आइतबार, वैशाख १६ गते २०८१    
images
images

'९८ प्रतिशत हवाई दुर्घटना नियम पालन नगर्दाको परिणाम'

महानिर्देशक भन्छन् - नियमनमा कडाइ गर्दा आक्रमण भयो

images
images
images
'९८ प्रतिशत हवाई दुर्घटना नियम पालन नगर्दाको परिणाम'
images
images

काठमाडौं- नेपाल नागरिक उड्डयन प्राधिकरण पछिल्लो समय हवाई सुरक्षामा गम्भीर भएर नियमन जारी राखेको जनाएको छ। स्वेच्छाचारी भएका वायुसेवा कम्पनीविरुद्ध एकपछि अर्को डन्डा चलाएपछि खासगरी सरकारी ध्वजावाहक नेपाल वायुसेवा निगमका उच्च अधिकारीहरू नै नियामक नेपाल नागरिक उड्डयन प्राधिकरणविरुद्ध खनिने गरेको आरोप प्राधिकरणको छ। 

images
images
images

निजी वायुसेवा कम्पनीहरू पनि आफूविरुद्ध खनिँदै आएको तर पनि आफूले हवाई सुरक्षामा कुनै पनि सम्झौता नगर्ने प्राधिकरणका महानिर्देशक प्रदीप अधिकारी बताउँछन्।

images

‘अहिले वायुसेवा कम्पनीको आफ्नो स्वेच्छाचारिता अन्त्य भएको छ, यसमा कुनैपनि सम्झौता हुँदैन,’ महानिर्देशक अधिकारीले भने।

images

केही वायुसेवाप्रदायक कम्पनीका व्यक्ति र सरकारी निकायका केही व्यक्ति झनै रुष्ट बनेको महानिर्देशक अधिकारीको बुझाइ छ। ‘यत्रो हवाई दुर्घटना भए, सयौँको संख्यामा ज्यान गएकोमात्रै छैन देशको बदनामी भएको छ, यस्तोमा नियमन बलियो त बनाउनै पर्छ’ महानिर्देशक अधिकारीले भने।

images
images

बिजनेस न्युजसँग कुरा गर्दै महानिर्देशक अधिकारीले हवाई सुरक्षा, विकास र विस्तारको जिम्मा लिएको महानिर्देशक नै कमजोर भएमा देशमा हवाई यात्रुको सुरक्षा नहुने भएकोले पनि आफू झनै सशक्त भएर नियमनमा लाग्ने बताए।

‘नियमनकारी निकायको महानिर्देशक कमजोर हुँदा हवाई सेवा सुरक्षित हुन सक्दैन त्यसैले ऐन, नियम कानून लागु गर्न/गराउन पनि बलियो नियमन चाहिन्छ,’ महानिर्देक अधिकारीले भने। 

प्राधिकरणले नियमभित्रै रहेर सबैलाई नियमनको दायरामा ल्याएको बताउँदै हवाई सुरक्षामा सुधार गर्दै लैजाने दाबीसमेत उनको छ। प्राधिकरणकै कारण युरोपियन युनियनले समेत नियमनको पक्ष बलियो हुँदै गएको विषय प्रतिवेदनमै उल्लेख गरेकोसमेत महानिर्देशक अधिकारीले दाबी गरे। 

‘मैले नियमनलाई बलियो बनाउँदा कतिपय अहिले गर्दै नगरेको, म सहभागी नै नभएको निर्णयमा समेत जोडेर नियमनकारी निकायलाई कमजोर बनाउने षडयन्त्र भइरहेको छ,’ महानिर्देशक अधिकारीले भने। 

नेपालमा भएका ९८ प्रतिशत दुर्घटना नियम पालन नगर्दाको परिणाम भएको भन्दै उनले आफू महानिर्देशक भएर आएपछि उड्डयन क्षेत्रमा रहेका विकृति हटाउने विषयलाई प्राथमिकतामा राखेको र त्यसले हवाई सुरक्षामा धेरै सुधार भएको दाबी गरे। 

अहिले प्राधिकरण सबैले देखिने र सुनिने भएको बताउँदै उनले नियमनमा कुनै पनि हालतमा खुट्टा नकमाउने उल्लेख गरे। हवाई उद्योगमा अनुशासन कायम गराएको उनको दाबी छ। प्राविधिक कर्मचारी, पाइलट, इन्जिनियरले नियमको पालन गरिरहेको र नियमनकारी निकायको डर हुन जरुरी रहेकोसमेत उनी बताउँछन्। 

युरोपेली संघ (ईयू)ले नेपाली हवाई आकाशलाई कालोसूचीमा राखेको एक दशकपछि नेपाल नागरिक उड्डयन प्राधिकरणप्रति सकारात्मक देखिएको प्रतिवेदन सार्वजनिक गरेको प्राधिकरणले जनाएको छ। सन् २०१३ डिसेम्बरदेखि ईयूले नेपाली जहाजलाई युरोपेली आकाशमा उडाउन प्रतिबन्ध लगाउँदै आएको छ। जसको निरन्तरता जारी छ।

ईयूले प्रतिवेदनमा वर्तमान नेपाल नागरिक उड्डयन प्राधिकरणका नेतृत्वको टिमले हवाई सुरक्षामा गरेको सुधार सकारात्मक भएको भन्दै दीर्घकालीन सहकार्य गर्ने प्रतिबद्धतासमेत जनाएको महानिर्देशक अधिकारी बताउँछन्।

महानिर्देशक अधिकारीका अनुसार ईयूले पहिलोपटक नेपालको नागरिक उड्डयन प्राधिकरण हवाई सुरक्षामा गम्भीर भएर सुधारको काममा लागेको उल्लेख गरेको छ। प्राधिकरणको ऐन, नियमन, नेतृत्व जस्ता कारणमा खराबी त्यसमा देखाइएको छैन। ईयूले नेपाल एयरलाइन्स र श्री एयरलाइन्सको अडिट गरेको थियो। त्यसमा केही कमीकमजोरीका कारणमात्रै प्रतिबन्धको सूचीबाट नहटेको प्रतिवेदनमा उल्लेख थियो।

images

प्रकाशित : शुक्रबार, फागुन ११ २०८००९:५५

प्रतिक्रिया दिनुहोस