काठमाडौं- काठमाडौं महानगरपालिकाले (कामपा) सङ्क्रमित, रसायनयुक्त, हानिकारक फोहर उत्पादकले नै व्यवस्थापन गर्नुपर्ने बताएको छ।
कामपाको वातावरण तथा प्राकृतिक स्रोत संरक्षण ऐन २०७७ मा हानिकारक फोहर व्यवस्थापनसम्बन्धी व्यवस्था छ। ऐनको दफा २० बमोजिम हानिकारक, स्वास्थ्य संस्थाजन्य, रासायनिक वा औद्योगिक फोहरको प्रशोधन र व्यवस्थापन उत्पादक आफैले गर्नुपर्ने महानगरपालिकाले जनाएको छ।
कामपाको उपप्रमुख सुनिता डंगोलका अनुसार सहरी वातावरणमा महसुसयोग्य सुधार गर्नुपर्छ। यस कार्यका फोहर उत्पादकहरुले दायित्वबोध गरेर नागरिक र कानूनी दायित्व पूरा गरी फोहरको दिगोरुपमा व्यवस्थापन गर्नुपर्ने छ।
सोहीअनुरुप कामपाले पछिल्लो एक सातादेखि अस्पतालजन्य फोहर व्यवस्थापन विषयमा अनुगमन सुरु गरेको छ।
'अस्पतालजन्य फोहर अन्य फोहरभन्दा बढी हानिकारक हुन्छ', उनले भनिन्, 'यसको सही व्यवस्थापन गर्न आवश्यक छ।' अस्पतालजन्य फोहर उत्पादन हुने स्थान, उत्पादित फोहर संकलन र ढुवानी गर्ने साधन तथा उपकरण, प्रशोधन गर्ने स्थान र प्रविधि तथा निर्मलीकरणपछिका सामान व्यवस्थापन संवेदनशील भएर गर्नुपर्ने उनले बताइन्।
विभागले अस्पतालजन्य फोहर वर्गीकरण गर्न, जोखिमयुक्त फोहरलाई प्रशोधन गरेर निर्मलीकरण गर्न र उत्पादित फोहरको उचित व्यवस्थापन गर्नका लागि सार्वजनिक सूचनामार्फत पनि अनुरोध गरेको छ।
स्थानीय सरकार सञ्चालन ऐन, २०७४ ले स्थानीय सरकारलाई स्वास्थ्यजन्य फोहरमैला संकलन, पुनः उपयोग, प्रशोधन, विसर्जन र सोको सेवा शुल्क निर्धारण र नियमन गर्ने अधिकार दिएको छ। साथै स्वास्थ्य संस्थाहरुले चिकित्साजन्य फोहरको उचित व्यवस्थापन नगरे त्यस्ता संस्थाहरुलाई दण्ड जरिबाना गराउन पाउने अधिकार पनि स्थानीय सरकारलाई प्रदान गरिदिएको छ। रासस