काठमाडौं- नेपालका लागि टाटा मोटर्सको अधिकारिक वितरक सिप्रदी ट्रेडिङ प्रालिले भारतमा मूल्य समायोजन गरिएका टाटा नेक्सन के३ र टाटा टियागो ईभी मिडियम रेञ्ज नेपालमा आउन नै बाँकी भएको जनाएको छ।
उक्त ईभी गाडीहरु नेपाली बजारमा सार्वजनिक गर्दा समायोजित मूल्यमा नै उपलब्ध हुने कम्पनीले जनाएको छ।
टाटाका नेपाली बजारमा उपलब्ध टियागो ईभीको भेरियन्टहरुमा जम्मा १५ हजार मात्र घटेको र उक्त गाडीहरु नाडा अटो शोदेखि नै ‘इन्ट्रोडक्टरी’ मूल्यमा सिप्रदीले उपलब्ध गराइरहेको छ।
यसबीचमा भारतमा मूल्य बढाउँदा पनि सिप्रदीले पुरानै मूल्यमा गाडी उपलब्ध गराएको हुनाले हाललाई टियागो ईभीको मूल्य यथावत नै रहने जनाएको छ।
अहिले नेपाली बजारमा टाटा टियागो लङ रेन्जको २५ लाख ४९ हजार रुपैयाँदेखि २७ लाख ९९ हजार रुपैयाँसम्म तोकिएको छ। त्यस्तै नेपालमा सर्वाधिक रुचाइएको नेक्सन ईभीको मूल्य ४५ लाख ९९ हजार रुपैयाँमा उपलब्ध गराएको छ।
उत्पादक मुलुकमा कम्पनीहरुले घटाएको मूल्य तत्काल कार्यान्वनयमा आउँछ। तर आयात गरिने मुलुकमा भने उत्पादक मु्लुकमा मूल्य घट्ने वित्तिकै घट्दैन। आयात गरेर राखिएको हुनाले नयाँ आयात नहुन्जेल मूल्य समायोजन हुन सम्भव हुँदैन।