सोमबार, वैशाख २४ गते २०८१    
images
images

झापामा १० वर्षमा ५१ वटा झोलुंगे पुल निर्माण

images
images
images
झापामा १० वर्षमा ५१ वटा झोलुंगे पुल निर्माण
फाइल तस्बिर

स्थानीय राजनीतिक दलको खिचातानीका कारण कतिपय अत्यावश्यक स्थानमा झोलुंगे पुल अझै पनि बन्न सकेका छैनन्।

images
images

झापा- एक दशकको अवधिमा झापा जिल्लामा संघीय र प्रदेश सरकारको लगानीमा ५१ वटा झोलुंगे पुल निर्माण भएका छन्। पक्की पुल बन्न नसकेका नदीमा आवतजावतको सहजताका लागि झोलुंगे पुल निर्माण गरिएका हुन्।

images
images
images

आर्थिक वर्ष २०६९/७० देखि हालसम्म सामुदायिक झोलुंगे पुल कार्यक्रमअन्तर्गत १२० मिटरसम्म लम्बाइ भएका ५१ वटा पुल निर्माण भएको सामुदायिक झोलुंगे पुल कार्यक्रमका संयोजक लीलाराज नेपालले जानकारी दिए।

images

झोलुंगे पुल निर्माणका लागि संघीय र प्रदेश सरकारबाट स्थानीय पालिकामा बजेट आउने र निर्माणको प्राविधिक र सामाजिक सहयोग स्थानीय सहारा नेपालले गर्दै आएको नेपालले बताए।

images

झापा जिल्लामा कनकाई, बिरिङ, निन्दा, मेची, हडिया, रतुवा, देउनिया, फुलबासा, टिमाइलगायत दर्जनौँ साना र ठूला नदी रहेका छन्। पक्की पुल नभएको र पुराना काठका पुल जीर्ण भएको स्थानमा झोलुंगे पुल निर्माणलाई प्राथमिकता दिइएको छ। 

images
images

गत आर्थिक वर्षमा आठ वटा झोलुंगे पुल निर्माण भएका र चालु आर्थिक वर्षको छ महिनामा तीन वटाको निर्माण सम्पन्न भइसकेको उनले बताए। आठ वटा पुल क्रमागतरुपमा निर्माण भइरहेको छ। चालु आर्थिक वर्षमा थप चार स्थानमा झोलुंगे पुल निर्माणको प्रारम्भिक काम अघि बढाइएको र २६ वटा पुल निर्माणका लागि सर्भे गर्ने कार्यक्रम रहेको बताइएको छ।

सरकारले गरिबी निवारणमा टेवा पुर्‍याउने, सामाजिक तथा आर्थिक स्रोत एवं अवसरमा स्थानीयको पहुँच बढाउने उद्देश्यले झोलुंगे पुल निर्माणलाई देशभर नै तीव्ररुपमा अघि बढाएको छ। झोलुंगे पुल कार्यक्रमले जनाएअनुसार एक सय २० मिटरसम्मका पुल उपभोक्त समितिमार्फत र त्योभन्दा लामा पुल निर्माण व्यवसायीमार्फत बनाउने गरिएको छ। स्थानीय पालिका र उपभोक्ता समितिमार्फत बनाइने पुलको प्राविधिक सहयोगमा सहारा नेपालले सहयोग गर्दै आएको हो।

संघीय योजनाअन्तर्गत झोलुंगे पुल निर्माणका लागि लाग्ने कुल बजेटमा केन्द्रीय अनुदान ८५ प्रतिशत, स्थानीय सरकारको १३ प्रतिशत र समुदायको श्रमदान दुई प्रतिशत सहभागिता रहने गरेको छ। तर, प्रदेश सरकारको योजनाअन्तर्गतका झोलुंगे पुल निर्माणमा सरकारको ९८ प्रतिशत र समुदायको जनश्रमदान दुई प्रतिशत रहने व्यवस्था गरिएको छ।

चालु आर्थिक वर्षमा मेचीनगर नगरपालिका-१४ को हडिया खोला झोलुंगे पुल, अर्जुनधारा नगरपालिका-२ मा घिमिरे टोल गाँजाबारी झोलुंगे पुल र शिवसताक्षी नपा-१० मा नुनमाटी खोला दोमुखा झोलुंगे पुल निर्माण गरिएको छ।

शिवसताक्षी नगरपालिका-१ को धरमपुर ट्रस पुल, विर्तामोड नगरपालिका-७ मा देउनिया खोला पुल, कचनकवल गाउँपालिका-१ मा भेलामुनी मरलवस्ती पुल, झापा गाउँपालिका-१ सितुमारी मिलनबस्ती पुल, अर्जनधारा नगरपालिका-२ मा सहकाले ट्रस पुल, विर्तामोड-४ मा विर्तामोड ट्रस पुल, कनकाइ नगरपालिका-८ मा घाग्राखोला ट्रस पुल र गौरादह नगरपालिका-८ को गेउरिया झोलुंगे पुल गत वर्ष निर्माण गरिएको छ।

स्थानीय राजनीतिक दलको खिचातानीका कारण कतिपय अत्यावश्यक स्थानमा झोलुंगे पुल अझै बन्न सकेका छैनन्। 'पुलको आवश्यकता एकातिर हुन्छ', कार्यक्रम संयोजक नेपालले भने, 'राजनीतिक दबाबले अर्कै ठाउँको छनोट भइरहेको हुन्छ,' उनले विकास निर्माणका काम राजनीतिक हस्तक्षेपका आधारमा नभएर आवश्यकताका आधारमा हुँदा राम्रो हुने बताए।

कतिपय झोलुंगे पुल निर्धारित समयमा बन्न सकेका छैनन्। निर्माण सामग्रीको अभाव, सम्बन्धित निकायबाट समयमै फेव्रिकेशन नहुँदा कठिनाइ हुने, दक्ष मिस्त्री तथा कामदारको अभावलगायत कारणले ढिलोसमेत हुने गरेको उनको भनाइ छ। रासस

images

प्रकाशित : बिहीबार , फागुन ३ २०८००१:३६

प्रतिक्रिया दिनुहोस