काठमाडौं- अर्थमन्त्री डा. प्रकाशशरण महतले फर्निचर व्यवसाय आर्थिक क्रियाकलापको महत्त्वपूर्ण क्षेत्र भएको बताएका छन्।
नेपाल फर्निचर तथा फर्निसिङ व्यवसायी महासंघको नवौँ वार्षिक साधारणसभा तथा पाँचौँ महाधिवेशनको उद्घाटन सभामा अर्थमन्त्री महतले फर्निचरको क्षेत्रमा नेपाल आत्मनिर्भर बन्न सक्ने र निर्यातको सम्भावना पनि प्रशस्त रहेको बताए।
'हामीले विशिष्ठ किसिमका फर्चिनर निर्माण गर्न सक्छौँ। जसको माग देशबाहिर पनि हुन सक्छ’, मन्त्री महतले भने, ‘यो व्यवसायलाई प्रोत्साहन गर्न सरकार कटिबद्ध छ। हाम्रो बजेटको नीतिअनुसार तयारी सामानमा बढी भन्सार र यहीँ उत्पादन हुने तर बाहिरबाट ल्याइने कच्चा पदार्थमा थोरै भन्सार दर लाग्छ। यहीँ उद्योग व्यवसाय फस्टाउन सकोस् भनेर यो नीति अवलम्बन गरिएको हो।'
उनले नेपाली उत्पादन पनि आकर्षक र टिकाउ हुनुपर्नेमा जोड दिए। उनले भने, ‘हाम्रा उत्पादन पनि आकर्षक र टिकाउ हुन जरुरी छ। ऐन, नियम र कानूनले फर्निचर उद्योगमा समस्या आएको भनिएको छ, त्यसलाई फुकाउन सरकार लागेको छ।’
नेपाली उद्योगलाई सहज गर्ने कुरामा सरकारले सहयोग पुर्याउने उनले प्रतिबद्धता जनाए। 'वनमा काठ कुहिएर जाने, उपयोग नहुने व्यवस्था हट्नुपर्छ। आयातित वस्तुसँग प्रतिस्पर्धा गर्ने गरी हामीले काम गर्नुपर्छ', अर्थमन्त्री महतले भने, 'यो व्यवसायमा हामी आत्मनिर्भर भएर बाहिर निर्यात गर्ने अवस्थामा हामी पुग्नुपर्छ।’