शनिबार, वैशाख ६ गते २०८२    
शनिबार, वैशाख ६ २०८२
images
images

प्राथमिक पुँजीकोष अनुपात कायम नगर्दा कारबाहीमा प्रभु बैंक, लाभांश वितरणमा रोक

निक्षेप परिचालनमा क्याप, नयाँ शाखा विस्तारमा पनि रोक

images
शुक्रबार, माघ १२ २०८०
images
प्राथमिक पुँजीकोष अनुपात कायम नगर्दा कारबाहीमा प्रभु बैंक, लाभांश वितरणमा रोक

गत आर्थिक वर्ष बैंकको वितरणयोग्य नाफा करिब १६ करोड १६ लाख रुपैयाँ मात्रै बचेपछि लाभांश नदिने घोषणा गरिसकेको छ।

images
images

काठमाडौं- चालु आर्थिक वर्षको पुस मसान्तबाट प्रभु बैंक निर्धारित न्यूनतम प्राथमिक पुँजी कोष अनुपात कायम गर्न असफल भएको छ। न्यूनतम पुँजीकोष अनुपात कायम गर्न असफल भएसँगै प्रभु बैंक राष्ट्र बैंकको शीघ्र सुधारात्मक कारबाहीमा परेको छ।

images
images
images

क्यापिटल एड्युकेसी फ्रेमवर्क,२०१५ (वासेल ३) ले न्यूनतम प्राथमिक पुँजीकोष न्यूनतम ८.५ प्रतिशत कायम गर्नुपर्ने व्यवस्था छ तर प्रभु बैंकको पुस मसान्तमा पुँजीकोष अनुपात ८.१२ प्रतिशतमा झरेको छ।

images
images

राष्ट्र बैंकको क्यापिटल एडक्युसीसम्बन्धी व्यवस्थानुसार बैंक प्राथमिक पुँजीकोष (टायर क्यापिटल) ८.५ प्रतिशत र पुरक पुँजीकोष (टायर टु क्यापिटल) ३ प्रतिशत गरी कुल न्यूनतम पुँजीकोष अनुपात ११ प्रतिशत कायम गर्नुपर्ने व्यवस्था छ। 

images
images

पुस मसान्तसम्ममा बैंकको कुल न्यूनतम पुँजीकोष अनुपात ११.८२ प्रतिशत भएपनि प्राथमिक पुँजीकोष ८.१२ प्रतिशत भएकाले प्रभु बैंक शीघ्र सुधारात्मक कारबाहीमा परेको हो। 

राष्ट्र बैंकको शीघ्रसुधरात्मक कारबाहीसम्बन्धी विनियमावलीनुसार २ प्रतिशत बिन्दुसम्म इजाजतप्राप्त बैंक वित्तीय संस्थाको प्राथमिक पुँजीकोष अनुपात घटेमा लाभांश वितरण गर्न नपाउने व्यवस्था रहेको छ।

उक्त व्यवस्थानुसार प्रभु बैंकले आगामी आर्थिक वर्ष नाफा गरेमा सो नाफाबाट वितरण हुने कुनै पनि प्रकारका लाभांश (नगद वा बोनस सेयर) रोकिने भएको छ।

गत आर्थिक वर्ष बैंकको वितरणयोग्य नाफा करिब १६ करोड १६ लाख रुपैयाँ मात्रै बचेपछि लाभांश नदिने घोषणा गरिसकेको छ। 

गत आर्थिक वर्षको अन्तिम लेखापरिक्षण प्रतिवेदन साधारणसभामा पेस गर्न लागेको बैंकले उक्त आर्थिक वर्षको नाफाबाट लाभांश वितरण नगर्ने व्यहोरासहितको पत्र राष्ट्र बैंकमा पठाएको छ। 

यसका साथै विनियमावलीले नयाँ शाखा विस्तारमा रोक लगाउने, निक्षेप परिचालनको सीमा तोक्ने, बैंकको पुँजी वृद्धिसम्बन्धी योजना माग गर्ने व्यवस्था गरेको छ।

यस्तै बैंक तथा वित्तीय संस्थाको उच्च व्यवस्थापनसँग छलफल गरी छलफलको विषयवस्तुलाई अभिलेख राख्नुपर्ने विनियमावलीले व्यवस्था गरेको छ।

बैंकहरूले आफ्नो पुँजीकोषसम्बन्धी विवरण राष्ट्र बैंकमा हरेक आर्थिक वर्षको प्रत्येक महिना पठाउने गर्छन्। 

यदि कुनै पनि महिनामा प्राथमिक पुँजीकोष निर्धारित सीमाभन्दा न्यून भएमा बैंकले उक्त आर्थिक वर्ष लाभांश वितरणमा रोक लगाउने गरेको छ।

राष्ट्र बैंकको यस व्यवस्थाअनुसार प्रभु बैंकले आगामी आर्थिक वर्षको नाफाबाट लाभांश वितरण गर्न नपाउने निश्चित भएको छ।

यसका साथै बैंकको कर्जा प्रवाहमा पनि क्याप लाग्नेछ। कर्जा प्रवाहका साथै प्राथमिक पुँजीकोष अनुपात ८.५ प्रतिशत नपुग्दासम्म बैंकले नयाँ शाखा विस्तार गर्न पाउने छैन।

सेन्चुरी बैंकलाई एक्वायर गरेसँगै प्रभु बैंकका वित्तीय सूचकहरू खस्किएका छन्। 

आर्थिक वर्ष २०७८/७९ को अन्त्यसम्ममा प्रभु बैंकको खराब कर्जा १.८६ प्रतिशत रहेकोमा सेन्चुरी बैंकलाई प्राप्ति गरेसँगै गत आर्थिक वर्षको अन्त्यसम्ममा ४.१६ प्रतिशत पुगेको थियो।

चालु आर्थिक वर्षको पहिलो त्रैमासमा यस बैंकको खराब कर्जा ३.९७ मा रहेको थियो। चालु आर्थिक वर्षको दोस्रो त्रैमाससम्म बैंकको खराब कर्जा ४.९ प्रतिशत कायम भएको छ।

खराब कर्जा निरन्तररुपमा बढेसँगै बैंकको लोन लस प्रोभिजनिङ प्रोभिजनिङ ३ अर्ब ४४ करोड रुपैयाँ पुगेको छ। लोन लस प्रोभिजनिङ बढ्दै गएसँगै चालु आर्थिक वर्षको दोस्रो त्रैमासमा बैंकको वितरणयोग्य आम्दानी १ अर्ब ८६ करोडले ऋणात्मक भएको छ। जसको असर बैंकको प्राथमिक पुँजीकोषमा परेको हो। बैंकले वितरण नगरेको आम्दानीको बैंकको रिटेन अर्निङमा राखिन्छ।

रिटेन अर्निङ प्राथमिक पुँजीकोषको अंगको रुपमा रहने व्यवस्था छ। बैंकको चुक्ता पुँजीमा साधारण जगेडा कोषको, सेयर प्रिमियम, रिटेन अर्निङ तथा अन्य प्रोभिजनहरूमा नाममात्रका सम्पत्ति, अदृष्य सम्पत्ति, साहयक कम्पनीमा गरिएको लगानी र सेयर बजारमा गरिएको लगानी घटाएर न्यूनतम पुँजी निकालिन्छ।

उक्त पुँजीलाई बैंकको कर्जा जोखिम, सञ्चालन जोखिम र बजार जोखिमको योग कुल जोखिम भारले भाग गरी न्यूनतम पुँजीकोष अनुपात निकालिन्छ। 

चालु आर्थिक वर्षको पहिलो त्रैमासमा बैंकको रिटेन अर्निङ ३२ अर्ब ५१ करोडले ऋणात्मक रहेकोमा चालु दोस्रो त्रैमासमा १ अर्ब ८६ करोड रुपैयाँले ऋणात्मक भएको हो। 

यस अवधिमा बैंकको चुक्ता पुँजीको २३ अर्ब ५४ करोड रुपैयाँ र साधारण जगेडमा ४ अर्ब २२ करोड रुपैयाँ सहित बैंकको टायर वान क्यापिटल २४ अर्ब ९० करोड रुपैयाँ रहेको छ। 

यस अवधिमा बैंकको टायर टु क्यापिटल ११ अर्ब ३२ करोड रुपैयाँ रहेको छ। समायोजनसहित बैंकको कुल जोखिमभार ३ खर्ब ६ अर्ब ६५ करोड रुपैयाँ रहेको छ।

अघिल्लो त्रैमासमा बैंकको रिटेन अर्निङ सकारात्मक नै रहेकाले बैंकको टायरवान क्यापिटल २७ अर्ब ७२ करोड रुपैयाँ र कुल जोखिमभार ३ खर्ब १० अर्ब रुपैयाँ रहेकाले प्राथमिक पुँजीकोष अनुपात निर्धारित सीमाभन्दा बढी अर्थात ८.९२ प्रतिशत रहेको थियो। 

प्रभु बैंकसँगै कुमारी बैंक पनि प्राथमिक पुँजीकोषको दबाबमा रहेको छ। कुमारी बैंकको प्राथमिक पुँजीकोष अनुपात ८.०३ प्रतिशत रहेको छ।


प्रकाशित : शुक्रबार, माघ १२ २०८०१६:४५

प्रतिक्रिया दिनुहोस
कार्यकारी सम्पादक

केदार दाहाल

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर

२८३८/०७८-७९

© 2025 All right reserved to biznessnews.com  | Site By : SobizTrend