काठमाडौं- नेपाल आयल निगम लिमिटेडको रिक्त कार्यकारी निर्देशक पदका लागि अन्तिम तीन उम्मेदवारको टुंगो लागेको छ। गठित पदपूर्ति समितिले व्यावसायिक कार्ययोजना प्रस्तुतीकरण र अन्तर्वार्तापछि तीन जनाको नाम सिफारिस गरेको हो।
१३ जना आवेदक मध्येबाट चण्डिकाप्रसाद भट्ट, चितवनका डोलप्रसाद चापागाईँ र ललितपुरका शत्रुध्नप्रसाद पुडासैनीको नाम सिफारिस भएको हो। विषेश आर्थिक क्षेत्र (सेज) का कार्यकारी निर्देशक समेत रहेका गोरखाका भट्टले विगतमा पनि आयल निगमकाे नेतृत्व सम्हालिसकेका छन्।
समितिले गरेको सिफारिसअनुसार निगमको कार्यकारी निर्देशक नियुक्तिका लागि उद्योगमन्त्री रमेशप्रसाद रिजालले आगामी मन्त्रिपरिषद् बैठकमा प्रस्ताव पेस गर्नेछन्।
उद्योग वाणिज्य तथा आपूर्ति मन्त्रालयका सचिव नारायणप्रसाद दुवाडी शर्माको संयोजकत्वमा गठित समितिले दरखास्त दिएका १३ उम्मेदवारको गत २ फागनदेखि शनिबार बिहानसम्म व्यवसायिक कार्यायोजना प्रस्तुतीकरण र अन्तर्वार्ता लिएको थियो।
त्यसैगरी चापागाईँ र पुडासैनीले समेत नियुक्तिका लागि प्रधानमन्त्री कार्यालय र नेपाली कांग्रेसका नेताहरुसँग बाक्लो भेटघाट बढाइरहेका छन्।
वार्षिक करिब तीन खर्ब रुपैयाँको कारोबार गर्ने आयल निगम मुलुकको सबैभन्दा ठूलो कारोबार गर्ने कम्पनी हो।