काठमाडौं- उद्योगपति पशुपति मुरारकाले नेपाल विद्युत प्राधिकरणले झुटको खेती गरेको आरोप लगाएका छन्।
डेडिकेटेड फिडरबाट बिजुली लिएको विषयमा रहेको भनिएको बक्यौताको सम्बन्धमा प्राधिकरणले स्टन्टबाजी गरेको उनले आरोप लगाएका हुन्। नेपाल विद्युत प्राधिकरणले अहिलेसम्म प्रमाण भनेर सार्वजनिक गरेका तथ्यांक नै झुटा रहेको उनले बताएका छन्।
संसदको सार्वजनिक लेलेखा समितिले भन्दै नभनेको विषयलाई आधार बनाएर प्राधिकरणले अहिले बत्तीको लाइनसम्म काट्ने काम गरेको उनले बताए। बत्ती लिएको बिलका आधारमा भुक्तानी लिनुपर्ने निर्देशनबिपरीत गएर प्राधिकरणले जबरजस्ती गरिरहेको उनको भनाइ छ।
उद्योगीहरूलाई चोरको जस्तै व्यवाहर गरेर बत्तीको लाइन काट्ने काम प्राधिकरणबाट भएको उनले बताए।
‘एक त हुँदै नभएको प्रमाणको पैसा उठान खोजिएको छ भने अर्कोतिर उद्योगलाई चोरजस्तै प्रस्तुत गरिएको छ। यो देशमा उत्पादन गर्नेको खलनायकीकरणबाट फाइदा कसलाई हुन्छ? भोलि उद्योगहरू डुबे भने प्राधिकरण चाहिँ कसरी उक्सिन्छ?’ उनले प्रश्न गरे।
नियममा टीओडी मिटरमा भएको विवरणअनुसार बिल काट्ने र सोही बिलअनुसार उद्योगले भुक्तानी गर्नुपर्ने व्यवस्था रहेको छ। तर प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङले अहिलेसम्म त्यस्तो विवरण दिन नसकेको उनले बताए।
‘यदि चोरेर बिजुली प्रयोग भएको भए त्यहीअनुसार कारबाही हुने होला। तर होइन भने प्रमाण दिनुहोस् पैसा तिर्छौं। उद्योग बन्द गरे समस्या समाधान हुँदैन। १० दिनदेखि उद्योग बन्द भएको छ। निर्यात गर्ने सामान अर्डर क्यान्सिल गर्नु परेको छ। छिनोफानो गरौँ सँगै बसौँ तपाईं प्रमाण दिनुस् हामी पैसा तिर्छौं, होइन भने गलत बिलको भारी हामी बोक्दैनौँ, तपाईंले जिम्मा लिनु पर्दछ’ मुरारकाले भने।