शनिबार, साउन १२ गते २०८१    
images
images
images

दिक्तेल रुपाकोट मझुवागढी नगरपालिकाले किसानका कृषिउपज नि:शुल्क बजारसम्म पुर्‍याइदिने

images
आइतबार, माघ २१ २०८०
images
images
दिक्तेल रुपाकोट मझुवागढी नगरपालिकाले किसानका कृषिउपज नि:शुल्क बजारसम्म पुर्‍याइदिने

कृषि एम्बुलेन्समार्फत खार्मीबाट पहिलोपटक आठ सय केजी बन्दाकोभी ढुवानी भएको छ। कृषि एम्बुलेन्सले किसानलाई निकै सहज भएको छ।

images

खोटाङ- दिक्तेल रुपाकोट मझुवागढी नगरपालिकाले कृषि एम्बुलेन्स सञ्चालनमा ल्याएको छ। नगरपालिकाभित्रका कृषकले उत्पादन गरेका कृषिउपज निःशुल्क ढुवानी गरेर बजारसम्म पुर्‍याइदिने उद्देश्यका साथ नगरपालिकाले आजदेखि औपचारिकरुपमा कृषि एम्बुलेन्स सञ्चालनमा ल्याएको हो। 

images
images

पहिलो दिन वडा नं ११ खार्मीस्थित ‘सोती बहुउद्देश्यीय कृषक समूह’ले उत्पादन गरेका कृषिउपज निःशुल्क ढुवानी गरिएको छ। शुभम् फाउण्डेशनले निःशुल्क उपलब्ध गराएको बोलेरो पिकअप भ्यानमार्फत कृषि एम्बुलेन्स सेवा दिन सुरु गरिएको नगरपालिकाका कृषि शाखा प्रमुख तेजप्रकाश जैसीले जानकारी दिए।

images

कृषि एम्बुलेन्समार्फत खार्मीबाट पहिलो पटक आठ सय केजी बन्दाकोभी ढुवानी भएको छ। प्रतिकेजी ३० रूपैयाँमा बिक्री भइरहेको बन्दाकोभी दिक्तेल बजारका विभिन्न ठाउँमा सञ्चालित तरकारी बिक्री केन्द्रले खरिद गरेका छन्।

नगरपालिकाले निःशुल्क उपलब्ध गराएको बन्दाकोभीको बेर्नाबाट दुई हजार केजीभन्दा बढी उत्पादन भएको समूहका अध्यक्ष हर्कराज राईले जानकारी दिए। 'हामीले परीक्षणका लागि तीन रोपनी जग्गामा बन्दाकोभीको व्यावसायिक खेती गरेका थियौँ। पहिलो पटकमा राम्रो उत्पादन भएको छ', उनले भने, 'यस वर्ष बन्दाकोभीसँगै फूलकोभी, अकबरे खुर्सानी, लसुन, प्याजलगायत विभिन्न प्रजातिका फलफूल तथा तरकारीखेती गर्ने तयारी गरेका छौँ। सामूहिकरुपमा सुरुवात गरिएको तरकारीखेतीलाई व्यावसायिकरुपमा वृद्धि गर्दै लैजाने योजना छ।'

images

नगरपालिकाले सुरु गरेको कृषि एम्बुलेन्स लिएर नगरप्रमुख तीर्थराज भट्टराई, नगर उपप्रमुख विशन राई, कृषि शाखा प्रमुख जैसी, शुभम् फाउण्डेशनका प्रबन्ध निर्देशक सूर्यबहादुर राईलगायत खार्मी पुगेका थिए। आफूले उत्पादन गरेका कृषिउपज बिक्री गर्नका लागि ढुवानी गर्न नसक्दा कतिपय कृषक निरास भइरहेको अवस्थामा नगरपालिकाले कृषि एम्बुलेन्स सञ्चालनमा ल्याउनुलाई निक्कै महत्वका साथ हेरिएको छ।

नगरपालिकाले सुरुवात गरेको कृषि एम्बुलेन्स कार्यक्रमलाई दिगो बनाउन सकेमा कृषकलाई ठूलो राहत हुने वडा नं २ सोल्मा अगुवा कृषक गंगाबहादुर विश्वकर्माले बताए। 'ढुवानी नहुँदा धेरै कृषकको कृषिउपज बारीमै कुहिएर गइरहेको छ। ढिलै भए पनि नगरपालिकाले कृषि एम्बुलेन्स सञ्चालनमा ल्याएको छ। यसले निरन्तरता पाउन जरुरी छ', उनले भने, 'यो महत्वकांक्षी कार्यक्रम हो। दुई/चार महिना सञ्चालन गरेर बन्द गरेका खण्डमा कृषकको लगानी डुब्नेवाला छ।'

कृषि एम्बुलेन्स सञ्चालनका लागि यस वर्षका लागि नगरपालिकाबाट १० लाख रूपैयाँ बजेट विनियोजन गरिएको नगर उपप्रमुख राईले जानकारी दिए। 'हामीले कृषिलाई पहिलो प्राथमिकता दिएका छौँ। गाउँगाउँमा कृषक समूह गठन गरिएको छ। कृषक समूह आबद्ध तथा व्यक्तिगतरुपमा कृषि पेसा अपनाएका कृषकलाई नगरकोतर्फबाट बीउ तथा बेर्ना निःशुल्क उपलब्ध गराउँदै आएछौँ', उनले भने, 'कृषकले उत्पादन गरेका कृषिउपज खेर जाँदैन। उनीहरु आफैँ बिक्री गर्नुहुन्छ, हामी ढुवानी गरिदिन्छौँ। उहाँहरुले आफूले उत्पादन गरेका कृषिउपज बिक्री गर्न नसकेको खण्डमा बजारमा चलेको बजार भाउअनुसार हामी आफै खरिद गर्छौँ। यसले कृषकलाई हौसला मिलेको अनुभूति गरेका छौँ।'

पन्ध्र वडा रहेको दिक्तेल रुपाकोट मझुवागढी नगरपालिकाले हावापानी र भूगोलअनुसार ब्लक बनाएर कृषिलाई व्यवसायीकरण गर्ने तयारी गरेको छ। परीक्षणका लागि बन्दाकोभी, फूलकोभी, ब्रो काउली, प्याज, धनिया, लसुन, खुर्सानी, सिमी, बोडीलगायतका तरकारीको बीउ तथा बेर्ना निःशुल्क उपलब्ध गराउँदै आएको छ।

नगरपालिकाले यो आर्थिक वर्ष तीन लाख कफीको बेर्ना, ७० लाख प्याजको बेर्ना, ४० हजार किबीको बेर्ना र चार लाख रूपैयाँ बराबरको लसुनको बीउ वितरण गरिने जनाइएको छ। केरा पकेट क्षेत्रअन्तर्गत छ लाख रूपैयाँको कार्यक्रम पनि यसै वर्ष लागु गरिने कृषि शाखा प्रमुख जैसीले जानकारी दिए।

नगरपालिकाले ‘उत्पादनमा नगर उपप्रमुख’ कार्यक्रम कार्यान्वयनमा ल्याएको छ। नगरसभाबाट पारित उत्पादनमा नगर उपप्रमुख कार्यक्रमका लागि यो वर्ष ४० लाख रूपैयाँ बजेट रहेको नगरपालिकाले जनाएको छ। रासस 


प्रकाशित : आइतबार, माघ २१ २०८०१७:४९

प्रतिक्रिया दिनुहोस
कार्यकारी सम्पादक

केदार दाहाल

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर

२८३८/०७८-७९

© 2024 All right reserved to biznessnews.com  | Site By : SobizTrend