काठमाडौं- खजुरीको नेपाल प्रालिले उत्पादन गरिरहेको 'खजुरीको पफ'को गुणस्तरमा प्रश्न उठेको छ। वाणिज्य, आपूर्ति तथा उपभोक्ता संरक्षण विभागमा पफको गुणस्तरका बारेमा उजुरी तथा गुनासो आएको थियो।
विभागमा गुनासो तथा उजुरी परेसँगै विभागले ल्याब परिक्षणका लागि नमुना संकलन गरेको छ। विभाग स्रोतका अनुसार उत्पादन उद्योगबाट नै पफको नमुना संकलन भएको छ। विभागले संकलित नमुना खाद्य प्रविधि तथा गुण नियन्त्रण विभागको ल्याबमा पठाएको विभागको भनाइ छ।
सन् २००४ देखि सञ्चालनमा रहेको खजुरीको नेपाल प्रालिले मुख्यगरी बिस्कुट, कुकिज र पफजस्ता खाद्य उत्पादन गरी बिक्री वितरण गरिरहेको छ। कम्पनीले ललितपुर, मकवानपुर र चितवनमा उद्योग स्थापना गरेर काम गरिरहेको छ।
वाणिज्य विभागले बजारबाट संकलन गरेका परीक्षणका लागि खाद्यको ल्याबमा पठाएपनि परीक्षण रिपोर्टमा भने ढिलाइ भइरहेको छ। वाणिज्य विभागसँग सुविधासम्पन्न ल्याब नहुँदा परीक्षणका लागि अन्यसँग भर पर्नुपरेको विभागको भनाइ छ।
वाणिज्य विभागले अहिले शिशुआहार, धारालगायतका तोरीको तेलको पनि नमुना संकलन गरेर परीक्षणका लागि खाद्यको ल्याबमा पठाएको छ। वाणिज्य विभागले रिपोर्टका लागि ताकेदापत्र समेत खाद्य विभागमा पठाइसकेको छ। तर रिपोर्ट अझै आएको छैन।