बाँके- नेपालगञ्ज उपमहानगरपालिका-१ कार्यालयले आर्थिक अवस्था कमजोर भएका विपन्न मजदुरको बीमा गर्न सुरु गरेको छ। वडा कार्यालयले आफ्नो वडामा बसोबास गर्ने विपन्न वर्गका कामदारको एक लाख रूपैयाँसम्मको बीमा गर्न सुरु गरेको हो।
म्यादी लघुजीवनमा एक लाख रूपैयाँसम्मको बीमा गर्न थालिएको वडाध्यक्ष प्रमोद रिजालले बताए। उनले गार्डियन माइक्रो लाइफ इन्स्योरेन्स लिमिटेडसँग सम्झौता गरी बीमा अभियान नै सञ्चालन गरिएको जानकारी दिए।
वडाध्यक्ष रिजालका अनुसार १८ वर्षदेखि ५५ वर्षका मानिस विपन्न नागरिकको बीमा गरिने छ। वडासचिव भुविन्द्रप्रसाद कँडेल, इन्स्योरेन्स कम्पनी नेपालगञ्जका प्रबन्धक लक्ष्मी विष्टको उपस्थितिमा वडाध्यक्ष रिजाल र इन्स्योरेन्सका क्षेत्रीय प्रबन्धक विमल खड्काले सम्झौता गरेका हुन्।
वडाध्यक्ष रिजालले १८ वर्ष उमेर भएकाको हकमा दुई सय ७९ रूपैयाँ र ५५ वर्षको उमेर भएकाको एक हजार एक सय ३५ रूपैयाँ तिरेर बीमा गरिने जानकारी दिए। बीमाबापतको रकम वडा कार्यालयले दिनेछ।
'बीमा एक वर्षका लागि हुनेछ। अर्को वर्ष गर्न चाहेमा फेरि गर्नुपर्छ', रिजालले भने। उनका अनुसार सवारी चालक, उद्योगमा काम गर्ने कामदार, डकर्मी, सिकर्मी, पेन्टिङ व्यवसायी, दैनिक मजदुरी गर्ने, कृषि मजदुरलगायत श्रम गरी खाने वडाभित्रका नागरिकको बीमा गर्न लागिएको हो।
एक लाखको जीवन बीमामा दुर्घटना भएर बीमितको मृत्यु भएमा निजका परिवारले दुई लाख र क्रियाखर्च २५ हजार रूपैयाँ उपलब्ध गराइने इन्स्योरेन्सका क्षेत्रीय प्रबन्धक खड्काले जानकारी दिए। रासस