काठमाडौं- युरोपियन युनियन (ईयू) को कालोसूचीबाट हटाउनका लागि नेपाल वायुसेवा निगम बाधक बनेपछि सक्षम एयरलाइन्सको सेफ्टी अडिट गर्नेगरी प्रक्रिया अगाडि बढाइने भएको छ।
ईयूले नेपाल वायुसेवा निगममा धेरै समस्या भएको उल्लेख गरेकाले अब अन्य एयरलाइन्सको अडिट गराएर कालोसूचीबाट हटाउने गरी नेपाल नागरिक उड्डयन प्राधिकरणले प्रक्रिया अगाडि बढाएको छ।
युरोपेली संघले नेपाल वायुसेवा निगमले नेपालको हवाई सुरक्षामा गम्भीर लापरबाही गरेको उल्लेख गर्दै प्रतिवेदन सार्वजनिक गरेको थियो। नेपाललाई कालोसूचीबाट हटाउन अब एक-एक एयरलाइन्सको अडिट गराएर पास हुने र कालोसूचीबाट ईयूले हटाउँदै लैजानेगरी प्रधिकरणले प्रक्रिया अगाडि बढाएको हो।
हिमालयले अन्तर्राष्ट्रिय हवाई यातायात संघ (आइएटा) को अपरेसन सेफ्टी अडिट प्रोग्राम (आइओएसए) मापदन्ड पाइसकेको छ।
यता आन्तरिक र क्षेत्रीयस्तरको उडान गरिहेको बुद्ध एयरको पनि ईयूबाट अडिट गराइने भएको हो। बुद्धले पनि (आइओएसए) मापदन्ड लिने काम अन्तिम चरणमा पुर्याएको छ। पहिलो चरणमा दुवै एयरलाइन्सले हवाई सुरक्षामा राम्रो व्यवस्था गरेकोले ईयूमार्फत दुई एयरलाइन्सको अडिट गराउन लागिएको हो।
प्राधिकरण स्रोतका अनुसार निगमको अहिलेको संरचनाले तत्काल नै छुटकारा नपाउने भएपछि एयरलाइन्सहरूले कालोसूचीबाट हटाउने रणनीति नियमक निकाय प्राधिकरणले लिएको हो।
नेपालमा दर्ता भएको हिमालयले मार्च २०२५ सम्मका लागि आइओएसए मापदन्ड पाएको छ। जुन मापदन्डले अमेरिका र युरोप उडान भर्न सहजै पाउने छ। जसका लागि नेपाल ईयूको कालोसूचीबाट हट्न अनिवार्य हो। हिमालय एयरलाइन्सले काठमाडौंबाट गल्फ उडान गर्ने र अर्को जहाजमार्फत युरोपको कुनै गन्तव्य उडानको तयारी गरेको छ। सोही कारण पनि प्राधिकरणले ईयूको अडिट गराएर सहजता दिन लागेको हो।
गत महिना सार्वजनिक भएको ईयूको प्रतिवेदनमा नेपाल वायुसेवा निगम र श्री एयरलाइन्सका कारण नेपाललाई कालोसूचीबाट हटाउन नसकिएको उल्लेख गरेको थियो।
प्रतिवेदनमा अडिटमा परेका नेपाल एयरलाइन्स र श्री एयरलाइन्समा सेफ्टी मापदण्ड पूरा नभएको उल्लेख गरिएको थियो। नियामकले देखाएका कमजोरी र निर्देशन परिपालना नगरेको, उडान तालिका व्यवस्थापन नभएको, उडान समय सीमितता, उडान योजनालगायत कारण देखाउँदै प्रतिबन्ध यथावत् राखिएको छ।
निगमका कारण अहिलेनै पुरै हट्ने अवस्था नदेखिएपछि प्राधिकरणले पालै पालो सबै एयरलाइन्सको अडिट ईयू मार्फत गराउने तर सुरक्षा पास गर्नेहरुलाई कालोसूचीबाट हटाउने जाने नीति लिएको हो। ईयूले एयरलाइन्सहरुलाई तोकेरै फुकुवा पर्ने गर्ने गरेको छ। सोही कारण प्राकिरणले सोही नीति लिन लागेको हो।
विगतमा युरोपियन युनियनले प्रातिवेदनमा गोलमोटल विषय उल्लेख गर्ने गरेता पनि यसपटक भने कुन निकायले के गर्ने भनेर बुदाँनै उल्लेख गरेर दिएको छ। ईयूले प्राधिकरणले गर्ने काम, एयरलाइन्सले गर्ने काम सबै लेखेर नै दिएको अवस्था छ।
ईयूले नेपाली हवाई आकाशलाई कालोसूचीमा राखेको एक दशकपछि नेपाल नागरिक उड्डयन प्राधिकरणप्रति सकारात्मक देखिएको छ। प्राधिकरणले एक वर्षयता हवाई सुरक्षामा उल्लेख्य सुधार गरेको विषय प्रतिवेदनमै उल्लेख गरेको छ।
ईयूले नेपाली वायुसेवा कम्पनीका जहाजलाई युरोपेली आकाशमा उडाउन लगाएको प्रतिबन्ध कायमै राखे पनि सुधारमा व्यापक सुधार भइरहेको प्रतिवेदनमा उल्लेख गरेको थियो।
सन् २०१३ डिसेम्बरदेखि ईयूले नेपाली जहाजलाई युरोपेली आकाशमा उडाउन प्रतिबन्ध लगाउँदै आएको छ। जसको निरन्तरता जारी छ।