काठमाडौं- नेपाल राष्ट्र बैंकका गभर्नर महाप्रसाद अधिकारीले विगतमा बैंक तथा नियामक दुवै पक्षबाट केही गल्ती भएको बताएका छन्।
बैंकर्स संघले आयोजना गरेको कार्यक्रममा बोल्दै अधिकारीले विगतमा गरिएको मूल्यांकनको आधारमा दिइएको कर्जा र अहिले उत्पादन घटेको समयमा केही फरक परे पनि धेरै ठूलो समस्या नभएको बताए।
अर्थतन्त्र लयमा देखिएपनि अझै पनि समस्याहरू बाँकी रहेको उनले बताए। राष्ट्र बैंकले नीतिगत व्यवस्थामात्र गर्ने र कार्यान्वयन बैंकहरूले गर्ने भएकाले राष्ट्र बैंकले यसमा सुपरीवेक्षणमात्र गरेको उनको भनाइ छ।
यद्यपि यसमा केही कमजोरी विगतमा भएपनि संरचनागत समस्या नआएको उनको भनाइ छ। राष्ट्र बैंकको नीतिगत कडाइका कारणले बैंकहरूको वास्तविक अवस्था बाहिर आएको र भविष्यका लागि यो राम्रो भएको उनको भनाइ छ।
‘बैंकको रियालिस्टिक पिक्चर बाहिर आएको छ। चालुपुँजी कर्जासम्बन्धी मार्गनिर्देशन र कर्जा एभरग्रिनिङ नपाउने व्यवस्थाले गर्दा खराब कर्जा बढेको हो’ उनले भने।
असल नियमनकै कारणले वास्तविक धरातलको पहिचान भएको र यसबाट दिगो प्रणालीको विकास हुने उनको भनाइ छ।
सहकारी क्षेत्रमा देखिएको समस्याले पनि बैंकिङमा प्रहार गरेको र सहरकारीको समस्या समाधानका लागि आफूहरूले सुझाव दिनुपर्ने ठाउँमा दिएको उनको भनाइ छ।