सन् १९९८ डिसेम्बर ३१ का दिन स्थापना भएको नेपाल पर्यटन बोर्ड विभिन्न राजनीतिक, प्राकृतिक तथा जैविक समस्याहरूको सामना गर्दै विभिन्न उतारचढाव पार गर्दै २५ औँ वर्षमा प्रवेश गरेको छ। नेपाललाई एक आकर्षक पर्यटकीय स्थलको रूपमा अन्तर्राष्ट्रिय जगतमा परिचित गराउने उद्देश्यले २५ वर्षअघि नेपाल पर्यटन बोर्ड गठन गरिएको थियो।
पर्यटन व्यवसायको विकास, विस्तार र प्रवर्द्धन गर्ने, नेपाललाई सुरक्षित, भरपर्दो तथा आकर्षक पर्यटकीयस्थलको रूपमा उच्च एवं मर्यादित ढंगबाट स्थापित गर्ने, पर्यटकहरूलाई गुणात्मक सेवा प्रदान गर्न आवश्यकताअनुसार कार्यमूलक अनुसन्धान गर्ने, गराउने मुल उद्देश्य रहेको संस्थाले पर्यटन क्षेत्रमा खासगरी बजारीकरणमा काम गरिरहेको छ।
बन्द हड्तालका साथै भूकम्पलगायतका प्राकृतिक प्रकोप तथा पछिल्लो कोभिड महामारीबाट थलिएको पर्यटनलाई माथि उठाउनु पक्कै पनि चुनौतीपूर्ण थियो र छ नै। यद्यपी सरकार, निजी क्षेत्र तथा सरोकारवालाको सहकार्यबाट आज हामी यो अवस्थामा आइपुगेका छौँ। पर्यटनबाटै आर्थिक समृद्धिको लक्ष्य हासिल गर्ने योजनामा छौँ।
सार्वजनिक निजी साझेदारी (पीपीपी) को अवधारणामा स्थापित यो संस्थाले आफ्नो स्थापनाकालदेखि नै अनवरतरुपमा नेपाललाई विश्वसामु परिचित गराउँदै नेपालमा बढीभन्दा बढी पर्यटक ल्याउने तथा आन्तरिक पर्यटनलाई चलायमान बनाउने काममा निरन्तर लागिरहेको छ।
सन् १९९८ मा बोर्डको स्थापना गर्ने क्रममा ४ लाख ६३ हजार ६ सय ८४ पर्यटकले नेपाल भ्रमण गर्ने गरेकामा त्यसपछि आयोजना गरिएको नेपाल भ्रमण वर्ष २०११ र भिजिट नेपाल २०२० सम्म आइपुग्दा नेपालमा प्रतिवर्ष १२ लाख पर्यटकले नेपाल भ्रमण गर्ने गरेको पछिल्लो तथ्यांक हो। सन् २०१९ मा नेपाल आउने पर्यटकको संख्या ११ लाख ९७ हजार १ सय ९१ थियो।
नेपाल भ्रमणवर्ष २०२० को औपचारिक उद्घाटन गरिएपनि विश्वव्यापी कोरोना महामारीले त्यो अभियान सफल हुन सकेन। कोरोनाको कारण विश्यव्यापीरुपमा पर्यटन परेको असरबाट नेपाल पनि अछुतो रहन सकेन। २०२०, २०२१ र २०२२ हाम्रा लागि त्यति सुखद रहेन। यद्यपी सन् २०२३ को अन्तसम्म आइपुग्दा हामीले १० लाखभन्दा बढी पर्यटक नेपाल भित्र्याउन सफल भएका छौँ। जुन २०१९ को तुलनामा ८५ प्रतिशत पुनरुत्थान हो। नेपालले हासिल गरेको यो पुनरुत्थान दक्षिण एसियामा अग्र स्थानमा नै पर्दछ। त्यसैले पनि हाम्रो पर्यटन कोभिडपछि विस्तारै लयमा फर्किंदै छ भन्न सकिन्छ।
कोभिड-१९ ले गर्दा पर्यटन उद्योग सबैभन्दा बढी प्रभावित भयो। कोभिडले विश्व नै आक्रान्त र अस्तव्यस्त भएको अवस्थामा देशमा रहेका विदेशी पर्यटकलाई सुरक्षित रुपमा उनीहरूको देश फर्काउनु चुनौतीपूर्ण कुरा थियो। यद्यपी नेपाल सरकार, पर्यटनसम्बद्ध विभिन्न संघसंस्थाहरूको पहलमा नेपालका विभिन्न भागमा रहेका पर्यटकलाई काठमाडौंमा भेला गरी सुरक्षित गन्तव्यमा पुर्याउन सफल भयौँ। कोभिडको जोखिमकाबीच गरिएको उक्त चुनौतीपूर्ण समयमा बोर्डले गरेको यो कार्यको प्रशंसा गर्दै नेपालले 'ओन्डरलस्ट अवार्ड' समेत प्राप्त गर्न सफल भएको छ।
त्यसकासाथै कोभिडले पर्यटन क्षेत्रसँग सम्बन्धित रोजगारीमा प्रत्यक्ष असर गरेको र ठूलो संख्यामा पर्यटन मजदूरहरू बेरोजगार भएर बस्नु परेको अवस्थामा नेपाल पर्यटन बोर्डले संयुक्त राष्ट्रसंघीय विकास कार्यक्रम (युएनडीपी)को सहलगानीमा जीविकोपार्जन पुनरुत्थानका लागि दिगो पर्यटन परियोजना (एसटीएलआरपी) नामक परियोजना सुरु गरेर पर्यटनसँग सम्बद्ध संस्थाहरूसँगको सहकार्यमा पहिलो वर्ष नै ६ हजारजना पर्यटन मजदूरहरूलाई अल्पकालीन रोजगारी सिर्जना गर्ने काम गर्यो। यस्तै यो परियोजनाबाट स्थानीय स्रोतमा विभिन्न पर्यटकीय गन्तव्यको विकास विस्तार, जनशक्ति विकास तथा पुराना पर्यटकीय गन्तव्यको मर्मतसम्भार गर्ने काम भएको छ।
बोर्डले गरेको यो कार्यको मूल्यांकन गर्दै अन्तर्राष्ट्रिय स्तरबाट बोर्डले सन् २०२१ मा 'पाटा गोल्ड अवार्ड' प्राप्त गर्न सफल भयो भने कोभिडपछि महिला एवं यौनिक तथा लैंगिक अल्पसंख्यक (एलजीबिटीआई) समुदायलाई पर्यटनसँग जोड्न परियोजनाले सञ्चालन गरेका विभिन्न रोजगारमूलक तालिम तथा कार्यक्रमबाट महिला एवं यौनिक तथा लैंगिक अल्पसंख्यकहरू लाभान्वित भए।
परियोजनाले गरेको यसप्रकारको कार्यलाई प्रोत्साहन गर्दै बोर्डले २०२२ मा समेत अर्को पाटा गोल्ड अवार्ड प्राप्त गर्यो। कोभिडपछि नेपालको पर्यटन चलायमान बनाउन र नेपाल अन्तर्राष्ट्रिय रुपमा मास टुरिजममा सक्षम छ भन्ने सन्देश प्रवाहित गर्न पनि हामीले यो बीचमा (युएनडब्लुटीओ) को अन्तर्राष्ट्रिय सम्मेलन, पाटाको अन्तर्राष्ट्रिय सम्मेलन, दिगो पर्यटन सम्मेलन मित्रराष्ट्र चीनसँगको सहकार्यमा ड्रागनबोट फेस्टिवल, क्रस कन्ट्रि म्याराथन तथा भारतीय दूतावासको सहकार्यमा योग शिविर तथा अन्तर्राष्ट्रिय योगगुरु रामदेवलाई नेपाल भ्रमण गराइ विभिन्न कार्यक्रमसहित अन्य विभिन्न अन्तर्राष्ट्रियस्तरका सम्मेलन सम्पन्न गरेका छौँ।
बोर्डको अग्रसरतामा नेपालले आयोजना गरेका दिगोपर्यटन सम्मेलनको विषय जलवायु परिवर्तन, पछिल्लो समय संयुक्त राष्ट्रसंघका महासचिवको नेपाल भ्रमण र नेपालले कोप सम्मेलनका दौरान विश्व मञ्चमा उठाएका विषयसँग सम्बन्धित विषयमा हामी निरन्तर विश्व मञ्चमा आफ्ना कुरा राखिरहेका छौँ।
यद्यपी अहिले हामीसामु कोभिडले थलिएको पर्यटन उद्योगको विकास र विस्तार गर्न नयाँ गन्तव्यस्थलको खोजी गरी त्यसको विकास र विविधीकरण गर्ने, पर्यटकीय पूर्वाधारको विकास गर्न यस क्षेत्रमा लगानी बढाउने, पर्यटन उद्योगलाई ग्रामीण तहसम्म विकास र विस्तार गर्नुपर्ने आवश्यकता छ।
प्रधानमन्त्रिको पछिल्लो सम्बोधनबाट सरकारले पर्यटनलाई प्राथमिकतामा राखेर अगाडि बढ्न चाहिरहेको छ भन्ने सन्देश प्रवाह भएको छ। निर्माण सम्पन्न भएका गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थल र पोखरा अन्तर्राष्ट्रिय विमानस्थलको प्रभावकारी सञ्चालन गर्न सक्यौँ भने पर्यटकको आवागमन बढ्ने नै छ।
आउने १० वर्षमा वार्षिक ३५ लाख पर्यटक ल्याउने सरकारको लक्ष्य हासिल गर्न सकिन्छ। यसका लागि ‘नेपाल फर अल सिजन’ र ‘नेपाल फर अल ऐज’ जस्ता ‘क्यम्पियन’ सञ्चालन गर्नुका साथै घोषणा गरेर पनि २०२० मा कोभिडले गर्दा सफल हुन नसकेको नेपाल भ्रमण वर्ष-२०२० अर्को संस्करणका रुपमा नेपाल भ्रमण वर्ष-२०२५ घोषणा गरेर अगाडि बढ्न आवश्यक छ। जसका लागि नेपाल पर्यटन बोर्ड र नेपालको निजी क्षेत्र तयार अवस्थामा नै छ।
पर्यटनको विकासबाट आर्थिक क्रियाकलापमा अभिवृद्धि गरी रोजगारी सिर्जना गर्दै गरिबी न्यूनीकरण गर्ने, क्षेत्रीय विकास तथा आर्थिक वृद्धि हासिल गर्ने, राष्ट्रिय तथा अन्तर्राष्ट्रिय रूपमा पर्यटन प्रवर्द्धनमार्फत संख्यात्मक तथा गुणात्मक रूपमा पर्यटक आगमनमा वृद्धि गर्नको लागि समयसापेक्ष ऐननियमको आवश्यकता महसुस गरिएको छ।
पर्यटन उद्योगमा देखिएका चुनौतीहरूको सम्बोधन गर्नका लागि सरकार, निजी क्षेत्र तथा गैरसरकारी क्षेत्रसमेतको संयुक्त लगानी, तत्परता र सोचमा परिवर्तनको आवश्यकता हुन्छ नै। पर्यटनको बदलिँदो परिवेशअनुरुप नयाँ ऐनकानूनको लागि पर्यटनमन्त्री र मन्त्रालयले लिएको अग्रसरताले समयसापेक्ष ऐन आउने नै छ। यसबाट नेपालको पर्यटन थप चलायमान हुने अपेक्षा गर्न सकिन्छ।
पर्यटन उद्योगलाई अर्थतन्त्रको मेरुदण्डका रूपमा लिने गरेको परिपेक्ष्यमा बनिरहेका पूर्वाधार, पर्यटनमा निजी क्षेत्रको बढ्दो लगानी र नेपालको पर्यटनको आफ्नै मौलिकताले नेपालमा पर्यटन व्यवसायको विकास र विस्तारको सम्भावना भने प्रशस्त छ। सबैको सहयोग र सहकार्यबाटै हामी नेपालको पर्यटनलाई नयाँ उचाइ दिन सक्छौँ भन्ने विश्वास छ।
(रेग्मी नेपाल पर्यटन बोर्डका प्रमुख कार्यकारी अधिकृत हुन्।)