काठमाडौं- संसारभर हवाई यात्रा गर्नेको संख्या बढ्दै गइरहेको छ। कोरोनाकालमा गिरावट आएको हवाई यात्रा त्यसयता क्रमिक रुपमा बढ्दै गइरहेको छ। वैदेशिक व्यवसायदेखि भ्रमण हुँदै अध्ययनसम्म निस्कनेका लागि हवाई यात्रा नै छिटो र सहज हुने गरेको छ।
मानिसहरुको यात्रा गर्नेक्रम बढेसँगै एयरलाइन्स कम्पनीहरुले ठूलो संख्यामा व्यावसायिक जहाज अर्डर गरेका छन्।
विश्वमा मुख्य गरी दुईवटा ठूला जहाज निर्माता कप्पनी बोइङ र एयरबस छन्। बोइङ अमेरिकी र एयरबस युरोपेली कम्पनी हो। चिनियाँ कम्पनीले पनि ठूला जहाज बनाएको बताएको छ तर उक्त जहाज चीनबाहिर गएको छैन।
२०२३ मा हालसम्मकै धेरै व्यावसायिक जेट अर्डर भएको छ। हवाई यात्रुको संख्या बढेकाले आगामी दिनमा त्यो अझै बढ्दै जाने भएकाले एयरलाइन्स कम्पनीहरुले जहाज अर्डर गरेका हुन्। २०२३ मा सबैभन्दा धेरै विमानको अर्डर आएको एयरबस र बोइङले जनाएको छ।
गत वर्ष सबैभन्दा धेरै विमान भारतीय एयरलाइन्स कम्पनी इन्डिगोले अर्डर गरेको हो। इन्डिगोले अनुमानित लागत ५५ अर्ब डलर बराबरको ५ सय वटा विमान अर्डर गरेको भिजुअल क्यापिटालिस्टले लेखेको छ। यसअघि एउटै एयरलाइन्स २०११ मा सबैभन्दा धेरै विमान अर्डर गरेको थियो। त्यतिबेला अमेरिकन एयरलाइन्सले ४ सय ६० वटा विमान एकैपटक अर्डर गरेको थियो।
त्यस्तै अर्को धेरै जहाज अर्डर गर्ने कम्पनी पनि भारतकै एयर इन्डिया हो। केही महिनाअघि मात्र एयर इन्डियाले ४ सय ७० वटा विमान अर्डर गरेको थियो।
भारत संसारको सबैभन्दा धेरै जनसंख्या भएको मुलुक हो र यहाँ मध्यम वर्गीयहरुको संख्या उल्लेख्यरुपमा बढिरहेको छ। त्यसैले भारतीयहरु भ्रमण तथा अध्ययनलगायत कामका लागि देश भित्रै र विदेश जानेक्रम पनि बढ्दो छ।
भारतमा हाल १ अर्ब ४० करोडभन्दा बढी जनसंख्या छ। त्यसैले पनि भारतीय एयरलाइन्स कम्पनीहरुले ठूलो संख्यामा विमान अर्डर गरेका हन्।
दुई भारतीय कम्पनीपछि धेरै विमान अर्डर गर्ने कम्पनी हो अमेरिकाको साउथवेस्ट एयरलाइन्स। यो एयरलाइन्स ले २०२३ मा १ सय ५६ वटा विमान अर्डर गरेको हो। धेरै विमान अर्डर गर्ने सूचीको चौथो स्थानमा इमिरेट्स रहेको छ। यूएईको यो एयरलाइन्स ले गत वर्ष १ सय ५६ वटा विमान अर्डर गरेको थियो।
त्यस्तै धेरै विमान अर्डर गर्ने एयरलाइन्सको सूचीमा पाँचौ स्थानमा र्याएनयर रहेको छ। आयरल्यान्डको यो एयरलाइन्सले गत वर्ष १ सय ५० वटा विमान अर्डर गरेको थियो।
छैटौँ नम्बरमा रहेको अमेरिकी एयरलाइन्स युनाइटेड एयरलाइन्सले १ सय १० वटा, सातौँ स्थानमा रहेको हंगेरीको वीज एयरले ७५ वटा, आठौँ स्थानमा रहेको कतारको कतार एयरवेजले ७३ वटा विमान अर्डर गरेका थिए।
यसैगरी नवौँ स्थानमा रहेको टर्कीको सनएक्सप्रेसले ४५ वटा, १०औँ स्थानमा रहेको आयरल्यान्डको एभोलोनले ४० वटा, ११औँ स्थानमा रहेको साउदी अरबको रियाद एयरले ३९ वटा विमान अर्डर गरेका हुन्।
अर्को धेरै विमान अर्डर गर्नेमा साउदी अरबको साउदी एयरले ३९ वटा, टर्कीको पेगासुसले ३६ वटा, हङकङ एसएआरको क्याथे प्यासिफिकले ३२ वटा, साउदी अरबको फ्लाइनासले ३० वटा, यूएईको फ्लाइनासले ३० वटा र लातभियाको एयरबाल्टिकले ३० वटा विमान २०२३ मा अर्डर गरेका थिए।
यहाँ ३० वटासम्म जहाज अर्डर गर्ने कम्पनीहरुको संख्यामात्र उल्लेख गरिएको छ। उल्लेखित तथ्यांक बोइङ र एयरबसले उपलब्ध गराएका हुन्।
हाल भारत विश्वको तेस्रो ठूलो आन्तरिक हवाइ बजार भएको देश हो। २०४२ सम्म पुग्दा २०१९ को तुलनामा भारतीय आन्तरिक हजाइ बजार पाँच गुणाले बढ्ने अनुमान गरिएको छ।
२००० मा भारतीय परिवारको खर्च गर्ने क्षमता १३ प्रतिशत थियो जुन २०२० मा आइपुग्दा बढेर २४ प्रतिशत पुगेको छ। यसले पनि भारतीयहरुको खर्च गर्ने क्षमता उल्लेख्यरुपमा बढ्दै गएको देखिन्छ।
अर्डर भएका विमानहरु २०३० देखि २०३५ भित्र डेलिभरी हुनेछन्। इन्डिगोले सबै विमान एयरबससँग किन्ने छ भने एयर इन्डिया आधा एयरबस र आधार बोइङसँग खरिद गर्ने गरि अर्डर गरेको छ।