमा २०७८ साउन २० गते रोकिएको थियो।
फाउन्डेसनले रंगशालाको स्वामित्व लिइदिन अनुरोध गर्दै भरतपुर महानगरलाई पत्र पठाए पनि हालसम्म निर्माणमा लागेको १८ करोड ४३ लाख रूपैयाँ ऋण कसले तिर्ने भन्ने टुंगो लाग्न सकेको छैन।
रंगशाला निर्माणमा हालसम्म फाउन्डेसनले ५७ करोड ९२ लाख ८५ हजार सात सय ३८ रूपैयाँ खर्च भएको जनाएको छ। त्यसमध्ये १८ करोड ४३ लाख रूपैयाँ ऋण छ। फाउन्डेसनले बक्यौता तिर्न बाँकी राखेर काम छाडेकाले यसलाई अघि बढाउन अप्ठ्यारो परेको थियो।