काठमाडौं- नेपाल वायुसेवा निमगले पछिल्ला वर्षमा निरन्तर बजार हिस्सा गुमाउँदै आएको छ।
सन् २०२० मा २५ प्रतिशत बजार हिस्सा पुर्याएको निगमको सन् २०२३ मा १०.७९ प्रतिशत बिन्दुले खस्किएको छ। सन् २०२३ को कुल अन्तर्राष्ट्रिय हवाई यात्रुमध्ये नेपाल एयरलाइन्सको बजार हिस्सा १४.२० प्रतिशतमा झरेको छ।
त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल कार्यालयले दिएको तथ्यांकअनुसार निगमको सन् २०२३ को ११ महिनामा बजार हिस्सा १४.४३ प्रतिशतमा झरेको थियो। यो हिस्सा डिसेम्बरमा आइपुग्दा घटेर १४.२० प्रतिशतमा झरेको हो। डिसेम्बर महिनाभरि निगमको एउटा न्यारोबडी ३२० विमानस्थलमा ग्राउन्डेड भएर बसेको थियो। जसको कारण निमगको बजार हिस्सा घटेको हो।
विमानस्थल कार्यालयका अनुसार सन् २०२३ को त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल हुँदै ४५ लाख ४१ हजार १ सय ३७ जनाले अन्तर्राष्ट्रिय हवाई सेवा लिएका छन्। जसमध्ये नेपाल एयरलाइन्सको सेवा लिन यात्रुको संख्या ६ लाख ४५ हजार १ सय ६६ रहेको छ। यो कुल यात्रुको १४.२० प्रतिशत हो।
यसअघि सन् २०२२ मा निगमको बजार हिस्सा १६.५६ प्रतिशतमा झरेको थियो। व्यवस्थापनको लापरबाहीकै कारण बजार हिस्सा क्रमश: ओरालो लागेको हो। सन् २०२३ मा निगमको २ वटा न्यारोबडी जहाजमध्ये कुनै पनि दिन २ वटै उडानमा आउन सकेको थिएन। सन् २०२० मा निगमको बजार हिस्सा सबैभन्दा बढी २५ प्रतिशत पुगेको थियो।
कुन वर्षको बजार हिस्सा कति?
सन् २०१७ देखि निगमको बजार हिस्सा निरन्तर बढेको थियो। सन् २०१७ मा निगमको बजार हिस्सा १० प्रतिशत थियो। १० प्रतिशतको बजार हिस्सा २०१८ मा १ प्रतिशतले बढेर ११ प्रतिशत भएको थियो। २०१९ मा एकैपटकमा ७ प्रतिशतले बजार हिस्सा बढेर १८ प्रतिशत भएको थियो भने २०२० मा पनि ७ प्रतिशतले नै बढेर निगमको बजार हिस्सा २५ प्रतिशत पुगेको थियो।
सन् २०२१ मा कोरोनाका कारण निगमको बजार हिस्सा ५ प्रतिशतले घटेको थियो। २०२२ मा भने निगम व्यवस्थापन तथा अध्यक्ष अधिकारीको लापरबाहीका कारण बजार हिस्सा घटेर १६.५६ प्रतिशतमा झरेको थियो। त्यसमा पनि सन् २०२३ मा बजार हिस्सा फेरि घटेको हो।
२०२२ का निगमको दुईवटा न्यारोबडी जहाज ५ सय दिनभन्दा बढी ग्राउन्डेड भएका थिए। २०२१ को डिसेम्बरमा बिग्रिएको एउटा न्यारोबडी २०२२ को मार्चबाट मात्रै उडान भएको थियो भने २०२० को जुलाईमा बिग्रिएको अर्को न्यारोबडी जहाज सेप्टेम्बरमा मात्रै उडेका थिए।
जहाजको इन्जिन मर्मतमा लापरबाही हुँदा २०२२ मा कुनै पनि दिन दुईवटा न्यरोबडी जहाज पूर्णरुपमा उडान हुन सकेको थिएन। एउटा उडान भए अर्को ग्राउन्डेड हुने क्रम निरन्तर थियो। त्यसबाहेक पनि निमगका अन्तर्राष्ट्रिय उडानमा प्रयोग भएका दुईवटा वाइडबडी जहाज पनि निगम व्यवस्थापनले पूर्णरुपमा उडान गर्न नसक्दा बजार हिस्सा गुमाएको हो। कमिसनको लोभकै कारण समयमा जहाज मर्मत नहुँदा ग्राउन्डेड समय बढेको र बजार हिस्सा गुमाएको निगमका एक कर्मचारीले बताए। निगमको बजार हिस्सा घट्दै गर्दै विदेशी एयरलाइन्स कम्पनीको बजार बढ्दो छ।
युवराज अधिकारी कम्पनीको व्यवस्थापकीय नेतृत्वमा पुगेपछि बजार हिस्सा निरन्तर ओरालो लागेको छ। व्यवस्थापन र भएका जहाज चलाउनेभन्दा खरिदको सेटिङमा रमाउने र तथ्य तोडमोड गर्नमै अधिकारीले समय खर्चिएका छन्।
यसअघि कोभिडको समयमा जतिबेला आम्दानी खस्किएको थियो त्योसँग तुलना गरेर आम्दानी बढेको कुप्रचार गर्ने त कहिले बजार हिस्सा खस्किँदै गएपछि धेरै यात्रु बोकेको भन्दै भ्रम छर्नमा तल्लीन देखिएका छन्। नेपाल एयरलाइन्सले बजार हिस्सा गुमाउँदा विदेशी कम्पनीले लाभ लिइरहेका छन्।
समयमै उड्दैनन् निगमका जहाज
निगम आफैले सार्वजनिक गरेको रिपोर्टका आधारमा निगमका जहाज कुनै पनि दिन समयमा नउडेको देखिन्छ। गत आर्थिक वर्ष २०७९/८० मा निगमको जहाज कुनै पनि महिना तोकिएको समयमा उडान भएको देखिँदैन। एक महिनामात्रै ६८ प्रतिशत जहाजले मात्रै तोकिएको समयमा उडान भरेको रिपोर्टमा उल्लेख छ। गत आवको भदौमा त निगमको जहाज ४० प्रतिशतमात्रै तोकिएको समयमा उडान भएको छ।
निगमले सार्वजनिक गरेको रिपोर्टअनुसार साउनमा ५८ प्रतिशत उडान समयमा भएको थियो भने असोजमा ६१ प्रतिशतमात्रै उडान भएको देखाएको छ। यसैगरी कात्तिकमा ६०, मंसिरमा ५४, पुसमा ५३, माघमा ६८, फागुनमा ५९, चैतमा ५३, बैशाखमा ४४, जेठमा ४४ र असारमा जम्मा ५४ प्रतिशत उडानमात्रै समयमा उडेका छन्। समयमा जहाज नउडे पनि विश्वसनियता भने सतप्रतिशत नै रहेको निगमको दाबी छ।
सन् २०२३ को ११ महिनामा ३१ हजार ४ सय ६० उडान तथा अवतरण
विमानस्थल कार्यालयका अनुसार सन् २०२३ मा त्रिभुवन अन्तर्राष्ट्रिय हुँदै ४५ लाख ४१ हजार १ सय ३७ जनाले अन्तर्राष्ट्रिय हवाई सेवा लिएका छन्। जसमा नेपालबाट विश्वका विभिन्न देश पुग्ने यात्रुको संख्या २४ लाख २० हजार ७ सय ८७ रहेको छ भने नेपाल प्रवेश गर्ने यात्रुको संख्या २१ लाख २० हजार ३ सय ५० रहेको छ।
सन् २०२३ मा कुल ३१ हजार ४ सय ६० वटा उडान तथा अवतरण भएको छ। जसमा १५ हजार ७ सय ३० वटा उडान तथा १५ हजार ७ सय ३० वटा अवतरण भएको छ।