काठमाडौं- कोभिड महामारीयता नेपालको भुक्तानी प्रणालीको स्वरुप र माध्यममा ठूलो परिवर्तन भएको छ। देशैभर बैंकिङ सेवा पुगेसँगै नेपालीको भुक्तानी अभ्यास डिजिटल हुँदै गएको छ। यसले नगदरहित कारोबारमा बढोत्तरी भएको छ।
विगतमा चेकमार्फत हुने बैंकिङ कारोबार कोभिड १९ पछि मोबाइल बैंकिङ, मोबाइल वालेट, इन्टरनेट बैंकिङ, क्युआर भुक्तानी, कनेक्ट आईपीएसलगायतका माध्यमबाट हुन थालेको छ।
नगद जम्मा गर्न वा झिक्नका लागि बैंकमा गएर लाइन बस्नैपर्ने बाध्यताको अन्त्य भएको छ। व्यक्तिगत तथा व्यावसायिक कारोबार डिजिटल माध्यमबाट हुन थालेपछि नेपालको भुक्तानी प्रणालीको स्वरुप नै परिवर्तन भएको छ।
नेपालमा २० वाणिज्य बैंक, १६ विकास बैंक र १७ वित्त कम्पनी र विभिन्न भुक्तानी सेवा प्रदायकहरूले डिजिटल कारोबार बढाउन महत्वपूर्ण भूमिका खेलका छन्।
नेपाल राष्ट्र बैंकले समेत कोभिड १९ पछि डिजिटल भुक्तानी प्रणाली विकास गर्न महत्वपूर्ण भूमिका खेलेको छ।
भुक्तानी प्रणाली सहज बनाउन राष्ट्र बैंकले आरटीजीएस प्रणाली सञ्चालनमा ल्याएको छ। दुई लाख रुपैयाँसम्मको बैंकिङ कारोबार मोबाइल बैंकिङमार्फत नै गर्न सकिन्छ।
यस्तै सामान्य बिल तथा सरकारी सेवाको भुक्तानीलाई वालेट कम्पनीहरूले सहज बनाएका छन्।
दुई लाख रुपैयाँभन्दा ठूलो र व्यावसायिक कारोबार कनेक्ट आईपीएसमार्फत गर्न सकिने व्यवस्था गरिएको छ। व्यवसायीहरूलाई भन्सार महसुल बुझाउन वा कर भुक्तानी गर्नसमेत कनेक्ट आईपीएसले सहज बनाएको छ।
नेपाल राष्ट्र बैंक र बैंक तथा वित्तीय संस्थाको संयुक्त लगानीमा सञ्चालित एनसीएचएलले उक्त सेवा प्रदान गरिरहेको छ।
नेपालका अधिकांश बैंक तथा वित्तीय संस्थाहरूले एफवान सफ्टको मोबाइल बैंकिङ प्रविधिको प्रयोग गर्दै आइरहेका छन्।
मोबाइल बैंकिङको प्रयोगकर्ता बढ्न थालेसँगै राष्ट्र बैंकले प्रतिकारोबार लागत घटाउँदै लगेको छ। यद्यपी प्रतिकारोबार मूल्य अझैपनि उच्च रहेको सेवाग्राहीको गुनासो रहेको छ।
डिजिटल भुक्तानी प्रणालीलाई व्यवस्थित बनाउन राष्ट्र बैंकले भुक्तानी तथा फर्छ्यौट ऐन, २०७५ र भुक्तानी तथा फर्छ्यौट विनियमावली, २०८० मार्फत सहजीकरण गरिरहेको छ।
यस्तै भारतसँग क्रस बोर्डर कारोबार सञ्चालनका लागि एफवान सफ्ट र एनसीएचएलले गृहकार्य गरिरहेका छन्।
नेपाल राष्ट्र बैंकले गत आर्थिक वर्षसम्मको भुक्तानी प्रणालीसम्बन्धी ओभरसाइड प्रतिवेदन सार्वजनिक गरेको छ। उक्त प्रतिवेदनमा नेपालमा स्मार्टफोनको प्रयोगकर्ता बढेसँगै इन्टरनेटको लागत कम हुँदै गएको र यस भुक्तानी प्रणालीलाई डिजिटल बनाउन महत्वपूर्ण भूमिका खेलेको उल्लेख गरेको छ।
नेपालको भुक्तानी प्रणाली डिजिटल भएपनि साइबर सुरक्षा, इन्टरनेट डाटासम्बन्धी व्यक्तिगत गोपनियता, उपभोक्ता संरक्षण र डिजिटल वित्तीय साक्षरतालगायतका चुनौती भने बढ्दै गएको उल्लेख गरेको छ।
कोभिड कालयता नेपालमा मात्रै नभएर विश्वस्तरमा नै डिजिटल भुक्तानी बढेको छ। विश्वभर नगदरहित कारोबार करिब ६२ प्रतिशतले बढेको छ भने एसिया प्रशान्त क्षेत्रमा यसको वृद्धिदर ८२ प्रतिशत रहेको नेपाल राष्ट्र बैंकको तथ्यांकले देखाएको छ।
गत आर्थिक वर्षसम्म वालेट प्रयोगकर्ताको संख्या १ करोड ८९ लाख ४१ हजार रुपैयाँ पुगेको छ। आर्थिक वर्ष २०७८/७९ सम्ममा १ करोड ३६ लाख ७५ हजार वालेट प्रयोगकर्ता रहेका थिए। यस्तै गत आर्थिक वर्षसम्ममा कनेक्ट आईपीएसका प्रयोगकर्ता ११ लाख ८ हजार पुगेका छन्। अघिल्लो आर्थिक वर्ष कनेक्ट आईपीएसका प्रयोगकर्ता ८ लाख ९६ हजार रहेका थिए।
डिजिटल भुक्तानीसँगै पछिल्लो समय एटीएम कार्ड प्रयोगकर्ता पनि बढेका छन्। आर्थिक वर्ष २०७८/७९ को तुलनामा २०७९/८० मा एटीएम कार्डको संख्या २८ प्रतिशतले बढेको छ। आर्थिक वर्ष २०७७/७८ को तुलनामा २०७८/७९ मा एटीएम कार्डको प्रयोगकर्ता ६०.३ प्रतिशतले बढेको राष्ट्र बैंकको तथ्यांकले देखाएको छ।
गत आर्थिक वर्षसम्ममा एटीएम कार्ड प्रयोगकर्ताको संख्या १ करोड २२ लाख २ सय ४५ पुगेको छ। यस अवधिमा २ लाख ८४ हजार ग्राहकले क्रेडिट कार्ड लिएका छन्। डिजिटल कारोबार बढेसँगै चेकमार्फत हुने कारोबार वृद्धिदर भने घट्न थालेको छ।
आर्थिक वर्ष २०७७/७८ मा बैंक १ करोड ६७ लाख २६ हजार पटक कारोबार भएकोमा आर्थिक वर्ष २०७८/७९ को अन्त्यसम्ममा १ करोड ५२ लाख २१ हजार पटक कारोबार भएको छ।
यस्तै नेपालमा मोबाइल बैंकिङ प्रयोगकर्ता गत आर्थिक वर्षसम्ममा २ करोड १३ लाख ६४ हजार रहेको छ। आर्थिक वर्ष २०७८/७९ मा मोबाइल बैंकिङ प्रयोगकर्ताको संख्या १ करोड ८३ लाख ७ हजार रहेको थियो।
अघिल्लो वर्षको तुलनामा गत आर्थिक वर्ष मोबाइल बैंकिङका प्रयोगकर्ता १६.७ प्रतिशतले बढेको थियो। यस्तै इन्टरनेट बैंकिङको प्रयोगकर्ता १०.२ प्रतिशतले बढेर १८ लाख ५६ हजार पुगेको छ। आर्थिक वर्ष २०७८/७९ मा इन्टरनेट बैंकिङको प्रयोगकर्ता १६ लाख ८४ हजार रहेको थियो।