काठमाडौं- झापाको दमकमा सरकारी जग्गा व्यक्तिको नाममा गरेको अभियोगमा अख्तियार दुरुपयोग अनुसन्धान आयोगले १७२ जनाविरुद्ध मुद्दा दर्ता गराएको छ।
झापाको दमकको रतुवा र दिपिनी खोलाको दोभानबाट उत्तर तर्फको विभिन्न कित्ताको ३९७ रोपनी ८ आना १ पैसा ३ दाम सरकारी जग्गा व्यक्तिका नाममा पर्याएको भन्दै अख्तियारले सो प्रक्रियमा संलग्न कर्मचारीहित १७२ जनाविरुद्ध विशेष अदालतमा मुद्दा दर्ता गराएको हो।
२०२१ सालको शुरु नापीमा सरकारी सार्वजनिक भएको फिल्डबुक र जग्गाधनी दर्ता श्रेस्ताबाट देखिएकोमा उक्त कित्ताहरु नापी कार्यालय, चन्द्रगढी, झापा, मालपोत कार्यालय, दमक, झापा र नापी कार्यालय, दमक, झापाबाट पुन:नापीका बखत विभिन्न व्यक्तिहरुको जग्गामा घुसाई हालसाविक प्रक्रियाबाट जग्गादर्ता भएको अख्तियारको अनुसन्धानबाट पाइएको छ।
जग्गा (नाप जाँच) ऐन, २०१९ को दफा ६ को उपदफा (६ग) र जग्गा (नाप जाँच) नियमावली, २०५८ को नियम १५ उपनियम (५) बाट समेत साविकमा सरकारी वा सार्वजनिक जग्गा जनिई नापजाँच भएको कुनै जग्गा कसैले आवाद, कमोद वा घरबास गरी भोग गरेको भए पनि नाप जाँच गर्दा त्यस्तो जग्गा साविक बमोजिम नै सरकारी वा सार्वजनिक जग्गाको रुपमा दर्ता गर्नुपर्ने देखिँदा उक्त ऐन र नियमावली विपरित सरकारी सार्वजनिक जग्गा हालसाविक जग्गा दर्ता प्रक्रियाबाट व्यक्ति विशेषको जग्गामा घुसाई दर्ता गरेको अख्तियारले उल्लेख गरेको छ।
अख्तियारले जग्गाको विगो मूल्यांकन ३४ करोड ६६ लाख ५४ हजार ८४९ रुपैयाँ गरेको छ।
अख्तियारले नापी कार्यालय, चन्द्रगढी, झापाका कर्मचारीहरु १० जना, मालपोत कार्यालय, दमक, झापाका कर्मचारीहरु ११ जना, नापी कार्यालय, दमक, झापाका कर्मचारीहरु ७ जना, सरकारी सार्वजनिक जग्गा गैह्रकानूनी तरिकाले हालसाविक जग्गादर्ता प्रक्रियाबाट आफ्नो जग्गामा घुसाई दर्ता कायम गरेका सुरु जग्गा दर्तावाला ३६ जनाविरुद्ध विगो र जरिवानासहितको सजाय माग गरेको छ। त्यस्तै १०८ जनाविरुद्ध विगो असुलउपरको माग गर्दै मुद्दा दायर गरेको छ।