१ सय १३ किलोमिटर नारायणगढ-बुटवल सडकको स्तरोन्नति आयोजनामा दुईपटक समय थप हुँदा पनि आधा काम पनि भएको छैन। यसरी निर्माणको काम विलम्ब हुँदा स्थानीयस्तरमा जनजीवन संकटमा परेको छ। स्वास्थ्यदेखि स्थानीय अर्थतन्त्रसम्म यसबाट प्रभावित भएको छ। राजमार्ग क्षेत्रका जनताले अस्वभाविक संकटको सामाना गरिरहेका छन्।
स्थलगत अवलोकनका क्रममा हामीले यही विषयमा रहेर राजमार्गमै पर्ने नवलपरासीको वर्दघाट नगरपालिकाका प्रमुख शम्भुलाल श्रेष्ठसँग संक्षिप्त कुराकानी गरेका छौँ। प्रस्तुत छ श्रेष्ठसँग उत्तम काप्री र रवीन्द्र शाहीले गरेको कुराकानीको सम्पादित अंश-
नारायणगढ-बुटवल सडक विस्तारको दोस्रो पटक थप भएको समयमा पनि काम सम्पन्न नहुने निश्चित भएको छ। सन् २०२४ लाई अन्तिम समय बनाइएको छ। सम्रगमा ४२ प्रतिशतमात्रै काम भएको छ। पश्चिम क्षेत्रमा झनै कम काम भएको देखिन्छ। सडक विस्तारको काममा तीब्रताका बारेमा तपाईंहरूले चासो दिनुभएको छैन?
जनताले आफ्नो दु:ख सुखमा साथ पाइन्छ भनेरै हामीलाई प्रतिनिधिका रुपमा निर्वाचित गरेका हुन्। सडक विस्तारका भएको ढिलासुस्तीका कारण परेको समस्याको विषयमा स्वभाविक गुनासो गरिरहेका छन्।
मेयरको हैसियतमा मैले यहाँका सीडीओ र डीएफओलाई यहाँको नदीजन्य वस्तुको सहजता गरिदिनु पर्यो भनेर भनिरहेको छु। ठेकेदार कम्पनीकै प्रतिनिधिलाई राखेर ३/४ पटकसम्म मेरै कार्यकक्षमा बोलाएर काम छिटो गर्न र दिनुपर्ने स्रोत दिन्छौँ भनेको छु।
असहजता भएको ठाउँमा आफै उपस्थित भएर काममा सहजता पनि गराइरहेको छु। हाम्रो क्षमताले भ्याएसम्म काम गरिरहेका छौँ। खासमा जनताको गुनासो हामीलाई नै आउने भएकाले तदारुकता त दिइरहेका छौँ।
कहिँकतै काम रोकिएको अवस्थामा प्राविधिक, स्थानीय तथा उनीहरूको प्रतिनिधि राखेर काममा सहजता गरिदिने काम गरिरहेको छु। एक-दुई महिना अगाडिबाट केही काम भइरहेको छ। बर्दघाटको १२ किलोमिटर क्षेत्रमा अहिले काममा केही तीव्रता आएको छ। त्यसमा पनि ३ किलोमिटर जति कालोपत्रे भइसकेको छ। ९ किलोमिटर बाँकी छ।
अहिले काम गर्ने कामदार तथा उपकरण केही बढाएको देखिन्छ तर उनीहरूले हामीले निर्माण सामग्री पाएनौँ भनिरहेका छन्। मुख्य त नदीजन्य सामान नभएको चिनियाँपक्षको गुनासो छ। बाँकी रहेको ७-८ महिनाको अवधिमा काम सकिँदैन त्यो निश्चित हो।
सडक विस्तारको काममा भएको ढिलासुस्तीले आर्थिक, सामाजिक, सांस्कृतिक तथा जनजीविकामा कस्तो असर पारेको छ? कस्ता गुनासो धेरै आउने गरेको छ?
सडक विस्तारमा भएको ढिलासुस्तीको कामले असर नपारेको क्षेत्र कुनै पनि छैन। हिँडडुलमा असर गरेको छ। स-साना व्यापारीले सामान ओसारपसारमा समेत दु:ख पाएका छन्। यसले आर्थिक रुपमा हानी भएको छ। बजारमा हुने भीडभाड छैन। जसको असर व्यापारमा परेको छ।
सामाजिक रुपमा भन्दा पनि ठूलो असर आर्थिक रुपमा परेको छ। स्वास्थ्यमा समस्या परेको छ। निर्माण कम्पनीले बजार क्षेत्रमा पानीसमेत नहाल्दिँदा धुलो बढेको हुन्छ।
राष्ट्रिय गौरवको आयोजना जुन रुपले काम गर्नु पर्ने हो त्योअनुसार हुन सकेन। पछिल्लो पटक समय थप भएपछि मात्रै केही काम भएको छ। बीचमा त काम गरेजस्तो मात्रै भएको थियो।
धुलो धुवाँले मानव स्वास्थ्यमा असर अवश्य नै परेको छ। तपाईंहरू नगर अस्पताल पनि चलाउनु हुन्छ। धुलो धुवाको कारण देखा पर्ने रोगको असर कस्तो छ? बालबच्चा तथा दीर्घरोगीमा कस्तो असर गरेको छ? अस्पतालका आउनेको संख्या बढेको छ?
धुलो तथा धुवाँले स्वासप्रश्वासमा समस्या खडा गरेको छ। बच्चा, दीर्घरोगी तथा जेष्ठ नागरिकमा अलि बढी समस्या देखिएको छ। हाम्रो अस्पताल पनि राजमार्गको नजिकै भएका कारण विशेष सावधानी अपनाउनका लागि निर्माण कम्पनीलाई समेत अनुरोध गरिरहेका छौँ।
सामान्य समयको तुलनामा ४० देखि ५० प्रतिशतको संख्यामा स्वासप्रस्वासको समस्या लिएर मान्छेहरू अस्पताल पुग्ने गरेका छन्। जाडोसँगै यो झन बढेको छ।
सडक विस्तारमा भएको विलम्बले स्थानीय अर्थतन्त्रमा कस्तो असर गरेको अनुभव छ तपाईंको?
स्थानीय अर्थतन्त्रलाई यो विलम्बले धेरै असर गरेको छ। समयमै सम्पन्न नहुँदा यस्तो क्षतिको आयतन झन फराकिलो हुँदै गएको छ। १० मिनेटमा यात्रा हुने बाटोका लागि ३० देखि ४५ मिनेटसम्म खर्च गर्न परेको छ।
समयमात्रै होइन सवारी सधानमा प्रयोग हुने इन्जिन तथा इन्धनको खपतसमेत बढेको छ। यसले स्थानीयमात्र नभएर राष्ट्रिय अर्थतन्त्रमै असर गरेको छ।
अन्य क्षेत्रमाभन्दा अझ हाम्रोमा बजार क्षेत्र कम भएको हुँदा आर्थिक भार कम परेको छ। पहाड तथा जंगल क्षेत्र ८ किलोमिटर र बजार क्षेत्र ४ किलोमिटरमात्रै छ। जसक कारण असर कम परेको हो। जति बजार क्षेत्र छ त्यहाँ त समस्या छ नै।
स्थानीय बजारमा हुने व्यापार घटेको छ। त्यसमा निर्भर भएका हजारौँ मान्छेको जनजीवन प्रत्यक्ष प्रभावित भएको छ। बजारको गतिविधि सुस्त हुँदा हाम्रो स्थानीय सरकारको आम्दानी पनि प्रभावित भएको छ।
तपाईंहरूको क्षेत्रमा नदीजन्य सामाग्रीको समस्या छ भनेर निर्माण कम्पनीले रिपोर्टिङ गरेको रहेछ। के कारणले यस्तो भएको हो? कि कम्पनीले झुट बोलेको हो?
हाम्रो क्षेत्रमा ठूलो खोला छैन। स-साना खोलामात्रै छन्। केहीमात्रै ढुंगा छन्। जति छ त्यसको प्रयोग अनुमति दिने अधिकार हामीसँग छैन, चुरेसँग सहमति लिनु पर्ने हुन्छ। संघीय मन्त्रालयबाट स्थानीय रुपमा भएको नदीजन्य सामाग्री उपलब्ध गराइदिनू भनेर सर्कुलर भएको छ। त्यसमा पनि राज्यले तोकेको दररेट लागु हुन पर्छ भनिएको छ। जिल्ला प्रशासनबाट पनि त्यही भनिरहेको छ।
जिल्ला अनुगमन समितिको बैठकले पनि चुरेसँग सहमति लिन पठाइएको छ। सहमति आएपछि हामीसँग भएको स्रोत उपलब्ध हुन्छ। सरावल, सुनवल र देवदह नगरपालिकाको ठूला खोलाहरू छन्। त्यहाँबाट नै नदीजन्य सामाग्री व्यवस्थापनको लागि हामी लागिपरिरहेका छौँ। उहाँहरूले पनि चुरेसँग सहमति लिएरमात्र दिन पाउनुहुन्छ।
यो प्रक्रियामा स्थानीय सरकारसँग सर्वाधिकार छैन तर पनि हामीले निर्माण सामग्रीको अभाव नहोस् भनेर यसमा धेरै तदारुकता अनपाएका छौँ। यसमा सबैको समन्वय पनि छ।
सडकको विलम्बले जनतामा सास्ती थपेको छ। यसको प्रत्यक्ष गुनासो तपाईंहरूले नै सुन्ने हो। स्थानीय सरकारका रुपमा तपाईंहरूले कस्तो पहल गर्नुहुन्छ अब?
अब जनताले सहेर बस्ने समय सीमा नाघिसकेको छ। राजमार्ग धेरैपटक नै जाम भएको छ तर केन्द्र सरकारलाई यसको गम्भीरताका बारेमा चासो छ कि छैन भनेर हामीले बुझ्न सकेका छैनौँ।
स्थानीय जनप्रतिनिधिले दबाब त दिइरहेका छौँ तर हाम्रो दबाबलाई केन्द्र सरकारले हलुका रुपमा लिएको छ।
बजार क्षेत्रका व्यापारी पलायन भएका छन्?
केही न केही त पलायन भएका छन्। सडक विस्तारभन्दा पनि आर्थिक मन्दीका कारण व्यवसायमा समस्या देखिएको छ। राजमार्गको मुख्यत: होटल व्यवसायमा समस्या परेको छ। निजी सवारीमा आउनेहरू सवारी रोकेर बस्न नै चाहँदैनन्। जसका कारण स्थानीय उत्पादनले समेत बजार पाएको छैन।
व्यापार व्यवसाय कम भएको छ। राजमार्गमा व्यवसाय गरिरहेकाहरू पनि भित्र-भित्र सरेका छन्। राजमार्गमा बोर्डमा मात्रै राखेर पनि केहीले त व्यवसाय गरिरेका छन्। नसक्नेहरूको त अवस्था बिजोग नै छ। राजमार्ग क्षेत्रमा सवारी रोकेर चिया नास्ता खाने अवस्था चाहिँ छैन।
तपाईं त नारायणगढ-बुटवल सडक यात्रा गरिरहनु हुन्छ होला। सडक विस्तार सुरु हुनु अगाडि र अहिले कति समय लाग्छ?
बर्दघाटबाट साढे एक घण्टामा नारायणगढ पुगिन्थो पहिले, अहिले त ४ घण्टाभन्दा बढी समय लाग्छ। तेल पनि पहिले ४० लिटर लाग्थ्यो भने अहिले ६० लिटर लाग्छ। कुनै बेला त दोबर नै हुन्छ।
तपाईंहरूको क्षेत्रबाट संघीय प्रतिनिधिसभामा प्रतिनिधित्व गर्ने सांसदले सडक निर्माणमा तीव्रता दिन कस्तो पहल गर्नुभएको पाउनुभएको छ?
उहाँले पहल गरिरहनु भएको छ। सदन तथा सरकारलाई समेत दबाब दिइरहनु भएको छ। चिनियाँ प्रतिनिधिलाई राखेर काम समयमा सक्न दबाब दिइरहनुभएको छ। खासमा उहाँको काम नै अहिले यसैमा केन्द्रितजस्तो देखिन्छ। माननीय विनोद चौधरीले खासमा धेरै राम्रो भूमिका खेल्नुभएको छ।