बुधबार, वैशाख ३१ गते २०८२    
बुधबार, वैशाख ३१ २०८२
images
images

कृषिबाली हरियाली पार्न साँगाचोकगढीमा ‘पोखरी योजना’

images
मंगलबार, फागुन १५ २०८०
images
कृषिबाली हरियाली पार्न साँगाचोकगढीमा ‘पोखरी योजना’
images
images

चौतारा- सिन्धुपाल्चोकको चौतारा साँगाचोकगढी नगरपालिका-११ ले हिउँद र वर्षा दुवै मौसममा कृषि क्षेत्रलाई हरियाली राख्ने उद्देश्यले ‘पोखरी योजना’ को सुरुवात गरेको छ।

images
images
images

प्रारम्भिक चरणमा वडाको बीच भागमा एउटा बृहत् पोखरी निर्माण गरिएको छ। जहाँ एक करोड लिटरभन्दा बढी पानी अट्छ। टारी खेतबारीलाई लक्षित गरेर बर्सातमा रोपाइँ गर्न ठाउँठाउँमा स-साना पोखरी निर्माण गरिएको वडाअध्यक्ष रोशनराज गिरी बताउँछन्।

images
images

त्यसैगरी, करेसाबारीका लागि घरको छतबाट खसेको पानी संकलन गर्ने घरैपिच्छे पोखरी तयार गरिएको छ। प्रत्येक टोलमा भैँसी आहाल बस्ने पोखरी बनाइएको वडाध्यक्ष गिरी बताउँछन्।

images
images

पानीको मूल र मुहानको प्रकृति जीवित राख्न वडाभर पाँच सयवटा साना-ठूला पानी पोखरी बनाइएको छ। यस आर्थिक वर्षमा वडामा आएको ८५ लाख रूपैयाँ बजेटमध्ये ६० लाख रूपैयाँ कृषिमा विनियोजन गरिएको उनले बताए।

जंगलमा झरेको पात संकलन गर्न एक सयवटा खाल्डो तयार गरिएको छ। १० भन्दा बढी पोखरी घाँसको साइलेजका लागि बनाइएको छ। बर्सातमा काटेको घाँस हरियो राख्ने प्रविधि साइलेज हो।

बर्सादभर जम्मा गरेको पानी हिउँदमा प्रयोग गरिन्छ। अहिले वडामा टनेल र ग्रिन हाउस निर्माण भइरहेको बताउँदै वडाध्यक्ष गिरी भन्छन्, 'पशुपालन र हिउँदे तरकारीबाट किसानलाई आम्दानी बढी दिने लक्ष्य लिइएको छ।'

किसानलाई मानसिकरुपमा कृषि कर्ममा तयार गर्नका लागि वडाअध्यक्ष  किसानसँग भेटघाट गर्ने, विकास निर्माणमा श्रमदानलाई प्राथमिकता दिने र पशुपालन एवम् कृषिमार्फत गाउँलाई समृद्ध बनाउने खाका कोरिरहन्छन्। त्यसैले त अध्यक्ष गिरीले अनुदानलाई भन्दा पनि उत्पादनलाई बढी जोड दिएको पाइन्छ।

वडाध्यक्षले बाख्रा वितरणलाई प्राथमिकतामा राखेका छन्। केही सीमित किसानलाई बाख्रा वितरण गर्ने र ती बाख्राबाट उत्पादन भएकालाई पुनः अर्को किसानलाई वितरण गर्दै जाने उनको योजना रहेको छ। यो क्रमले सीमित स्रोतबाट सबै किसान लाभान्वित हुनुका साथै सबै किसान छोटो समयमै पशुपालनमा आत्मनिर्भर हुने अध्यक्ष गिरीको विश्वास छ। रासस 


प्रकाशित : मंगलबार, फागुन १५ २०८०१३:०१

प्रतिक्रिया दिनुहोस
कार्यकारी सम्पादक

केदार दाहाल

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर

२८३८/०७८-७९

© 2025 All right reserved to biznessnews.com  | Site By : SobizTrend