काठमाडौं- पछिल्लो समय प्राय सबै निर्माण क्षेत्रका कम्पनीहरूको वित्तीय विवरण खराब भइरहेको छ। मागमा आएको संकुचनले गर्दा वित्तीय अवस्था खराब भएको छ।
मारुती सिमेन्ट उद्योगोको पनि वित्तीय अवस्था कमजोर बन्दै गएको देखिएको छ। यसै पनि मागमा आएको कमीले व्यापार घटिरहेको र त्यसमाथि बिजुलीको बक्यौताले गर्दा अवस्था झन खराब भएको हो।
क्रेडिट रेटिङ एजेन्सी इक्रा नेपालले मारुती सिमेन्टको रेटिङलाई ‘वाचलिस्ट’ मा राखेको छ। कुनै पनि कम्पनीमा आउने आकस्मिक बदलाबले सिर्जना गर्ने वित्तीय दायित्वले समग्र स्थायित्वमा पार्ने प्रभावलाई लिएर वाचलिस्टमा राखिन्छ। मारुतीलाई नेगेटिभ वाचलिस्टमा राखिएको छ।
ऋणको दायित्व बहन गर्नसक्ने समग्र क्षमतामा तत्कालीन रुपमा प्रभाव पार्ने र त्यसको तत्काल समाधानको उपाय छैन भने त्यस्तो कम्पनीलाई यस्तो लिस्टमा राखिन्छ। मारुती सिमेन्टको रेटिङ 'त्रिपल बी डाउनवार्ड' गरिएको छ।
पछिल्लो समय यो उद्योगका नाममा नेपाल विद्युत प्राधिकरणले ९७ करोड ८० लाख रुपैयाँ बिजुलीको बक्यौता निर्धारण गरिदिएपछि दायित्व थपिएको र यसले गर्दा वित्तीय अवस्था खराब हुने संकेत देखिएको छ।
सिमेन्ट उत्पादनको इनपुट लागत बढेको तर निर्माण क्षेत्र शिथिल हुँदा सिमेन्टको बजार बढ्न नसकेको समयमा करिब एक अर्बको दायित्व थपिँदा वित्तीय अवस्था खराब भएपनि आईपीओबाट सुधार हुने अपेक्षा गरिएको छ।
पछिल्लो दुई वर्षदेखि मारुतीको व्यापार निरन्तर घटिरहेको छ। अघिल्लो वर्ष ४ अर्ब ९७ करोडको सिमेन्ट बिक्री गरेको कम्पनीले गत वर्ष ४ अर्ब २४ करोडकोमात्र गरेको थियो।
बिक्री आम्दानीसँगै मार्जिन पनि घटेको छ। २० प्रतिशतको अनुपातमा मार्जिन राख्दै आएको कम्पनी अहिले ७ प्रतिशतमा सीमित भएको छ। आम्दानीको हिसाबले मन्दीमा चलेको कम्पनीमाथि झन्डै एक अर्बको वित्तीय दायित्व थपिएपछि ऋण बहन गर्नसक्ने क्षमतामा ह्रास आएको हो।
कम्पनीको वित्तीय अवस्था कमजोर भएसँगै अरुजस्तै गरी फेरिपनि सर्वसाधारणलाई सेयर जारी गरेर वित्तीय अवस्थामा सुधार ल्याउने र नोक्सानीको बाँडफाँट गर्ने रणनीतिमा मारुती पनि जाने देखिएको छ।