काठमाडौं- वाणिज्य, आपूर्ति तथा उपभोक्ता संरक्षण विभागले खान अयोग्य तथा लेबल नभएका ४ हजार ७ सय ९० किलो छोकडा नष्ट गर्ने भएको छ।
विभागले आयात प्रतिबन्ध हुँदा पनि अवैध रुपमा आयात भइरहेको छोकडा बजार अनुगमनका क्रममा जफत गरेको थियो। जसमध्ये ल्याब परिक्षणपछि खान अयोग्य छोकडा जति नष्ट गर्ने तयारी गरेको छ। खान योग्य छोकडाको विषयमा भने कसरी व्यवस्थापन गर्ने भन्नेमा विभागले छलफल गरिरहेको छ।
विभागले कालिका कुरियर्स एण्ड काग्रो सानेपाबाट ४८ सय बोरा (२४ किलो), एभ्रिटाइक फुड काँडाघारीबाट १०.८ बोरा (५ सय ४० किलो), चोभार कोल्ड स्टोर दक्षिणकालीबाट १५ बोरा (७ सय ५० किलो) र बिन्दु मसला ट्रेडर्स टोखाबाट २२ बोरा (११ सय किलो) गरी कुल ४ हजार ७ सय ९० किलो छोकडा जफत गरी शिल गर्दै कालिकाबाहेक अन्यलाई ३/३ लाख रुपैयाँकादरले जरिबाना गरेको छ।
कालिकाको हकमा भने कारबाही हुन बाँकी रहेको विभागले जनाएको छ। उसको सामान रोक्का गरेर राखेको विभागले जनाएको छ।
विभागका अनुसार बजार मूल्य प्रतिकिलो ८ सय रुपैयाँका दरले हिसाब गर्दा ३८ लाख ३२ हजार रुपैयाँ बराबरको छोकडा नष्ट गर्न लागेको जनाएको छ।
आयातमा प्रतिबन्ध भएपनि बजारमा खुलेआम छोकडा व्यापार भइरहेको छ। व्यापारीले छोकडालाई अन्य वस्तुको नाममा भन्सार पास गराइरहेका छन्।
वाणिज्य, आपूर्ति तथा उपभोक्ता संरक्षण विभागले दसैँतिहारको विशेष बजार अनुगमनसँगै छोकडालाई निगरानीमा राखेको थियो।
विभागले भन्सार विभागसँग पनि त्यसको विवरण मागेको थियो तर वैध तवरबाट छोकडा आयात भएको तथ्यांक नभएको जानकारी भन्सार विभागले दिँदै आएको थियो।
वाणिज्य विभागले निरन्तर बजार अनुगमनगरी छोकडा खोजिरहेको थियो। अहिले अवैध रुपमा आयात भइ बिक्री भइरहेको छोकडा वाणिज्य विभागले बरामद गरेको छ।
'४ महिनादेखि अवैध आयात भएको छोकडा खोजिरहेका थियौँ,' विभाग स्रोतले भन्यो, 'अन्तत: पहिलो चरणमा केही परिमाणमा छोकडा बराबद भएको छ र थप केही स्थान निगरानीमा रहेको छ।'