कैलाली- कैलाली भन्सार कार्यालयले चालु आर्थिक वर्षको पाँच महिनामा लक्ष्यअनुसारको राजस्व संकलन गर्न सकेको छैन। मङ्सिर मसान्तसम्म चार अर्ब ५८ करोड ३५ लाख रूपैयाँ राजस्व संकलन गर्ने लक्ष्य रहेकामा दुई अर्ब ९६ करोड ७१ लाख रूपैयाँमात्रै संकलन भएको भन्सार कार्यालयका सूचना अधिकारी पवित्रकुमार खड्काले जानकारी दिए।
खड्काका अनुसार चालु आवको साउनमा ७२ करोड ३५ लाख लक्ष्य रहेकामा ४६ करोड ८२ लाख रूपैयाँ, भदौमा ८८ करोड ४० लाख लक्ष्य रहेकामा ५१ करोड ९३ लाख रूपैयाँ, असोजमा ९७ करोड ८१ लाख लक्ष्य रहेकामा ६३ करोड १४ लाख रूपैयाँ, कात्तिकमा ९७ करोड ५२ लाख लक्ष्य रहेकामा ६१ करोड ६४ लाख रूपैयाँ र मङ्सिरमा एक अर्ब दुई करोड २५ लाख लक्ष्य रहेकामा ७३ करोड ३४ लाख रूपैयाँमात्रै राजस्व असुली भएको छ।
भन्सार कार्यालयको चालु आव २०८०/८१ मा वार्षिक राजस्व संकलनको लक्ष्य ११ अर्ब ५८ करोड २४ लाख रूपैयाँ रहेको छ। चालु आवको पाँच महिना अर्थात् मङ्सिर मसान्तसम्म दुई अर्ब ९६ करोड ७१ लाख रूपैयाँ मात्रै राजस्व संकलन भएको छ जुन वार्षिक लक्ष्यको २५ दशमलव ६१ प्रतिशत मात्र रहेको सूचना अधिकारी खड्काले जानकारी दिए।
भन्सार कार्यालयले गत आव २०७९/८० मा पनि कुनै महिनामा राजस्व संकलन लक्ष्यमा पुग्न नसकेको जनाएको छ। गत आवमा वार्षिक राजस्व संकलनको लक्ष्य १२ अर्ब ३० करोड ६६ लाख रहेकामा आठ अर्ब २९ करोड ६३ लाख रूपैयाँ असुली भएको थियो। जुन लक्ष्यको ६७ दशमलव ४१ प्रतिशत मात्रै रहेको जनाइएको छ।
आयातमा कमी भएसँगै राजस्व संकलनमा कमी आएको सूचना अधिकारी खड्काको भनाइ थियो। उनले भने, 'आयात घट्यो, बढी राजस्व असुली हुने सामान आयातमा कमी आयो। त्यसले राजस्व संकलनमा पनि कमी आएको हो।' उनका अनुसार राजस्व संकलनको लक्ष्य वृद्धि पनि ४० प्रतिशतले बढेर आएकाले राजस्व संकलन लक्ष्यमा पुग्न नसकेको हो। रासस