काठमाडौं- हवाई यात्रुको संख्या बढेसँगै हवाई उद्योग विस्तार हुँदै छ। सहयोगमा पाएको दुईवटा वायुयानबाट उडान सुरु भएको नेपालको नागरिक उड्डयन क्षेत्रमा अहिले २२ वटा कम्पनी सञ्चालनमा छन्। सञ्चालनमा रहेको गुण एयर भने बन्द भएको छ।
मनाङ एयरको दुईवटै हेलिकप्टर दुर्घटनापछि अहिले उडान बन्छ छ। २० वटा नेपाली वायुसेवा कम्पनीले भने आन्तरिक, अन्तर्राष्ट्रिय तथा हेलिकप्टर सेवा दिँदै आएका छन्। यातायातका लागि सडक मार्गभन्दा हवाई मार्ग सुरक्षित र भरपर्दो मानिन्छ। त्यसमा पनि देशभरको राजमार्ग विस्तारसँगै सडकको यात्रा कष्टकर भएको बेला हवाई यात्रा अनिवार्य जस्तै भएको छ।
स्टल उडान गर्ने जहाजको संख्या भने घट्दो छ। हेलिकप्टर र ट्रंक रुटमा उडान गर्ने जहाजको संख्या भने बढ्दो छ। हवाई यात्रुको संख्या बढेसँगै हवाई कम्पनीले पनि लगानी विस्तार गरिरहेका छन्।
पछिल्लो समय हवाई कम्पनीबीच जहाज थपेर सेवा विस्तार गर्ने प्रतिस्पर्धा बढेको छ। नेपाल नागरिक उड्डयन प्राधिकरणले दिएको जानकारीअनुसार अहिले सबैभन्दा बढी जहाज भएको एयरलाइन्स बुद्ध एयर हो।
बुद्ध एयरसँग अहिले १७ वटा एटीआर जहाज छन्। बुद्धसँग १४ वटा एटीआर ७२ र ३ वटा एटीआर ४२ जहाज छन्। आन्तरिक उडानमा बुद्ध एयर जहाज संख्या र सेवाको हिसाबमा नम्बर १ कम्पनी हो। बुद्धले स्टलमा भने उडान गरेको छैन।
बुद्धले स्टल उडानको तयारी पनि गरिरहेको छ। साथै बुद्धले थप जहाज पनि ल्याउने तयारीमा छ। यसैगरी आन्तरिक उडानमा रहेको यती एयरसँग ५ वटा जहाज छन्। यतीसँग रहेका पाँचवटै जहाज एटीआर ७२ हो। यात्रुलाई दिएको सेवाको आधारमा यती दोस्रो कम्पनी हो तर यतीभन्दा श्रीसँग जहाज बढी छन्। श्री एयरसँग ८ वटा जहाज छन्।
चारवटा सीआरजे र चारवटा क्यू फोर ८०० जहाज छन्। श्री आन्तरिक उडानमा तेस्रो बढी बजार हिस्सा भएको कम्पनी हो। यसैगरी आन्तरिक उडानमा रहेको सौर्य एयरसँग तीनवटा जहाज छन्। जसमा दुईवटा मात्रै उडानयोग्य रहेको छ। आर्थिक संकटमा परेर उडान नै बन्द भएको गुणसँग ७ वटा जहाज छन्। अहिले गुणको उडान छैन।
यसैगरी स्टल उडानमा रहेको तारा एयरसँग तीन वटा, समिटसँग चार र सीतासँग तीनवटा जहाज छन्। सीतासँग रहेको तीनवटा जहाजमध्ये एउटा उडानयोग्य छैन।
यसैगरी सरकारी स्वामित्वको नेपाल एयरलाइन्सले आन्तरिक उडानमा दुईवटा ट्वीनअटर जहाज सञ्चालन गरिरहेको छ। एउटा ट्वीनअटर जहाज भने ११ वर्षदेखि ग्राउन्डेड छ।
यसैगरी ५ वटा चिनियाँ जहाज बिक्री प्रक्रियामा छ भने तीनवटा स्टल उडानका लागि निगमले जहाज खरिद गर्दै छ। यसबाहेक निगमसँग अन्तर्राष्ट्रिय उडानमा दुईवटा न्यरोबडी र दुईवटा वाइडबडी जहाज रहेको छ।
यसैगरी अन्तर्राष्ट्रिय उडानमा नै रहेको स्वदेशी कम्पनी हिमालय एयरलाइन्ससँग चारवटा जहाज छन्। कतिपय हेलिकप्टर कम्पनी र जहाज कम्पनी पाइपलाइनमा रहेका छन्।
हेलिकप्टर सेवामा १२ कम्पनी
नेपालमा १२ वटा हेलिकप्टर कम्पनीले सेवा दिइरहेका छन्। १२ कम्पनीमध्ये मनाङ एयर भने अहिले बन्द छ। दुईवटा हेलिकप्टर नै दुर्घटना परेपछि कम्पनीको उडान बन्द भएको छ।
यसका बाहेक एयर डाइनेष्ट्रिकसँग ४ वटा हेलिकप्टर रहेको छ। यसैगरी पछिल्लो समय आक्रमक बजार विस्तार गरिरहेको कैलाश हेलिकप्टरसँग ३ वटा हेलिकप्टर रहेको छ।
हेलिकप्टर सेवामा लामो समयदेखि काम सेवा दिँदै आएको सिम्रिक एयरसँग तीनवटा र हेलिएभरेष्टसँग तीनवटा हेलिकप्टर रहेको छ।
यसैगरी फिस्टेलले दुईवटा, माउन्टेनले दुईवटा, मुस्ताङले दुईवटा, प्रभु हेलिकप्टरले दुईवटा, अन्नपूर्णले एउटा, अल्टिच्युटले दुई र श्रीको दुईवटा हेलिकप्टर उडानका रहेका छन्। हेलिकप्टर क्षेत्रमा मात्रै १२ अर्ब रुपैयाँभन्दा बढी लगानी भइसकेको छ।
सेवामा सहजता
सेवा विस्तार र जहाज संख्या बढ्दै जाँदा हवाई यात्रुले पनि सहज र सस्तो दरमा यात्रा गर्न पाएका छन्। हवाई क्षेत्रमा लगानी विस्तार भए पनि हवाई क्षेत्रको विकासमा आवश्यक मात्रामा पूर्वाधारको विकासले प्राथमिकता पाउन सकेको छैन। नेपालको हवाई इतिहासमा पहिलो पटक सन् १९४९ मा चार सिट क्षमताको बोनान्जा बीचक्राफ्ट ल्यान्ड भएको थियो।
बोनान्जा बिचक्राफ्ट ल्यान्डले नै नेपालको हवाई क्षेत्रको ढाका खोलेको थियो। योसँगै सन् १९५० मा हिमालय एभिएसन डाकोटा चार्टर फ्लाइटले झन नेपालको हवाई क्षेत्रलाई मजबुत बनाउन सहयोग भएको थियो। त्यसलगत्तै राजा मेहन्द्रले गौचरन विमानस्थल (हालको त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल) उद्घाटन गरेलगतै सन् १९५८ मा तत्कालीन शाही नेपाल वायुसेवा निगमले आन्तरिक र बाह्य उडान सुरु गरेको हो। सन् १९६४ मा त्रिभुवन विमानस्थलले अन्तर्राष्ट्रिय विमानस्थलको मान्यता पाएसँगै नेपालको हवाई उद्योगमा अवसर थपिएको थियो।
यही क्रममा अहिले हामी सन् २०२३ को अन्तिमसम्ममा आइपुग्दा १२ वटा हेलिकप्टर कम्पनी, ९ वटा जहाज कम्पनी र ३० वटा जति अन्तर्राष्ट्रिय वायुसेवा कम्पनीहरूले नेपालबाट ३३ वटा गन्तव्यमा उडान गरिरहेका छन्। हामीसँग अहिले ५४ वटा विमानस्थल छन्। ३ वटा चाहिँ अन्तर्राष्ट्रिय विमानस्थल छन्। ५१ वटा आन्तरिक विमानस्थल छन्। ५१ वटामा ३० वटा चलेका विमानस्थल छन्। २१ वटा बन्द छन्।
नेपालको हवाई इतिहासका अग्नि, काष्ठमण्डप, कस्मिकलगायत एयरलाइन्स भने बन्द हुन पुगे। पछिल्लो सयमा गुण एयरलाइन्स बन्द भएको छ। सञ्चालनमा आएका हवाई कम्पनी बन्द हुँदा नेपालको हवाई उद्योगमा केही नकारात्मक सन्देश फैलिएको थियो।
हवाई इतिहासमा नेपाली आकाशले एकसय वटा जहाज दुर्घटना भोगिसकेको अवस्था छ। पछिल्लो समय पोखरामा यतीको जहाज दुर्घटनामा मात्रै ७२ जनाले ज्यान गुमाएका थिए। त्यसपछि मनाङको हेलिकप्टर दुर्घटनामा समेत मानवीय क्षती भएको थियो।
सिंगल इन्जिन क्षमताको जहाजबाट सुरु भएको नेपालको हवाई यातायातको क्षेत्रमा अहिले अध्याधुनिक र सुविधासम्पन्न जहाजसमेत आइसकेका छन्। आन्तरिक उडानमा मात्रै अहिले सीआरजे जहाजदेखि एटीआर जहाज आइसकेका छन्।
जहाजको संख्या बढेसँगै नेपाल नागरिक उड्डयन प्राधिकरणले विमानस्थल विस्तारलाई पहिलो प्राथमिकतामा राखेर काम गरिरहेको छ।
अबको ५ वर्षभित्र देशभरका आन्तरिक विमानस्थलमा सुविधासम्पन्न टर्मिनल भवन हुने छ। तराइका सबै विमानस्थलमाबाट रात्रीकालीन उडान भइसकेको हुने छ। पहाडी विमानस्थलको रनवे पनि एक हजार मिटरको बनाउने गरी प्राधिकरणले काम गरिरहेको छ। हवाई उद्योगमा मात्रै सरकारी र निजी क्षेत्रको गरी साढे दुई खर्ब रुपैयाँभन्दा बढी लगानी विस्तार भइसकेको छ।