शुक्रबार, मंसिर ७ गते २०८१    
images
images

निर्माणमा मन्दीको मार सिमेन्ट उद्योगलाई, नीतिगत कडाइ र घट्दो सार्वजनिक खर्चले कसरी बिग्रिँदैछ औद्योगिक चक्र?

images
मंगलबार, फागुन १५ २०८०
images
images
निर्माणमा मन्दीको मार सिमेन्ट उद्योगलाई, नीतिगत कडाइ र घट्दो सार्वजनिक खर्चले कसरी बिग्रिँदैछ औद्योगिक चक्र?

सिमेन्ट उद्योगमा अहिले पनि कर्मचारीको तलब, बैंकको ऋणको किस्ता तथा ब्याज र डिप्रिसेसनबापतको लागत भने निरन्तर रहँदा समस्या परेको व्यवसायीहरूको भनाइ छ। अहिले सिमेन्टलगायत निर्माणजन्य सामग्री उत्पादन उद्योग नै समस्यामा परेका छन्।

images
images

काठमाडौं- निर्माण क्षेत्रमा देखिएको मन्दीको चर्को असर सिमेन्ट उद्योगहरूले ब्यहोरेका छन्। सार्वजनिकसँगै निजी निर्माणको काम सुस्त हुँदा सिमेन्ट उद्योगको व्यापार पनि खस्किँदै आएको छ। 

images
images
images

बजारमा माग घटेसँगै सिमेन्टको उत्पादनमा ३० देखि ४० प्रतिशतसम्म गिरावट आएको छ। उत्पादन र बजार माग घट्दा सिमेन्ट उद्योग वित्तीय संकटोन्मुख छन्।

images

आर्थिक वर्ष २०७८/०७८ वर्षसम्म नाफामा रहेका सिमेन्ट उद्योग २०७९/८० देखि नै घाटामा जान थालेका छन्। कतिपय सिमेन्ट उद्योग त चालु आव २०८०/०८१ को ६ महिनामै आधा अर्ब घाटामा गइसकेका छन्। 

images

सम्राट सिमेन्टले २०७७/०७८ मा ३ अर्ब ७० करोड ४० लाख रुपैयाँ बराबरको आम्दानी गरेको थियो। यसैगरी ०७८/०७९ मा ४ अर्ब ८७ करोड ५० र ०७९/०८० मा ३ अर्ब ३७ करोड ५० लाख रुपैयाँको आम्दानी गरेको छ। कम्पनीको आम्दानी घट्दो छ।

यसैगरी प्रिमियममा सेयर जारी गरेको सोनापुर सिमेन्ट उद्योगको पनि आम्दानी घटेको छ। कम्पनीले २०७६/०७७ मा २ अर्ब ६६ करोड ९० लाख रुपैयाँबराबरको आम्दानी गरेको थियो।

यसैगरी ०७७/०७८ मा कम्पनीले २ अर्ब ९२ करोड २२ लाख, २०७८/०७९ मा २ अर्ब ३७ करोड ५० लाख र २०७९/०८० मा १ अर्ब ८० करोड १ ० लाख रुपैयाँ आम्दानी गरेको छ। कम्पनी चालु आवको पहिलो त्रैमासिकदेखि नोक्सानीमा गइसकेको छ। 

यसैगरी २०७५/०७६ मा ७ अर्ब ५० करोड ४० लाख रुपैयाँ आम्दानी गरेको मारुती सिमेन्टले आर्थिक वर्ष ०७६/०७७ मा ५ अर्ब ६३ करोड १० लाख, ०७७/०७८ मा ६ अर्ब ८६ करोड ५० लाख, ०७८/०७९ मा ४ अर्ब ९७ करोड ७० लाख रु ०७९/०८० मा ४ अर्ब २४ करोड ३० लाख रुपैयाँ आम्दानी गरेको छ।

शिवम सिमेन्टको पनि आम्दानी घट्दो छ। शिवम सिमेन्टले आर्थिक वर्ष २०७८/०७९ मा ९ अर्ब २६ करोड ३ लाख रुपैयाँ सिमेन्ट बिक्री गरेर आम्दानी गरेको थियो। तर गत आव २०७९/०८० मा भने जम्मा ७ अर्ब ७५ करोड २६ लाख रुपैयाँमात्रै आम्दानी गरेको छ।

यसैगरी घोराही सिमेन्टले आर्थिक वर्ष ०७८/०७९ मा ४ अर्ब ८० करोड १५ लाख रुपैयाँ सिमेन्ट बिक्री गरे आम्दानी गरेको थियो। आर्थिक वर्ष ०७९/८० मा जम्मा ४ अर्ब ६२ करोड ५४ लाख रुपैयाँ आम्दानी गरेको थियो। यो सिमेन्ट उद्योगको पनि आम्दानी घट्दो छ। चालु आवको दोस्रो त्रैमासिक रिपोर्टअनुसार कम्पनी घाटामा गइसकेको छ।

सर्वोत्तम सिमेन्टको पनि आम्दानी घटेको छ। सर्वोत्तमले आर्थिक वर्ष ०७८/०७९ मा कम्पनीले सिमेन्ट बिक्री गरेर ७ अर्ब ८८ करोड १४ लाख रुपैयाँ आम्दानी गरेको थियो। तर आर्थिक वर्षमा ५ अर्ब ३८ करोड २ लाख रुपैयाँ मात्रै आम्दानी गरेको छ।

सिमेन्ट उद्योगको उत्पादन घटेसँगै आम्दानीमा गिरावट आएको सिमेन्ट उत्पादक संघका अध्यक्ष ध्रुव थापा बताउँछन्। क्लिंकर किनेर ग्रान्डिङ मात्रै गर्ने कतिपय उद्योग बन्द नै भइसकेका छन्। उद्योग बन्द हुनेक्रम अझै रहने उनको भनाइ छ।

एक त विकास निर्माणको काम सुस्त भएको छ भने अर्कोतर्फ आवासीय घर निर्माणसमेत रोकिँदै जाँदा सिमेन्टको माग घटेको हो। उत्पादनमा गिरावटसँगै कुनै पनि सिमेन्ट उद्योग पूर्ण क्षमतामा सञ्चालन हुन सकेका छैनन्।

'बजारमा सिमेन्टको माग नै घटेको छ। सिमेन्टको माग घटेसँगै क्लिंकर उत्पादनमा गिरावट आएको हो,' एक उद्योगीले भने, 'सिमेन्टको व्यापार घटे पनि उद्योगको खर्च नियमित रहँदा आर्थिकरुपमा संकट उत्पन्न हुने अवस्था आएको छ।'

नेपालमा अहिले ५ दर्जनको हाराहारीमा सिमेन्ट उद्योग सञ्चालनमा रहेका छन्। तर बजार माग घटेसँगै एकाध उद्योग महिनामा १५ देखि २० दिनमात्रै सञ्चालनमा छन्। अधिकांश उद्योगको उत्पादन नै बन्द भइसकेका छन्। आफै क्लिंकर पनि उत्पादन गर्ने र ग्रान्डिङ गरेर सिमेन्ट उत्पादन गर्ने उद्योग ३० प्रतिशतको क्षमतामा सञ्चालन भएपनि ग्रान्डिङ मात्रै गर्ने सिमेन्ट उद्योग अहिले बन्द भइरहेको व्यवसायीहरु बताउँछन्।

नेपाली उद्योगबाट दैनिक ३७ हजारदेखि ४० हजार मेट्रिक टन क्लिंकर उत्पादनको क्षमता भएपनि अहिले मुस्किलले दैनिक २५ हजार मेट्रिक टनमात्रै उत्पादन भइरहको छ। 

उत्पादन भएका क्लिंकर पनि केही त उद्योगमा स्टक रहेको एक व्यवसायीले बताए। क्लिंकर उत्पादनमा गिरावट आउनु भनेको सिमेन्टको उत्पादनमा कमी आउनु हो। तर उद्योगको लागत खर्च भने नघटेको एक व्यवसायीले बताए। सिमेन्ट उद्योगबाट सिमेन्ट नै उत्पादन नभएको अवस्थामा पनि ३५ प्रतिशत लागत खर्च भइरहने व्यवसायीहरूको भनाइ छ।

सिमेन्ट उत्पादक संघका अध्यक्ष थापाले सिमेन्टको माग अस्वभाविक रुपले घट्दा उत्पादन उद्योगहरूमा आर्थिक संकटको अवस्था आएको बताए। 'बजारमा सिमेन्टको माग नै घटेको छ। माग घटेपछि उत्पादन पनि स्वत: घटेको छ,' थापाले भने, 'तर सिमेन्ट उद्योगको दैनिक हुने लागत खर्च यथावत् रहँदा उद्योगीहरूलाई आर्थिक समस्या आएको हो।'

सिमेन्ट उद्योगमा अहिले पनि कर्मचारीको तलब, बैंकको ऋणको किस्ता तथा ब्याज र डिप्रिसेसनबापतको लागत भने निरन्तर रहँदा समस्या परेको व्यवसायीहरूको भनाइ छ। अहिले सिमेन्टलगायत निर्माणजन्य सामग्री उत्पादन उद्योग नै समस्यामा परेका छन्। अहिले स्टिल उद्योहरू पनि आर्थिक संकटउन्मुख रहेका छन्।

के कारण घट्यो सिमेन्टको माग?

कोरोना महामारीपछिको प्रभाव न्यून हुनेबित्तिकै उठ्न खोजेको अर्थतन्त्रमा क्षेत्रगत शिथिलता गएको वर्षदेखि नै सुरु भएको थियो। सुरुदेखि नै प्रभावित हुने क्षेत्र हो- निर्माण तथा घरजग्गा। भुक्तानी सन्तुलनमा दबाब पर्नेवित्तिकै नेपाल राष्ट्र बैंकले गत वर्षदेखि कर्जा नीतिमा कडाइ गर्दै आएको छ।

यसको पहिलो मार घरजग्गा कारोबारमा पर्‍यो। घर जग्गाको कारोबार मात्र होइन नयाँ निर्माण पनि प्रभावित भयो। यही कारणले समग्र रियलस्टेट क्षेत्रमा सुरुदेखि नै मन्दी अर्थात् वृद्धिदर ऋणात्मक भएको थियो। यसको प्रभाव उद्योगमा पनि पर्‍यो। उद्योगी व्यवसायीहरूमाझ गरिएको एउटा सर्वेक्षणअनुसार निर्माणसँग सम्बन्धित अधिकांश उद्योगको माग गत वर्षकोभन्दा धेरै घटेको छ। 

नयाँ घरको निर्माण, विस्तार सबै रोकिँदा निर्माणसँग सम्बन्धित सबै उद्योगमा नकारात्मक प्रभाव देखिएको छ। निर्माणसँगै सम्बन्धित इन्जिनियरिङ उद्योगको माग पनि घटेको छ। प्रमुख कारण गत वर्षदेखि नै ऋण विस्तार प्रभावित भयो। यही कारणले नयाँ गतिविधि लगभग ठप्पै भए र यसबाट निजी विकास निर्माण प्रभावित भयो। योसँगै सरकारी तथा सार्वजनिक विकास निर्माणले पनि गति लिएन। जुन समस्या आज पनि निरन्तर नै छ।

सार्वजनिक विकास निर्माणको काम पनि लगभग पछिल्लो ८/९ महिनादेखि ठप्प छ। विकास निर्माण हुने समयमै भएन। यसको प्रभाव निर्माण उद्योगमा परिहाल्यो। त्यही कारणले गर्दा समग्र उद्योगको उत्पादकत्व टीठलाग्दो अवस्थामा पुगेको हो।

बैंकहरू ऋण दिनै नसक्ने र दिए पनि महँगो ब्याजमा मात्र दिने भएपछि व्यक्तिगत तथा संस्थागत निर्माणको काम पनि प्रभावित एक व्यवसायीको भनाई छ। गत वर्ष नै निर्माण उद्योग ३५ प्रतिशतले घटेको र यो ऋणात्मक यात्रा अझै जारी रहने व्यवसायीहरूको भनाइ छ।

निर्माण क्षेत्रको संकुचन हुँदै जाँदा अर्थतन्त्रका अन्य क्षेत्रमा चक्रीय प्रभाव पार्दै जाने विज्ञहरूको भनाइ छ। निर्माण क्षेत्रको संकुचन अर्थतन्त्रका लागि सबैभन्दा हानिकारक हुने अर्थशास्त्रीहरू बताउँछन्।

निर्माणजन्य उद्योगमा देखिएको समस्याका कारण दैनिक ज्यालादारीमा काम गरिरहेका निर्माण क्षेत्रमा मजदूरको रोजीरोटीसमेत गुम्न थालेको छ। नेपालमै रोजगारीको अवसर नपाएपछि मजदूरहरूले वैदेशिक रोजगारीलाई रोज्न थालेका छन्।


प्रकाशित : मंगलबार, फागुन १५ २०८०१४:१०

प्रतिक्रिया दिनुहोस
कार्यकारी सम्पादक

केदार दाहाल

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर

२८३८/०७८-७९

© 2024 All right reserved to biznessnews.com  | Site By : SobizTrend