काठमाडौं- मेलम्ची खानेपानी परियोजनामा अनियमितता गरेको अभियोगमा नेपाल सरकारका तीन पूर्वसचिवसहित १८ जनाविरुद्ध भ्रष्टाचार मुद्दा दायर भएको छ।
पूर्वसचिवहरू सञ्जय शर्मा, भिम उपाध्याय र गजेन्द्र ठाकुरसहित १८ जनाविरुद्ध आइतबार विशेष अदालतमा मुद्दा दायर गरेको अख्तियार दुरूपयोग अनुसन्धान आयोगका सहायक प्रवक्ता देविप्रसाद थपलियाले बताएका छन्।
मेलम्ची खानेपानी आयोजनाको निर्माण कम्पनी सिएमसीलाई काम नै नगरी भुक्तानी गरेको पाइएकाले परामर्शदाता तथा निर्माण कम्पनीमाथि सार्वजनिक सम्पत्ति हानी नोक्सानी गरेको पाइएकाले मुद्दा दायर गरिएको आयोगले जनाएको छ।
उनीहरूविरुद्ध ६ अर्ब २६ करोड रूपैयाँभन्दा बढी बिगो दाबी गर्दै मुद्दा दायर भएको हो।
पूर्वसचिवहरूमा मेलम्ची खानेपानी विकास समितिको बोर्डको तत्कालीन अध्यक्ष तथा खानेपानी मन्त्रालयका तत्कालीन सचिव भिमप्रसाद उपाध्याय, मेलम्ची खानेपानी विकास समितिको बोर्डका तत्कालीन अध्यक्ष तथा खानेपानी मन्त्रालयका तत्कालीन सचिव गजेन्द्र कुमार ठाकुर र मेलम्ची खानेपानी विकास समितिका तत्कालीन बोर्ड अध्यक्ष एवं खानेपानी मन्त्रालयका तत्कालीन सचिव डा. सञ्जय शर्मा रहेका छन्।
को-कोविरुद्ध हालियो मुद्दा?
- मेलम्ची खानेपानी विकास समितिका तत्कालीन बोर्ड अध्यक्ष एवं खानेपानी मन्त्रालयका तत्कालीन सचिव डा. संजय शर्मा
- अर्थ मन्त्रालयका तत्कालीन सह-सचिव तथा तत्कालीन बोर्ड सदस्य मुकुन्दप्रसाद पौडेल।
- मेलम्ची खानेपानी विकास समितिको बोर्डको तत्कालीन अध्यक्ष तथा खानेपानी मन्त्रालयका तत्कालीन सचिव भिमप्रसाद उपाध्याय।
- मेलम्ची खानेपानी विकास समितिको बोर्डका तत्कालीन अध्यक्ष तथा खानेपानी मन्त्रालयका तत्कालीन सचिव गजेन्द्र कुमार ठाकुर।
- मेलम्ची खानेपानी विकास समितिका तत्कालीन बोर्ड सदस्य रुद्र सिंह तामाङ।
- मेलम्ची खानेपानी विकास समितिका बोर्ड सदस्य चन्द्र बहादुर थापा।
- मेलम्ची खानेपानी विकास समितिका तत्कालीन कार्यकारी निर्देशक घनश्याम भट्टराई।
- मेलम्ची खानेपानी विकास समितिका तत्कालीन कार्यकारी निर्देशक राम चन्द्र देवकोटा।
- मेलम्ची खानेपानी विकास समितिका तत्कालीन कार्यकारी निर्देशक सुर्य राज कँडेल।
- मेलम्ची खानेपानी विकास समितिका तत्कालीन उपसचिव (लेखा) मणिभद्र न्यौपाने।
- मेलम्ची खानेपानी विकास समितिका तत्कालीन लेखा अधिकृत राम चन्द्र न्यौपाने।
- मेलम्ची खानेपानी विकास समितिका तत्कालीन उपसचिव (लेखा) बेगनाथ पौडेल।
- मेलम्ची खानेपानी विकास समितिका तत्कालीन उपसचिव (लेखा) केदार प्रसाद अर्याल।
- समितिका तत्कालीन सिनियर डिभिजनल ईन्जिनियर तथा उप-कार्यकारी निर्देशक (निर्माणस्थल) भोजबिक्रम थापा।
- परामर्शदाता एप्टिसा बीईटीएस जेभीका तत्कालीन डिपुटि टिम लिडर शिव कुमार शर्मा।
- परामर्शदाता एप्टिसा सर्भिसेस डी इन्जिनियरिस एसएल साथै बीईटीएस कन्सल्टिङ सर्भिसेज लिमिटेड।
- निर्माण व्यवसायी सीएमसी डी रावेना।