काठमाडौं- विश्व अर्थतन्त्रमा गत साता खराब सामाचार आए। संसारकै ठूलामध्येका दुई अर्थतन्त्र मन्दीमा फसेका छन्।
जापान र सयुक्त अधिराज्य प्राविधिक रुपमा मन्दीमा गएका छन्। कानूनी परिभाषा नभएपनि लगातार दुई त्रैमासको आर्थिक वृद्धि ऋणात्मक भएमा अर्थतन्त्र मन्दीमा गएको मानिन्छ। यही परिभाषा अनुसार यी दुई अर्थतन्त्र मन्दीमा गएका हुन्।
मन्दीमा फस्दा जापान संसारकै तेस्रो ठूलो अर्थतन्त्रको हैसियतबाट चौथोमा झरेको छ। दोस्रो स्थानमा चीनले उछिनेपछि पछिल्लो लामो समयदेखि जापान तेस्रो स्थानमा थियो।
जापानको अर्थतन्त्र मन्दीमा जानुलाई धेरै अर्थशास्त्रीहरूले अनपेक्षित भनेका छन्। पछिल्लो समय चीनबाट उत्पादनमूलक लगानी जापानतिर स्थानान्तरण भइरहेको तथ्यांक आइरहेका थिए। प्रविधिमा आधारित उत्पादनको लगानी चीनबाट जापानतिर सर्दै गरेको र उत्पादनको केन्द्रका रुपमा जापान फेरि संसारमा एकपटक तहल्का पिट्नेगरी आउने अनुमान धेरेको थियो।
सन् १९९० को दशकदेखि जापानबाट चीन सरेको उत्पादनको केन्द्र यो दशकमा फेरि जापान हुँदै एसियाका अन्य देशमा विकेन्द्रीकरण हुने विश्लेषण हुँदै आएकै समयमा जापान मन्दीमा गएको छ।
जापान मन्दीमा जानुमा मौद्रिक व्यवस्था र घट्दो जनसंख्यालाई मानिएको छ। पछिल्लो डेढ दशकदेखि जापानमा जनसंख्या ऋणात्मक छ। लाखौ जनसंख्या घट्दै जाँदा मागमा कमी आउने र त्यसले अर्थतन्त्रको विस्तारलाई प्रभावित पार्ने धेरैको बुझाइ छ। यही कारणले जापानको अर्थतन्त्र मन्दीमा गएको मानिएको छ।
जापानको अर्थतन्त्र मन्दीमा जानुलाई विश्व अर्थतन्त्रमा बढी खतरा मानिएको छ बेलायतको तुलनामा।
बेलायती अर्थतन्त्र मन्दीमा जानुलाई धेरैले अनपेक्षित मानेका छैनन्। ब्रेक्जिटपछि लयमा नआएको बेलायती अर्थतन्त्र कोभिडको समयमा झन खस्किएको थियो। कोभिडपछिको अवस्थामा लयमा फर्काउन सरकारले निरन्तर प्रयास गरेपनि त्यसले सफलता पाउन सकेको छैन।
वर्तमान बेलायती प्रधानमन्त्री ऋषि सुनकको मुख्य घोषणा नै अर्थतन्त्रलाई लयमा फर्काउने रहेको छ। उनी प्रधानमन्त्री भएदेखि निरन्तर रुपमा आर्थिक पुनरुत्थानमा लागेपनि परिणाम भने मन्दी देखिएको छ।
मन्दीको यो संक्रमण अब अरु विकसित अर्थतन्त्रमा देखिनसक्ने जोखिम धेरैले औँल्याएको छ। सन् २०२४ मा अमेरिका लागयतका अर्थतन्त्र मन्दीमा गए भने विश्व अर्थतन्त्र गहिरो मन्दीमा फस्ने चेतावनी अर्थशास्त्रीहरूले दिएका छन्।
मन्दी बढ्दै गएमा बेरोजगारी बढ्ने, वस्तुको मूल्य बढ्ने र उत्पादकत्व संकुचित हुनेछ। यसले गर्दा विकासोन्मुख अर्थतन्त्र पनि प्रभावित हुनेछन्। नेपाल जस्ता देशका जसको मुख्य विदेशी मुद्राको आम्दानी नै रेमिट्यान्स रहेको छ यस्ता देश पनि मन्दीबाट पीडीत हुनसक्नेछन्।