बिहीबार , जेठ २१ गते २०८३    
बिहीबार , जेठ २१ २०८३

बढ्दो सञ्चिति घाटाले निरन्तर दबाबमा कुमारी बैंकको प्राथमिक पुँजीकोष अनुपात, आगामी वर्ष पनि लाभांश दिन नपाउने

मंगलबार, माघ १६ २०८०
बढ्दो सञ्चिति घाटाले निरन्तर दबाबमा कुमारी बैंकको प्राथमिक पुँजीकोष अनुपात, आगामी वर्ष पनि लाभांश दिन नपाउने

काठमाडौं- बढ्दो सञ्चिति घाटाले कुमारी बैंकको प्राथमिक पुँजीकोष अनुपातमाथिको दबाब बढ्दै गएको छ। चालु आर्थिक वर्षको पहिलो त्रैमासमा नै राष्ट्र बैंकले तोकेको सीमाभन्दा तल ओर्लिएको कुमारी बैंकको प्राथमिक पुँजीकोष अनुपात (टायरवान क्यापिटल) दोस्रो त्रैमासमा थप घटेको छ।
 
बैंकको बढ्दो खराब कर्जाका कारण लोन लस प्रोभिजनिङ बढ्दै गएपछि बैंकको वितरणयोग्य नाफा ऋणात्मक हुँदा पुँजीकोषमा दबाब बढेको हो।

वितरणयोग्य नाफालाई बैंकको सञ्चिति नाफा (रिटेन अर्निङ) अन्तर्गत सारेर प्राथमिक पुँजीकोषमा गणना गर्न पाउने व्यवस्था 'क्यापिटल एड्युकेसी फ्रेमवर्क, २०१५' ले गरेको छ।

चालु आर्थिक वर्षको पहिलो त्रैमासमबाटै बैंकको रिटेन अर्निङ ऋणात्मक हुँदा प्राथमिक पुँजीकोषमाथि दबाब बढेको हो। यस अवधिमा बैंकको रिटेन अर्निङ २ अर्ब १६ करोड ५६ लाख रुपैयाँले ऋणात्मक रहेको थियो।

जसले गर्दा यस अवधिमा बैंकको प्राथमिक पुँजीकोष अनुपात (टायनवान क्यापिटल) ८.२१ प्रतिशत कायम भएको छ। गत आर्थिक वर्ष बैंकको वितरणयोग्य नाफा करिब ८४ करोड ८२ ले ऋणात्मक रहेकोमा गत असोज मसान्तसम्ममा थप १ अर्ब ३१ करोड रुपैयाँले ऋणात्मक हुँदा बैंकको रिटेन अर्निङ २ अर्ब १६ करोडले ऋणात्मक भएको देखिन्छ। जसले बैंकको प्राथमिक पुँजीकोषमा दबाब पारेको थियो। 

यस्तै दोस्रो त्रैमासमा आएर बैंकको वितरणयोग्य नाफा थप १ अर्ब २२ करोडले ऋणात्मक हुँदा रिटेन अर्निङ ४ अर्ब ६३ करोड ९० लाख रुपैयाँले ऋणात्मक हुँदा प्राथमिक पुँजीकोष अनुपात थप घटेको छ। 

दोस्रो त्रैमाससम्ममा बैंकको प्राथमिक पुँजीकोष अनुपात ८.०३ प्रतिशतमा झरेको छ। राष्ट्र बैंकले कार्यान्वयनमा ल्याएको वासेल ३ को मापदण्डअनुसार वाणिज्य बैंक तथा विकास बैंकले प्राथमिक पुँजीकोष अनुपात ८.५ प्रतिशत कायम गर्नुपर्छ। 

पहिलो त्रैमासबाटै यस बैंकको पुँजीकोष अनुपात राष्ट्र बैंकले तोकेको मापदण्डभन्दा कम भएकाले यस बैंकले आगामी आर्थिक वर्षको पनि लाभांश वितरण गर्न नपाउने भएको छ। 

गत आर्थिक वर्ष पनि बैंकको वितरणयोग्य नाफा भएकाले यस बैंकले सो वर्षको नाफाबाट लाभांश वितरण नगर्ने घोषणा गरिसकेको छ।

आर्थिक वर्ष २०७७/७८ र २०७८/७९ मा एनआईसी एसिया बैंकले प्राथमिक पुँजीकोष अनुपात कायम गर्न नसक्दा लाभांश वितरणमा रोक लगाएको थियो। सोही कारणले माछापुच्छ्रे बैंक र हालको लक्ष्मी सनराइज बैंकले लाभांश वितरण गर्न पाएका थिएनन्। 

चालु आर्थिक वर्षको दोस्रो त्रैमासमा आएर प्रभु बैंकको प्राथमिक पुँजीकोषमा समस्या देखिएको छ। यस बैंकले पनि आगामी वर्षको मुनाफाबाट लाभांश वितरण गर्न नपाउने भएको छ। 

कुनै एक आर्थिक वर्षको कुनै महिनामा प्राथमिक पुँजीकोष अपुग भएमा लाभांश वितरण गर्न नपाउने व्यवस्था राष्ट्र बैंकले गरेको छ।

राष्ट्र बैंकले प्राथमिक पुँजीकोष अनुपात (टायरवान क्यापिटल) र पूरक पुँजीकोष (टायर टु क्यापिटल) गरी ११ प्रतिशत कायम गर्नुपर्ने व्यवस्था गरेको छ।


प्रकाशित : मंगलबार, माघ १६ २०८००७:२१

प्रतिक्रिया दिनुहोस
कार्यकारी सम्पादक

केदार दाहाल

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर

२८३८/०७८-७९

© 2026 All right reserved to biznessnews.com  | Site By : SobizTrend