काठमाडौं- विस २०३२ सालमै पोखरेली जनताले अन्तर्राष्ट्रिय विमानस्थलको सपना देखेका थिए। पहिलेदेखि नै विदेशी र स्वदेशी दुवै पर्यटकका लागि आकर्षक सहर थियो पोखरा। पर्यटकको आउजाउ देखेका स्थानीयले २०३२ सालमै विदेशबाट सिधा पर्यटक झारेर स्वागत सत्कार गर्न देखेको सपना २०७९ साल पुस १७ गते पूरा भयो।
सरकारले २०३२ सालमै विमानस्थल बनाउने भनेर तीन हजार रोपनी जग्गा अधिग्रहण गरेको थियो तर विमानस्थल बनाउने सुरसार नदेखेका पोखरेलीहरूले गणतन्त्र आएपछि त आन्दोलन नै गरे। पोखरेलीको आन्दोलन पोखरामा मात्रै सीमित थिएन काठमाडौंमै आएर धर्ना बसेका थिए। नागरिकले आन्दोलन नै गरेपछि राज्य विमानस्थल बनाउने निर्णय गर्न बाध्य भएको थियो।
पोखरा अन्तर्राष्ट्रिय विमानस्थलको निर्माण सम्पन्न भएसँगै सञ्चालनमा आएको एक वर्ष पूरा हुनै लागेको छ। तर यसमा अन्तर्राष्ट्रिय उडानलाई योजनाअनुरुप जोड्ने वृहत कामहरू भने अझै सफल हुन सकेको छैन।
पोखरेलीको आन्दोलनपछि पोखरा विमानस्थल सन् २०१२ मा त्रिशुली थर्ड ए आयोजनमा जस्तै इन्जिनियरिङ प्रक्योरमेन्ट र निर्माण (ईपीसी) मोडलमै बनाउने गरी तय गरिएको थियो। पोखरेलीहरूले आयोजना निर्माणका लागि भन्दै २०६८ मा दुई हजार चार सय दुई जना रिले अनसन नै बसेका थिए। चार वर्षमा निर्माण सम्पन्न गर्ने लक्ष्यसहित तत्कालीन प्रधानमन्त्री केपी शर्मा ओलीले २०७३ बैशाख १ गते शिलान्यास गरेका थिए। निर्माणको जिम्मा चिनियाँ निर्माण कम्पनी चाइना सीएएमसी इन्जिनियरिङले पाएको थियो।
चीनको एक्जिम बैंकको ऋण तथा अनुदान सहयोगमा करिब २२ अर्ब रुपैयाँको लागतमा विमानस्थलको निर्माण भएको हो। विमानस्थल करिब ३ हजार ७ सय रोपनी क्षेत्रफलमा निर्माण भएको छ। विमानस्थलमा तीन ठूला र आठ साना गरी ११ वटा जहाज पार्किङ क्षमता रहेको छ। धावन मार्ग दुई हजार पाँचसय मिटरको रहेको विमानस्थलको चौडाइ ४५ मिटर छ। विमानस्थलमा १४ वटा आन्तरिक र अन्तर्राष्ट्रिय टर्मिनल भवन रहेका छन्।
विमानस्थलको मुख्य भवनसँगै १४ भवनको निर्माण र सजावट गरिसकिएको छ। त्यस्तै आन्तरिक र बाह्य टर्मिनल भवन, धावनमार्ग, एयर ट्राफिक कन्ट्रोल रुम, ट्याक्सी वे, पार्किङ तथा ड्रेन, हाई मास्ट फ्लड लाइट, ट्रान्सफर्मर बक्स, फुटपाथ, लिफ्ट, विमानस्थललाई राजमार्गसँग जोड्ने सडक, विमानस्थलभित्रका स्थानलाई जोड्ने सडक, जहाज पार्किङ, एयर साइड र ल्यान्ड साइडलगायतका काम सबै सम्पन्न भइसकेको छ।
विमानस्थल निर्माणको कुल लागत २१ करोड ७० लाख डलर लागेको थियो। उक्त सबै रकम चिनियाँ बैंकले सरल ऋणमा दिएको हो। विमानस्थलको लागि थप ६ सय २९ रोपनी जग्गाका अधिग्रहण गरेको थियो। २०३२ सालमा सरकारले विमानस्थल बनाउन ३ हजार १ सय ६ रोपनी जग्गा अधिग्रहण गरेर राखेकोे थियो। नयाँ विमानस्थलमा बोइङ ७५७, एयरबस ३२० लगायतका जहाज अवतरण गर्नसक्ने छन्। विमानस्थलको २ हजार ५ सय मिटर लम्बाइ र ५० मिटर चौडा धावनमार्ग, एरोब्रिज समेत रहेको छ।
विमानस्थलपछि वृहत्तर पोखरा
१० वर्ष लगाएर निर्माण गरिएको आयोजनामा सञ्चालनमा आएको एक वर्ष पूरा भएको छ तर पोखरेलीले देखेको सपना भने अधुरै छ। विमानस्थलमा चीन, भारतमात्रै नभएर विश्वभरका जहाजले यात्रु ल्याएको र बृहत्तर पोखरा देख्ने सपना भने अधुरै छ। परियोजना बने पनि व्यावसायिक रुपमा सफल सञ्चालन भने हुन सकेको छैन।
पोखरामा घुम्ने गन्तव्य नै ४२ स्थान रहेका छन्। साहासिक पर्यटनअन्तर्गत प्याराग्लाइडिङ, अल्ट्रालाइट, बन्जी जम्प, जिपलाइन लगायत रहेका छन्। अबको यी गन्तव्य र गतिविधि माथिल्लो मुस्ताङसम्म पुर्याउने सरकारी योजना छ। पोखरा आउने पर्यटकको बसाइ अवधी लम्ब्याउने र माथिल्लो मुस्ताङसम्म सहजै पर्यटक पुर्याउने लक्ष्य सरकारी योजना रहेको छ।
पर्यटकीय नगरी पोखारमा विमानस्थल निर्माणले पश्चिम क्षेत्रकै विकासको ढोका खुल्ने अपेक्षा गरिएको छ। जसका लागि सरकारले वृहत्तर पोखराको योजनासमेत अगाडि बढाएको छ। पोखरा विमानस्थल सञ्चालनमा आउनेवित्तिकै पोखरामा रहेका साहसिक पर्यटकका गतिविधिमा असर पर्ने भएपछि वृहत्तर पोखराको योजना अगाडि सारिएको छ।
जुन योजनाले माथिल्लो मुस्ताङसम्म पर्यटकलाई सहजै जान सक्ने गरी पूर्वाधार निर्माणमा जोड दिने सरकारी तयारी छ। पछिल्लो समय प्याराग्लाइडिङ पनि पोखराबाट म्याग्दी, पर्वत, स्याङजा क्षेत्रमा सार्न थालिएको छ। त्यस्तै पोखरादेखि मुस्ताङसम्मको सडक बाटो पनि विस्तार गरेर पोखरा क्षेत्रमा आउने पर्यटकको बसाई अवधीनै लम्याउने अभियान समेत सुरु गरिएको छ।
पोखरामा रात्रीकालीन उडान हुन थालेपछि पोखरामात्रै नभएर आसपास सबै क्षेत्रमा अर्थतन्त्र चलायमान हुने पर्यटन व्यवसायी बताउँछन्। पोखरा क्षेत्रको मात्रै नभएर देशकै अर्थतन्त्रमा यो विमानस्थलले सहयोग हुने अनुमान छ। पोखरामा स्वदेशी पर्यटकसँगै भारतीय पर्यटकको सबैभन्दा बढी आकर्षण रहेको छ। दिल्ली-पोखरा सिधा उडान हुन सकेमा पोखरा झनै आकर्षण हुने अनुमान गरिएको छ।
परिकल्पना गरेअनुसारको पर्यटक संख्या बढेको अवस्थामा यो विमानस्थल वार्षिक एक अर्ब रुपैयाँ खुद आम्दानी गर्न सक्ने अवस्थामा रहेको छ। २२-२३ अर्बको लागत ८-९ वर्षमा नै रिकभर हुने देखिन्छ। सुदूरपश्चिम र पश्चिमी जिल्लाहरूको लागि यो विमानस्थल गेट-वे पनि बन्न सक्ने छ।