काठमाडौं- शौर्य सिमेन्ट इन्डस्ट्रिज लिमिटेड र स्काई होल्डिङ बिजनेस ग्रुप पब्लिक लिमिटेडको संयुक्त आयोजनामा कन्ट्रयाक्टर मिट सम्पन्न भएको छ।
कन्ट्रयाक्टर मिटमा उपस्थितहरुले भक्तपुरमा निर्माण हुने भौतिक संरचनामा निर्माण सामग्रीको छनोट, बिक्रीवितरण, प्रविधिमैत्री निर्माण सामग्रीलाई विशेष प्राथमिकता दिनुपर्नेमा जोड दिएका थिए।
कार्यक्रममा शौर्य सिमेन्टको प्रयोग, प्रविधि, गुणस्तर, उत्पादन क्रममा गरिने परीक्षण प्रविधि, वातावरणमैत्री प्राविधिक जानकारी एवम् शौर्य सिमेन्टद्वारा आयोजित विभिन्न सामाजिक व्यावसायिक उत्तरदायित्वका कार्यहरुको पनि जानकारी गराइएको थियो।
कम्पनीका क्षेत्रीय बिक्री प्रबन्धक रोशनबहादुर कडायतले भक्तपुरका बासिन्दाहरुलाई सुपथ मूल्यका साथै सहजरुपमा सिमेन्टको उपलब्धता सुनिश्चित गर्न स्काई ग्रुपसँग साझेदारी गरिएको जानकारी दिए।
कार्यक्रममा देशमा आर्थिक संकटको कारणले सबै निर्माण व्यवसायीहरू असहज अवस्थामा रहेको र उत्पादक कम्पनीहरुद्वारा सहजीकरणको अपेक्षा रहेको कुरा निर्माण व्यवसायीहरुले राखेका थिए।
स्काई होल्डिङका सल्लाहकार युवक राजभण्डारीको सभापतित्वमा सम्पन्न कार्यक्रममा बागमती प्रदेशका पूर्व भौतिक पूर्वाधार विकासमन्त्री कृष्णलाल भडेल, निर्माण व्यवसायी संघ भक्तपुरका अध्यक्ष कृष्णप्रसाद अवाल, शौर्य सिमेन्टका ब्राण्ड प्रबन्धक अनुज महत, क्षेत्रीय बिक्री प्रबन्धक रोशनबहादुर कडायत, प्राविधिक प्रमुख दिवश देवकोटालगायत भक्तपुरका विभिन्न निर्माण क्षेत्रमा कार्यरत कन्ट्र्याक्टरहरु उपस्थित थिए।
सिराहाको मिर्चैयामा अवस्थित शौर्य सिमेन्टको उत्पादन क्षमता ४५ सय मेट्रिक टन रहेको छ र दैनिकरुपमा ८० हजार बोरा सिमेन्ट उत्पादन गर्छ। यो नेपालकै उत्कृष्ट र सबैभन्दा ठूलो सिमेन्ट उत्पादक मध्ये एक रहेको कम्पनीको दाबी छ।
कम्पनीले ४३/५३ ग्रेड ओपीसी र पीपीसी सिमेन्ट उत्पादन तथा बिक्रीवितरण गर्दै आएको छ।